Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

संसार चकित पार्ने विश्वका १० ठूला जलाशय जलविद्युत आयोजना, नेपालमा गफमात्र

ऊर्जा खबर श्रावण १५, २०७६   2520

अन्तर्राष्ट्रिय



काठमाडौं– नेपालमा ठूला जलाशय जलविद्युत आयोजना निर्माण गर्नेबारे भाषण गरियो । योजना बने । तर, कार्यान्वयन कहिल्यै भएन ।

ad

अहिलेसम्म पहिचान भएको देशकै ठूलो १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी निर्माण गर्ने दशकौंदेखि चर्कै बहस हुँदै आयो । यही आयोजना निर्माण गर्न सरकारी लगानीमा २ सय ५० इन्जिनियरलाई विषेश अध्ययन गर्न पनि पठायो ।

पढेर फर्केका अधिकांश ती इन्जिनियरहरू अहिले सरकारी सेवाबाट निवृत भइसके । यद्यपि, आयोजना निर्माणको चर्को बहस हुन छोडेको छैन । सरकारले भाषण गरिरहेकै छ । पूर्वऊर्जा मन्त्री जनार्दन शर्माले त कर्णाली चिसापानी सार्क क्षेत्रको नमूना आयोजना बनाउने गफ पनि गरे ।

कर्णाली चिसापानीबारे अहिले पनि केही भइरहेको सरकारको उद्घोष छ । झन्डै ५० वर्ष बित्न लाग्दासम्म आयोजना निर्माण हुने ठोस् संकेट देखिएको छैन । आयोजना भारतले चाहे वा उसको स्वार्थअनुकूल भएमात्र बन्छ भन्ने सरकार चलाउने हरेक राजनीतिक दललाई ज्ञात छ । तर, भारतसँग आफ्नो हात माथि हुने गरी कुरा गर्ने ल्याकत अहिलेसम्म कोही नेताको देखिँदैन ।

मुख्यतः कर्णाली चिसापानीको पानी उपयोग र बिजुली बजारिकरणमा सबै विषय केन्द्रित छ । पानीको अग्राधिकार खोज्नासाथ भारतले अस्विकार गरिहाल्छ । देशको भलो हुने गरी समन्यायिक ढंगले भारतसँग कुरा राख्ने कुटनीतिज्ञ नहुँदा पनि यो आयोजना निर्माण एक सपनामात्र हुँदै गएको छ ।

कर्णाली चिसापानीमात्र होइन ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर, १२ सय मेगावाटको बूढीगण्डकी, ७ सय ५० मेगावाटको पश्चिम सेती, ७ सय ६२ मेगावाटको तमोर, ८ सय २८ मेगावाटको उत्तरगंगा जस्ता आयोजनाहरू कागजमा थन्किएका छन् । यी आयोजना निर्माण योजना राम्रा बने तर कार्यान्वयन शून्य भयो ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको २ वर्ष बितिसक्दा समेत बूढीगण्डकी निर्माणको संकेत देखिएको छैन । सरकार कहिले चिनियाँ कम्पनीलाई दिने त कहिले आफैं निर्माण गर्ने कुत्सित खेलमा लागेको छ । सरकारकै अकर्मण्यताले देशमा ठूला आयोजना निर्माणको जग बस्नै सकेको छैन ।

नेपालले जलविद्युत उत्पादनको अथाह सम्भावनाको गफ गरिरहेको छ । तर, अरू विकसित र विकासशील देशले विश्व चकित पार्ने गरी ठूला आयोजना निर्माण गरेर देखाएका छन् । विश्वका दर्जनौं विकसित देश डुलेका नेता, मन्त्री र कर्मचारीतन्त्रले थोरैमात्र विकासको सिको गर्न सके ठूला आयोजना निर्माणको जग बस्न सक्थ्यो ।

विश्वका विभिन्न देशले ६ दशकअघि नै ठूला जलाशय आयोजना निर्माण गरेर विद्युत उत्पादन गरिरहेका छन् । जलाशय आयोजना निर्माणमा पछिल्लो समय चीन अग्रस्थानमा छ । चीनले याङ्जी नदीमा साढे २२ हजार मेगावाटको एउटै जलाशय आयोजना निर्माण गरेर विश्वलाई आश्चर्यमा पारेको छ । यहाँ विश्वका ११ ठूला जलाशय आयोजनाबारे जानकारी दिने प्रयास गरिएको छ ।

थ्री गोर्जेज (२२५०० मेगावाट), चीन

याङ्जी नदीमा निर्माण भएको २२ हजार ५ सय मेगावाटको ‘थ्री गोर्जेज’ विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै ठूलो जलाशय आयोजना हो । हुबेइ प्रान्तमा चाइना थ्री गोर्जेज कर्पोरेशनको सहायक याङ्जी पावर कम्पनीले आयोजना निर्माण गरेको हो ।

आयोजना सम्पन्न गर्न करिब ३१.७६ अर्ब अमेरिकी डलर खर्च भएको थियो । सन् १९९४ डिसेम्बर १४ देखि सुरु भई २०१२ (१९ वर्ष) मा आयोजना पूरा भएको थियो । आयोजनाका ६ वटा युनिट सन् २००३ मा सञ्चालनमा आएको थियो । आयोजना क्षेत्रबाट विस्थापित भएका झन्डे १२ लाख ४० हजार घरधुरीलाई नयाँ ठाउँमा सारिएको थियो ।

१ सय ८१ मिटर अग्लो जलाशयको बाँध निर्माण भएको आयोजनाको लम्बाई ३ हजार ३ सय ३५ मिटर छ । आयोजनाको विद्युतगृहमा ७ सय मेगावाटका ३२ टर्बाइन तथा जेनेरेटर जडान भएका छन् । ५० मेगावाटका २ पावर जेनेरेटर राखिएको छ ।

आयोजनाको विद्युतगृहका  उपकरण आयात तथा जडानमा ६ विदेशी समूह सहभागी भएका थिए । अलस्टोम कम्पनी एक्लैले विद्युतगृहमा १४ फ्रान्सिस टर्बाइन आयात तथा जडानको काम गरेको थियो । यहाँबाट उत्पादन भएको विद्युत चीनको ठूलो सहर सांघाइसहित ९ प्रान्तमा वितरण हुँदै आएको छ ।

इताइपु (१४००० ), ब्राजिल र पाराग्वे

१४ हजार मेगावाटको इताइपु विश्वको दोस्रो ठूलो जलाशय आयोजना हो । यो दक्षिण अमेरिकी देश ब्राजिल र पाराग्वेको सीमास्थित पाराना नदीमा निर्माण भएको छ । सन् १९७५ मा सुरु भई १९८२ मा आयोजना पूरा भएको थियो । निर्माण थालेको ७ वर्षमा सम्पन्न आयोजना बनाउन १९ अर्ब ६० करोड अमेरिकी डलर खर्च भएको थियो । आयोजनाले सन् १९८४ बाट विद्युत उत्पादन सुरु गरेको थियो ।

अमेरिकी र इटालियन कम्पनीले आयोजना निर्माण गरेका थिए । आयोजनामा ७ सय मेगावाट क्षमताका २० वटा युनिट जडान गरिएको छ । आयोजनाले उत्पादन गर्ने १७.३ प्रतिशत विद्युत ब्राजिल र ७२.५ प्रतिशत विद्युत खपत गर्दै आएका छन् । यो आयोजनाले जडित क्षमता बमोजिमको विद्युत उत्पादन गर्दै आएको छ ।

सिलुओदु (१३८६० मेगावाट), चीन

सिलुओदु थ्री गोर्जेजपछि चीनले निर्माण गरेको अर्को ठूलो आयोजना हो । १३ हजार ८ सय ६० मेगावाट आयोजना चीनको दोस्रो तथा विश्वको तेस्रो ठूलो आयोजना पनि हो । युनान प्रान्तको जिन्सा नदीमा निर्माण भएको यसको बाँधको उचाई २८५.५ मिटर छ ।

सन् २००५ देखि निर्माण सुरु भएको जलाशय आयोजनाको पहिलो युनिटबाट सन् २०१३ देखि विद्युत उत्पादन सुरु भएको थियो । सन् २०१४ भित्र सबै युनिट सञ्चालनमा आइसकेका थिए । आयोजनाको विद्युतगृहमा ७७० मेगावाट क्षमताका १८ युनिट जडान गरेर विद्युत उत्पादन हुँदै आएको छ ।

गुरी (१०२०० मेगावाट), भेनेजुयला

भेनेजुयलामा निर्माण भएको १० हजार २ सय मेगावाटको गुरी विश्वको चौथो ठूलो जलाशय आयोजना हो । यो आयोजना ‘सिमोन बोलिभार’ जलविद्युत आयोजनाको नामले पनि चिनिन्छ । यो आयोजना दक्षिण पूर्वी भेनेजुयलाको बोलिभार राज्यको कारोनी नदीमा निर्माण भएको छ । आयोजना सिभिजी इलेक्ट्रिफिकेसन डेल कारोनी कम्पनीले निर्माण गरेको हो ।

सन् १९६३ बाट निर्माण थालिएको आयोजना पहिलो र दोस्रो गरी २ चरणमा निर्माण गरिएको थियो । पहिलो फेजको निर्माण सन् १९७८ मा सम्पन्न भएको थियो । दोस्रो फेज सन् १९८६ मा सकिएको थियो । आयोजनाको विद्युतगृहमा २० वटा उत्पादन युनिट छन् । उत्पादन युनिटको क्षमता १ सय ३० मेगावाटदेखि ७ सय ७० मेगावाटसम्म छ । आयोजनाले वार्षिक १२ हजार ९ सय गिगावाट घन्टा विद्युत उत्पादन गर्छ ।

तुकुरुइ (८३७०), ब्राजिल

विश्वको पाँचौं ठूलो जलाशय आयोजना ब्राजिलमा निर्माण भएको छ । जलस्रोतको धनी देश ब्राजिलमा निर्माण भएको यो आयोजनाले ८ हजार ३ सय ७० मेगावाट विद्युत उत्पादन गर्छ । तल्लो (लोअर) टोकान्तिन्स नदीमा निर्माण भएको आयोजनाले सन् १९८४ देखि नियमित विद्युत उतपादन गर्दै आएको छ ।

आयोजना सम्पन्न गर्न ५.५ अर्ब अमेरिकी डलर खर्च भएको थियो । सन् १९७५ बाट सुरु भई १९८४ मा आयोजना सम्पन्न भएको थियो । ७८ मिटर उचाई र १२ हजार ५ सय मिटर लम्बाइको जलाशय निर्माण गरिएको छ । विद्युतगृहमा ३ सय ३० मेगावाटका १२ वटा उत्पादन युनिट छन् ।

आयोजनामा २५ मेगावाटका २ सहायक युनिट छन् । २ चरणमा आयोजनाको २ वटा विद्युतगृह निर्माण गरिएको छ । दोस्रो विद्युतगृह निर्माणको काम १९९८ बाट सुरु भई सन् २०१० मा सम्पन्न गरिएको थियो । दोस्रो विद्युतगृहमा ३७० मेगावाटका ११ वटा उत्पादन युनिट छन् । यहाँबाट उत्पादन हुने विद्युत ब्राजिलको बेलेम सहर र वरपरको क्षेत्रमा वितरण गरिन्छ ।

ग्राण्ड कोउली (६,८०९ मेगावाट) अमेरिका

६ हजार ८ सय ९ मेगावाटको ग्राण्ड कोउली विश्वको छैटौं ठूलो जलाशय जलविद्युत आयोजना हो । अमेरिकाको वासिङ्टन राज्यको कोलम्बिया नदीमा पहिचान भएको आयोजना सन् १९३३ देखि १९४२ को बीचमा निर्माण भएको हो । सुरुमा २ वटा विद्युतगृह रहेको आयोजनामा तेस्रो विद्युतगृह सन् १९७४ मा निर्माण गरिएको थियो । यो नै अमेरिकाको सबैभन्दा ठूलो जलाशय आयोजना हो । आयोजनाको बाँधलाई ‘फ्राङ्कलिन डलानो रुजेवेल्ट ताल’ नाम दिइएको छ ।

आयोजनाको बाँधको उचाई १६८ मिटर छ । लम्बाइ १ हजार ५ सय ९२ मिटर छ ।  आयोजनाको दुई वटा विद्युतगृहमा १ सय २५ मेगावाटका १८ वटा उत्पादन युनिट छन् । १८ वटा फ्रान्सिस टर्बाइन जडान भएका छन् । १० मेगावाटका ३ सहायक युनिट पनि राखिएको छ । यी युनिट सन् १९५० देखि चालु अवस्थामा छन् ।  तेस्रो विद्युतगृहमा ८ सय ५ मेगावाटका ३ वटा र ६ सय मेगावाटका ३ वटा गरी ६ वटा युनिट राखिएको छ ।

सियाङजिबा (६४४८ मेगावाट), चीन

जलविद्युत विकासमा विश्वलाई पछि पार्ने क्रममा चीनले सातौं ठूलो जलाशय जलविद्युत आयोजना निर्माण गरेको छ । युनान र सिचुआन प्रान्तमा संचरना रहने गरी ६ हजार ४ सय ४८ मेगावाटको सियाङजिबा आयोजना निर्माण गरिएको छ । यो चीनकै तेस्रो ठूलो जलाशय आयोजना हो ।

सन् २००६ मा निर्माण सुरु भई औपचारिकरूपमा २०१२ मा आयोजना सञ्चालनमा आएको थियो । आयोजनाको विद्युतगृहमा ८ वटा युनिट छन् । जडित युनिटमध्ये ४ वटाको प्रतियुनिट क्षमता ८ सय १२ मेगावाट र बाँकी ४ वटाको प्रतियुनिट ८ सय मेगावाट छ । यहाँबाट उत्पादन भएको अधिकांश विद्युत सांघाइ सहरमा खपत हुँदै आएको छ ।

सायानो शुशेन्स्काया (६४०० मेगावाट), रुस

रुसको येनिसेइ नदीमा बनेको छ, सायानो शुशेन्स्काया जलायश आयोजना । यसको जडित क्षमता ६ हजार ४ सय मेगावाट छ । जडित क्षमता अनुसार यो नै विश्वको आठौं ठूलो जलाशय आयोजना हो । रुस हाइड्रो कम्पनीले निर्माण गरेको आयोजना सन् १९६३ मा सुरु भई १९७८ मा पूरा भएको थियो ।

जलाशय बाँधको उचाई २ सय ४२ मिटर र लम्बाई १ हजार ६६ मिटर छ । आयोजनाको विद्युतगृहमा ६ सय ४० मेगावाटका १० वटा युनिट छन् । विद्युतगृहमा १० वटा फ्रान्सिस टर्वाइन जडान गरिएको छ । आयोजनाले उत्पादन गर्ने ७० प्रतिशत विद्युत साइबेरियाका ४ आल्मुनियम उद्योगले खपत गर्दै आएका छन् ।

सन् २००९ मा आयोजनामा जडित १० मध्ये ९ वटा टर्बाइनमा समस्या आउँदा उत्पादन बन्द भएको थियो । १० वटै  नयाँ युनिट जडान गरेर कूल जडित क्षमताको ९६.६ प्रतिशत विद्युत उत्पादन गर्ने गरी विद्युतगृहको स्तरोन्नति गरिएको छ । स्तरोन्नति गर्न मात्रै १.४ अर्ब अमेरिकी डलर खर्च भएको थियो ।

लोङ्तान (६३०० मेगावाट), चीन

चीनको होङ्सुइ नदीमा ६ हजार ३ सय मेगावाटको नवौं ठूलो लोङ्तान जलाशय आयोजना निर्माण भएको छ । विद्युतगृहमा ७ सय मेगावाटका ९ वटा युनिट छन् । जलाशयको उचाई २ सय १६ मिटर र लम्बाई ८ सय ३२ मिटर छ । लोङतान हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आयोजनाले निर्माणपछि सञ्चालन गर्दै आएको छ । सिनो हाइड्रोले आयोजनाको संरचना निर्माण गरेको हो । सन् २००७ मा निर्माण सुरु भई २००९ बाट पूर्ण क्षमतामा सञ्चालनमा आएको थियो ।

क्रास्नोयास्र्क (६००० मेगावाट), रुस

रुसले निर्माण गरेको ६ हजार मेगावाटको क्रास्नोयास्र्क विश्वको दशौं ठूलो जलाशय आयोजनामा सूचीकृत छ । यनिसेइ नदीमा निर्माण भएको आयोजना जेएससी क्रास्नोयास्र्क कम्पनीले निर्माण गरेर सञ्चालन गरिरहेको छ । सन् १०५६ मा सुरु भएको आयोजना १९७२ मा सम्पन्न भएको थियो । आयोजनाको जलाशय १२४ मिटर उचाई र लम्बाई १ हजार ६५ मिटर बनेको छ । आयोजनाको विद्युतगृहमा ५ सय मेगावाटका १२ युनिट राखेर विद्युत उत्पादन हुँदै आएको छ  ।

रोबर्ट बोउरास्सा (५६१६ मेगावाट), क्यानेडा

५ हजार ६ सय १६ मेगावाटको रोबर्ट बोउरास्सा क्यानेडाले निर्माण गरेको ठूलो जलाशय  आयोजना हो । क्युबेक प्रान्तमा हाइड्रो क्युबेकले निर्माण गरेको आयोजना विश्वको एघारौं ठूलो हो । यो क्यानडाले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना पनि हो ।

सन् १९७४ मा निर्माण सुरु भई १९७९ देखि १९८१ को बीचमा आयोजनाका सबै युनिट सञ्चालनमा आएका थिए । क्यानडाले यो जलाशय आयोजना निर्माण सम्पन्न गर्न ३.८ अर्ब अमेरिकी डलर खर्च गरेको थियो ।

१६२ मिटर अग्लो बाँध र १ हजार ८ सय ३५ मिटर लामो जलाशय निर्माण गरिएको छ । आयोजनामा दुई वटा विद्युतगृह छन् । विद्युतगृहमा ३ सय ५१ मेगावाटका १६ वटा युनिट छन् । आयोजनाबाट वार्षिक २६ हजार ५ सय गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । क्युबेक प्रान्तको जडित जलविद्युत क्षमताको २० प्रतिशत विद्युत यही विद्युतगृहबाट उत्पादन हुँदै आएको छ ।

एजेन्सीहरूको सहयोगमा धना ढकालले गरेको अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="