विद्युत आपूर्ति : प्राधिकरण : ९४६७ मे.वा.घन्टा / निजी क्षेत्र : १८६८६ मे.वा.घन्टा / आयात : १३३४ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९४८७ मे.वा.घन्टा/ उच्च माग : १४२८ मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

सौर्य ऊर्जा उत्पादनमा नेपाली निर्माण कम्पनीप्रति विश्वासको आवश्यकता

२०७८ असार ३०

नेपालको भौगोलिक एवं वातावरणीय अवस्था सौर्य ऊर्जा उत्पादन गर्न अनुकल मानिन्छ । सौर्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना भए पनि केही वर्ष अघिसम्म यसको विकासका लागि कुनै प्रयास हुन सकेको थिएन । बढ्दो ऊर्जा संकटका बीच सरकारले मिश्रित ऊर्जा उत्पादनको अवधारणा ल्यायो ।

सरकारको मिश्रित ऊर्जा उत्पादनको अवधारणा आएसँगै निजी क्षेत्रले सौर्य विद्युत आयोजनाको अनुमतिपत्र लिई यस क्षेत्रमा लगानी सुरु गर्यो । यसैको परिणाम स्वरूप निजी क्षेत्रले व्यापारिक उत्पादन गर्ने उद्देश्यले लगानी गरेका सौर्य विद्युत आयोजना एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सुरु भइसकेका छन् ।

विद्युत विकास विभागबाट अनुमतिपत्र लिई निजी क्षेत्रबाट निर्माण भएका साढे २२ मेगावाटका ३ सौर्य विद्युत आयोजना सम्पन्न भई चालू आर्थिक वर्षमा मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् । छोटो समय र जलविद्युत भन्दा कम लागतमा निर्माण भएका सौर्य विद्युत आयोजनाले थोरै भए पनि आयातित विद्युत प्रतिस्थापन गर्न योगदान गरिरहेका छन् । 

व्यापारिक उद्देश्यले सौर्य विद्युत उत्पादनको प्रविधि नेपालमा भित्रिएको धेरै भएको छैन । अहिले पनि यो प्रविधि नेपालका लागि नयाँ नै हो । दुर्गम गाउँमा घरायसी प्रयोजनका लागि घरेलु सौर्य ऊर्जा प्रविधि जडान हुँदै आएको भए पनि व्यापारिक उत्पादनको उद्देश्यले भर्खरै मात्र सौर्य विद्युत आयोजनामा लगानी हुन थालेको देखिन्छ ।

सौर्य ऊर्जा प्रविधि नयाँ भएकै कारण आयोजना निर्माणमा थुप्रै चुनौतीहरू देखिएका छन् । निर्माणमा गइसकेका धेरै सौर्य विद्युत आयोजना लामो समय बितिसक्दा पनि सम्पन्न भई सञ्चालनमा आउन सकेका छैनन् । यसको पछाडिको कारण निर्माण ठेक्का पाएका विदेशी ठेकेदार कम्पनीको असक्षमता पनि देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाटको सौर्य विद्युत आयोजना, निजी क्षेत्रले अघि बढाएको ५ मेगावाटको बेलचौतारा र ४.४ मेगावाटको नेपाल सोलार फार्म, र ५ मेगावाटको नेशलन सौर्य विद्युत आयोजनालाई यसको उदाहरणकारूपमा देख्न सकिन्छ । 
यी सौर्य विद्युत आयोजना अहिलेसम्ममा सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जडान भइसक्नु पर्ने हो । तर, विदेशी ठेकेदार कम्पनीको असक्षमताका कारण निर्माण थालेको २ देखि ३ वर्षको अवधि बितिसक्दा पनि यी आयोजनाहरू अहिलेसम्म प्रणालीमा आउन सकेका छैनन् ।

बेलचौतारा विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने पहिलो सौर्य विद्युत आयोजना हो । ठेकेदारकै असक्षमताले आजसम्म यो आयोजनाबाट विद्युत उत्पादन सुरु हुन सकेको छैन । यो भन्दापछि पिपिए भएका सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । बेलचौताराबाट आगामी भदौदेखि विद्युत उत्पादन सुरु गर्ने भनिएको छ । तर, यो अवधिमा पनि भारतीय ठेकेदारले काम सम्पन्न गर्छ भन्ने कुनै ठोस आधार छैन ।

बेलचौतारामा निशांत गोयलको स्वामित्वमा रहेको रेनरगो डेभलपर्स प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले ठेक्का लिएर काम गरिरहेको छ । इपिसी मोडलमा ठेक्का दिइएको यो आयोजना भारतीय कम्पनीले अहिलेसम्म सम्पन्न गर्न सकेको छैन । उसको कामको प्रकृति हेर्दा आयोजना स्थलमा आवश्यक जनशक्ति परिचालन तथा उपकरणको समयमै आपूर्ति गर्न नसकेकाले नै यति लामो समयसम्म पनि सम्पन्न हुन नसकेको देखिन्छ ।

माथि उल्लेख गरिएका अन्य आयोजनाको अवस्था पनि बेलचौतारासँग मिल्दो जुल्दो नै देखिन्छ । समयमै निर्माण पूरा हुन नसक्दा सौर्य विद्युत आयोजनाका सम्बन्धमा बेला–बेलामा सञ्चार माध्यमहरूमा आउने नकारात्मक खबरहरूले सौर्य विद्युत आयोजनाको प्रभावकारिता र यसको विकासमा आशंका पैदा हुने गरेको छ ।

अर्कोतर्फ नेपाली कम्पनीले तोकिएको समय तालिका र लागतभित्र रही सौर्य विद्युत आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको ज्वलन्त उदाहरण पनि हाम्रा सामु छ । चालू आर्थिक वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको  धनुषास्थित १० मेगावाटको मिथिला सौर्य विद्युत आयोजना नेपालकै कुशल प्रोजेक्ट नेपाल प्रालिले निर्माण सम्पन्न गरेको हो ।

मिथिला सौर्य विद्युत आयोजना २०७७ साल फागुनमा प्रसारण प्रणालीमा जोडिएको हो । जबकी यो सौर्य विद्युत आयोजनाको पिपिए बेलचौताराभन्दा पछि भएको थियो । नेपाली कम्पनीले कोरोना (कोभिड–१९) महामारीकाे संकटपूर्ण अवस्थाका बीच पनि निर्माण जारी राखी ७ महिना अवधिमा यो सौर्य विद्युत आयोजना सम्पन्न गर्न सफल भएको थियो । कुशल प्रोजेक्ट नेपाल प्रालिले यो सौर्य विद्युत आयोजनाको डिजाईन, आपुर्ति, निर्माण तथा सञ्चालन कार्य इपिसि मोडलमा सम्पन्न गरेको हो ।

आयोजना निर्माण गर्न डिजाइन र प्राविधिक कार्यका लागि मात्रै बाहिरबाट विज्ञ बोलाइएको थियो । दक्ष प्रशिक्षकबाट नेपाली कामदारलाई प्रशिक्षण दिएर काम गरिएको थियो । प्रशिक्षण दिएर काममा लगाइएकाले देशभित्र नै सौर्य विद्युत आयोजना निर्माण गर्न सक्ने दक्ष जनशक्ति तयार भएको छ ।

कुशल प्रोजेक्ट नेपाल प्रालिले नै निर्माण गरेको ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना पनि प्रसारण प्रणालीमा जोडिएको छ । यो सौर्य विद्युत आयोजना पनि कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको उच्च जोखिमका बेला नै निर्माण सम्पन्न भई प्रणालीमा जोडिएको छ । 

यो सौर्य विद्युत आयोजनाको सफल निर्माणले नेपाली कम्पनीको दक्षता र क्षमतामा थप विकास भएको छ । विदेशी कम्पनीले काम गरिरहेका सौर्य विद्युत आयोजनाको तुलनामा स्वदेशी कम्पनीले समयमै निर्माण सम्पन्न गरी विद्युत उत्पादनको चरणसम्म पुर्याउनुलाई देशकै सफलता मान्न सकिन्छ ।

कुशल प्रोजेक्ट नेपाल प्रालिका अतिरिक्त अहिले घाम पावर नेपाल, सूर्य पावर, सुर्योदय ऊर्जालगायत नेपाली कम्पनीले पनि राम्रो काम गरिरहेका छन् । सौर्य विद्युत आयोजनाको काम गर्न सक्ने दक्ष निर्माण कम्पनीहरू देशमै छन् । राम्रो काम गरिरहेका छन् । तर, पनि विदेशी कम्पनीलाई ठेक्का दिने प्रचलन रोकिएको छैन । यो प्रचलनले स्वदेशी कम्पनीलाई सधैं उपेक्षा गरिरहेको भान हुन्छ ।

विदेशी कम्पनीको मुख ताक्दा आज निर्माणमा रहेका धेरै सौर्य विद्युत आयोजनाको समय र लागत बढेको छ । तर, नेपाली कम्पनीले निर्माण गरेका सौर्य विद्युत आयोजना समयमै सम्पन्न भई सञ्चालनमा आई विद्युत बिक्रीबाट आम्दानी गर्न थालिसकेको कुरा हामीले बिर्सनु हुँदैन । यसकारण नेपाली कम्पनीले सौर्य विद्युत उत्पादनको क्षेत्रमा देखाएको सक्रियता र योग्यतालाई उपेक्षा गर्नुको सट्टा प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

नेपानी कम्पनीप्रति विश्वास र भरोसा गर्न आवश्यक छ । अनि मात्रै हामी देशभित्र दक्ष जनशक्ति तयार गरी निर्धारित समय र लागतका सौर्य विद्युत आयोजनाको सफल निर्माण गर्न सक्षम हुनेछौं । र, विदेशी कम्पनीले लैजाने करोडौं रुपैयाँ देशभित्रै रहनेछ । साथै, सौर्य ऊर्जा उत्पादन बढ्दै जाँदा सरकारको मिश्रित ऊर्जा उत्पादनको अवधारणा पनि सफल बन्नेछ ।

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit