विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर समस्याबारे विस्तृत जानकारी लिएको छ ।

प्रधानमन्त्री कार्यालयले विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही हुने चेतावनीसमेत दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउनसमेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतले प्राधिकरण नेतृत्वलाई ट्रिपिङको समस्या छिटोभन्दा छिटो हटाउन तत्कालै आवश्यक पहल गर्न निर्देशन दिएका थिए ।

पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले प्राविधिक वा मनोवैज्ञानिक रूपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउनुपर्ने बताए । यस्तै प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले पनि नागरिकको हितलाई केन्द्रबिन्दुमा राखेर विद्युत् आपूर्तिको समस्या समाधान नभए आवश्यक कारबाही हुने बताए ।

प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवं पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको दाबी गरे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रूपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई अनुभूति गर्न सकेका छैनन् । उपभोक्ताले विद्युत् गइरहने चर्को समस्या भोग्नुपरिरहेको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौं उपत्यकाका १० वितरण केन्द्रका प्रमुखको उपस्थिति थियो । मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणका पदाधिकारीको भनाइ छ ।

प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रूपमा अगाडि बढाएको छ । ती काम पूर्ण रूपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

सर्ट डाउनको अवस्था
प्राधिकरणको तथ्यांकअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा गत मंसिरमा ३७ पटक बत्ती जाने आउने (ट्रिपिङ) भएको थियो । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मं्िसरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो । गत वर्ष योभन्दा बढी समस्या भए पनि अहिले समस्यालाई बढी उचालिएको प्राधिकरणको दाबी छ ।

सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मंसिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषित रूपमा कटौती नगरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले बताए । उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा खम्बा तथा ट्रान्सफर्मर सार्नुपर्नेलगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भए पनि त्यसलाई कम गरिएको जानकारी दिए ।

प्राधिकरणको तथ्यांक र दावीअनुसार गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको छ । विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिने कामु कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

नियतवश बदमासी गरेको भए कारबाही हुने
प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले नियतवश बदमासी गरेको भए प्राधिकरणका कर्मचारीलाई कारबाही हुने बताए । उनले प्राधिकरणको नेतृत्व यस विषयमा संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याए । उनले नागरिकका तहबाट गुनासो नआउने गरी काम गर्न प्राधिकरणका कामु कार्यकारी निर्देशक एवं वितरण केन्द्रका प्रमुखलाई अनुरोध गरे ।

प्रधानमन्त्रीका तहबाट गर्नुपर्ने सबै काम र सहयोग हुने आश्वासन दिँदै उनले भने, ‘नागरिकले सहज रूपमा सेवा पाउनुप¥यो, त्यसका लागि केकस्ता उपाय अपनाउने भन्नेबारेमा व्यक्तिगत रूपमा वा संस्थागत रूपमा पनि भन्न सक्नुहुन्छ ।’

प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले उपभोक्तालाई गुनासोरहित सेवा प्रदान गर्न अपनाउनुपर्ने सबै उपायको खोजी गर्न प्राधिकरणलाई निर्देशन दिए । उनले प्राविधिक समस्या भए त्यसको निराकरणका लागि तत्काल लागिपर्न र नीतिगत तथा कानुनी प्रश्न भए त्यसको निरूपणमा आफूहरूले सहजीकरण गर्ने बताए ।

ऊर्जा सचिव घिमिरेले उपभोक्ताको गुनासोलाई मार्गदर्शन मान्दै समस्या समाधानमा निरन्तर परिचालित हुन प्राधिकरणलाई निर्देशन दिए । उपभोक्ताबाट आउने गुनासो सम्बोधन गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुने उनले स्पष्ट पारे ।

राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit