विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ९, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

१. परिचय

दक्षिण एसियामा द्रुत गतिमा ऊर्जा विकास गरिरहेको नेपाल र दक्षिण-पश्चिम अफ्रिकामा क्षेत्रीय ऊर्जा व्यापारमा जोडिएको नामिबिया दुवै आफ्नो राष्ट्रिय विद्युत्‌ बजारलाई पारदर्शी, सबल र वित्तीयरूपमा सुरक्षित बनाउने साझा नीतिगत मोडमा उभिएका छन् । प्रचुर सम्भाव्यता सहित नेपाल वर्षामा जलविद्युत्‌ निर्यातकर्ताको रूपमा स्थापित भइरहेको छ । नामिबियाले सौर्य तथा वायु ऊर्जाको प्रचुरता र दक्षिणी अफ्रिकी विद्युत्‌ पुलको क्षेत्रीय सञ्जालभित्र व्यापार गरिरहेको छ ।

नेपाल र नामिबियाको विद्युत् क्षेत्र तुलना गर्दा दुवैको भौगोलिक, प्रणालीगत र बजार संरचनामा उल्लेखनीय समानता तथा भिन्नता देखिन्छ  । भौगोलिक अवस्थिति र क्षेत्रफलका दृष्टिले नेपाल दक्षिण एसियाको हिमाली भू–परिवेष्ठित देश हो, जसको सीमा भारत र चीनसँग जोडिएको छ । नामिबिया दक्षिण–पश्चिम अफ्रिकाको तटीय देश र दक्षिण अफ्रिका, एङ्गोला तथा जाम्बियासँग जोडिएको छ ।

क्षेत्रीय ग्रिड अन्तरसम्बन्धका दृष्टिले, नेपाल बिबिआइएन/भारतको विद्युत् ग्रिडसँग आबद्ध हुँदै गएको छ, जसमा ४०० केभी ढल्केबर–मुजफ्फरपुर र नयाँ बुटवल–गोरखपुरजस्ता प्रमुख अन्तरदेशीय प्रसारण संरचना छन् । यसैगरी, नामिबिया दक्षिण अफ्रिकी पावर पुल (एसएपिपी) तथा दक्षिण अफ्रिकी क्षेत्रीय ग्रिडसँग जोडिएको छ, जसमा ४०० केभी एसी प्रणाली र ३५० केभी हाइ-भोल्टेज डिसी क्याप्रिभी लिंक (HVDC Caprivi Link) प्रमुख अन्तरसम्बन्धका रूपमा छन् ।

कूल जडित विद्युत् क्षमताका आधारमा नेपालमा सन् २०२५/२६ सम्म करिब ४,१२० मेगावाट छ, जसमा करिब ९४.२% जलविद्युत्, ४.५% सौर्य र १.३% थर्मल स्रोतको योगदान छ । यसको विपरीत नामिबियाको स्वदेशी जडित क्षमता करिब ६५० मेगावाट छ, जसमा लगभग ४८% जलविद्युत्, २८% सौर्य, १२% वायु र १२% थर्मल स्रोत छन् । विद्युतीकरण तथा ग्रिड पहुँचका हिसाबले नेपालको राष्ट्रिय ग्रिड पहुँच करिब ९७.६% पुगेको छ र वैकल्पिक प्रणाली समेत समेट्दा लगभग सार्वभौमिक अवस्थामा पुगेको देखिन्छ । नामिबियामा भने राष्ट्रिय औसत विद्युत् पहुँच करिब ५६% छ, जसमा शहरी क्षेत्रमा करिब ७५% र ग्रामीण क्षेत्रमा करिब ३५% पहुँच छ ।

विद्युत् महसुल र लागत संरचनामा पनि उल्लेखनीय अन्तर देखिन्छ । नेपालमा औसत खुद्रा विद्युत् महसुल करिब ६.८१ अमेरिकी सेन्ट/किलोवाट घण्टा (रु. ९.०९/ किलोवाट घण्टा) रहेकोमा नामिबियामा करिब १२.१६ अमेरिकी सेन्ट/किलोवाट घण्टा (N$ २.२५/ अमेरिकी सेन्ट/किलोवाट घण्टा) छ । नेपालको तुलनामा करिब ७८.६% महँगो देखिन्छ ।

त्यस्तै, औसत थोक विद्युत् खरिद लागत नेपालमा करिब ४.५५ अमेरिकी सेन्ट/किलोवाट घण्टा (रु. ६.०७/किलोवाट घण्टा) छ । नामिबियामा करिब १०.२७ अमेरिकी सेन्ट/किलोवाट घण्टा (N$ १.९०/किलोवाट घण्टा) देखिन्छ । नामिबियाको 'मोडिफाइड सिंगल बायर (एमएसबी)' संरचना अन्तर्गत पिपिए मूल्य करिब ६.४९–७.८४ अमेरिकी सेन्ट/किलोवाट घण्टाको दायरामा छन् ।

सबैभन्दा महत्वपूर्ण अन्तर भने बजार संरचना र खरिदकर्ताको जोखिम व्यवस्थापनमा देखिन्छ । नेपाल हाल मूलतः 'सिंगल बायर मोडेल'मा आधारित छ, जहाँ नेपाल विद्युत् प्राधिकरण प्रमुख तथा लगभग शतप्रतिशत एकल खरिदकर्ताको भूमिकामा छ । यसले ठूलो परिमाणमा दीर्घकालीन पिपिए दायित्व वहन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ, जसमा करिब १२,१३५ मेगावाट बराबरको पिपिए जोखिम जोडिएको छ । यसको विपरीत नामिबियाले एमएसबी मोडेल अपनाउँदै परम्परागत एकल खरिदकर्ता संरचनालाई क्रमशः प्रतिस्पर्धात्मक बनाएको छ ।

एमएसबी संरचनामा करिब ३०% बजार खुल्ला गरिएको छ । उत्पादन तथा विद्युत् खरिदसँग सम्बन्धित जोखिम निजी क्षेत्र तथा अन्य बजार सहभागीसँग बाँड्ने व्यवस्था छ । यसरी नामिबियाको अनुभवले नेपालका लागि एकैपटक पूर्ण बजार उदारीकरणभन्दा क्रमिकरूपमा प्रतिस्पर्धा विस्तार गर्ने, एकल खरिदकर्ताको जोखिम घटाउने र निजी क्षेत्रलाई बजारमा प्रवेश गराउने सुधारात्मक मार्ग सम्बन्धी महत्त्वपूर्ण नीतिगत मार्ग प्रदान गर्न सक्छ ।

उल्लिखित तुलनात्मक विवरणबाट नेपालमा विद्युत्‌ उत्पादनको विकास उच्च रहे पनि सम्पूर्ण वित्तीय र खरिद दायित्व विद्युत्‌ प्राधिकरणमाथि केन्द्रित छ  । अर्कोतर्फ, नामिबियाले आफ्नो उच्च उत्पादन र आयात लागत सन्तुलनमा राख्न र सरकारी सेवा प्रदायक 'नाम पावर'को वासलातलाई जोखिममा नपारी निजी क्षेत्रको लगानी आकर्षित गर्न सन् २०१९ मा एमएसबी बजार ढाँचा अघि सारेको थियो  । 

२. नामिबियाको विद्युत्‌ क्षेत्र

२.१ परम्परागत एकल क्रेता ढाँचा

सन् २०१९ अघि नामिबियाको विद्युत्‌ क्षेत्र परम्परागत एकल क्रेता ढाँचामा आधारित थियो । यस व्यवस्था अन्तर्गत सरकारी स्वामित्वको संस्था 'नाम पावर'ले राष्ट्रिय प्रसारण सञ्जाल सञ्चालन गर्नुका साथै निजी विद्युत्‌ उत्पादकबाट खरिद गर्ने एकमात्र आधिकारिक संस्था (सोल अफ-टेकर) को रूपमा कार्य गर्दथ्यो । उक्त ढाँचाका प्रमुख विशेषता र संस्थागत चुनौती निम्नानुसार थिए:

•    उच्च आयात निर्भरता: नामिबियाले आफ्नो कूल वार्षिक विद्युत्‌ मागको ५०% देखि ६०% सम्म छिमेकी मुलुक दक्षिण अफ्रिका (एस्कम) र साप्प 'एसएपिपी'बाट आयात गर्दथ्यो । यसले गर्दा अन्तर्राष्ट्रिय इन्धनको मूल्य वृद्धि र छिमेकी देशको आन्तरिक सङ्‌कटको सीधा प्रभाव नामिबियाको अर्थतन्त्रमा पर्दथ्यो ।

•    सार्वजनिक वासलातको सीमा: 'नाम पावर' ले सबैसँग टेक-अर-पे पिपिए गर्दा संस्थाको वित्तीय जोखिम अधिक बढेको थियो । नयाँ नवीकरणीय ऊर्जा (सौर्य र वायु) आयोजनाका लागि सरकारले सार्वभौम वित्तीय ग्यारेन्टी दिनुपर्ने बाध्यता थियो, जसले गर्दा सरकारी ऋणको दायरा बढाएको थियो ।

•    उच्च उपभोक्ता महशुल दर: थोक विद्युत्‌ खरिद लागत उच्च (१०.२७ अमेरिकी सेन्ट/किलोवाट घण्टा) रहँदा अन्तिम खुद्रा उपभोक्ता महसुल १२.१६ अमेरिकी सेन्ट/किलोवाट घण्ट  पुगेको थियो, जसले औद्योगिक विकास र खानी क्षेत्रको प्रतिस्पर्धात्मकतामा प्रतिकूल असर पारेको थियो ।

२.२ रूपान्तरित एकल क्रेता बजार मोडेल

नामिबियाको नियमनकारी निकाय 'इलेक्ट्रिसिटी कन्ट्रोल बोर्ड (इसिबी)' ले सन् २०१९ मा बजारलाई उदारीकरण गर्न 'एमएसबी' मोडेल लागु गर्‍यो । यसको सबैभन्दा ठूलो सबल पक्ष 'नाम पावर'लाई संस्थागतरूपमा खण्डिकरण नगरी प्रतिस्पर्धात्मक बजार वातावरण भित्र्याउनु थियो । एमएसबी मोडेलका आधारभूत स्तम्भहरू निम्नानुसार देखिन्छ:

•    प्रतियोगी ग्राहकको अवधारणा: नामिबियाका ठूला औद्योगिक ग्राहकहरू, खानी उद्योगहरू र क्षेत्रीय विद्युत्‌ वितरकलाई 'प्रतियोगी ग्राहक' को दर्जा दिइयो । यस्तालाई आफ्नो कूल वार्षिक ऊर्जा खपतको ३०% सम्म विद्युत्‌ सोझै निजी क्षेत्रबाट द्विपक्षीय सम्झौता (बाइल्याटरल पिपिए) मार्फत खरिद गर्ने कानुनी अधिकार प्रदान गरियो ।

•    प्रसारण र वितरण खुल्ला  पहुँच: 'नाम पावर'को राष्ट्रिय प्रसारण ग्रिड र क्षेत्रीय वितरकहरूको वितरण सञ्जाल प्रयोग गरेबापत पारदर्शी र नियमन गरिएका 'ट्रन्समिसन युज अफ सिस्टम (टियुओएस)' तथा 'वितरण ह्विलिङ शुल्क' तोकियो । निजी उत्पादकहरूले तोकिएको शुल्क बुझाएर आफ्नो बिजुली ग्राहकसम्म पुर्‍याउन पाए ।

•    एसएपिपी बजारमा प्रत्यक्ष निर्यात: नामिबियाभित्र स्थापित निजी क्षेत्रलाई 'नाम पावर'को ग्रिड प्रयोग गरी एसएपिपीको क्षेत्रीय प्रतिस्पर्धात्मक बजारमा सोझै विद्युत्‌ बिक्री गर्न खुल्ला पहुँच दिइयो । यसबाट निजी क्षेत्र 'नाम पावर'को पिपिएमा मात्र निर्भर हुनुपर्ने बाध्यता अन्त्य भयो ।

•    'नाम पावर'को परिमार्जित भूमिका: 'नाम पावर'ले राष्ट्रिय प्रसारण प्रणाली सञ्चालक (टिएसओ) र साना तथा गार्हस्थ्य ग्राहकका लागि 'बायर अफ लास्ट रिसोर्ट'को रूपमा आफ्नो उपस्थिति कायम राख्यो तर ठूला ग्राहकको खरिद दायित्वबाट राहत प्राप्त गर्‍यो ।

२.३ एमएसबी मोडेल कार्यान्वयनको प्रभाव

एमएसबी मोडेल लागु भएपश्चात् नामिबियाको विद्युत्‌ बजारमा उल्लेखनीय सकारात्मक वित्तीय र परिमाणात्मक सुधारहरू देखा परे:

•    निजी लगानी अभिवृद्धि: सरकारले सार्वभौम ग्यारेन्टी नदिइकनै १५० मेगावाटभन्दा बढी क्षमताका नयाँ व्यावसायिक सौर्य र वायु ऊर्जा आयोजना निजी क्षेत्रमार्फत निर्माण भई सञ्चालनमा आए ।

•    थोक खरिद लागतमा कमी: 'नाम पावर'को औसत थोक खरिद दर १०.२७ अमेरिकी सेन्ट/प्रतिकिलोवाट घण्टा रहेकोमा एमएसबी अन्तर्गत निजी क्षेत्र र प्रतिस्पर्धी ग्राहकबीचका सोझै द्विपक्षीय पिपिए ६.४९ देखि ७.८४ अमेरिकी सेन्ट/प्रतिकिलोवाट घण्टामा सम्पन्न भए । यसले थोक विद्युत्‌ लागतमा करिब २५% देखि ३५% सम्मको बचत देखियो ।

•    आयात निर्भरतामा कमी: नामिबियाले आन्तरिक सौर्य उत्पादन बढाएर 'एसएपिपी'बाट हुने महँगो आयात उल्लेख्यरूपमा घटायो, जसले देशको वैदेशिक मुद्रा सञ्चिति जोगाउन मद्दत पुर्‍यायो ।

•    जोखिम विविधीकरण: खरिदकर्ताको वित्तीय जोखिम 'नाम पावर'को वासलातबाट हटेर बहु-सङ्ख्यक निजी औद्योगिक ग्राहकमा बाँडियो, जसले विद्युत्‌ क्षेत्रको समग्र वित्तीय स्वास्थ्यमा सुधार ल्यायो ।

३. नेपालको विद्यमान अवस्था 

आर्थिक वर्ष २०८२/८३ को विद्युत्‌ प्राधिकरणको लेखापरीक्षण तथा वार्षिक तथ्याङ्‌क अनुसार नेपालको विद्युत्‌ क्षेत्रले उत्पादन र निर्यातमा अभूतपूर्व प्रगति हासिल गरेको छ । कूल जडित क्षमता ४,१२० मेगावाट पुगेको छ भने राष्ट्रिय ग्रिडको पहुँच ९७.६% जनसङ्ख्यामा पुगेको छ । नेपालले भारत र बङ्गलादेशतर्फ ३,९६५ गिगावाट घण्टा ऊर्जा निर्यात गरी रु. २९.३१ अर्ब खुद आम्दानी प्राप्त गरेको छ । तथापि, बजार संरचनाका दृष्टिले नेपाल अझै कठोर 'एकल क्रेता ढाँचा'मा सञ्चालित छ ।

३.१ एकल क्रेता ढाँचाका प्रमुख संस्थागत सीमा

•    टेक अर पे पिपिएको अत्यधिक वित्तीय भार: प्राधिकरणले हालसम्म ५४५ आयोजनासँग १२,१३५ मेगावाट क्षमताको टेक-अर-पे आधारमा पिपिए गरिसकेको छ । यस अतिरिक्त करिब २७७ आयोजनाका १६,३४४ मेगावाटका पिपिए आवेदन प्रक्रियामा छन् । उत्पादन बढेको तर आन्तरिक औद्योगिक खपत सोही अनुपातमा नबढेको अवस्थामा वर्षामा उब्रेको बिजुलीको सम्पूर्ण वित्तीय जोखिम प्राधिकरण एक्लैले व्यहोर्नु परेको छ ।

•    औद्योगिक ग्राहकका लागि खुल्ला  पहुँचको अभाव: नेपालका ठूला स्टिल, सिमेन्ट र उत्पादनमूलक उद्योगले प्रतियुनिट रु. ८.६० देखि ११.२० (६.४४-८.३९ अमेरिकी सेन्ट/प्रतिकिलोवाट घण्टा) सम्म तिर्नु परेको छ । उद्योगलाई निजी क्षेत्रसँग सोझै सस्तो बिजुली खरिद गर्ने खुल्ला पहुँच नहुँदा औद्योगिक लागत महँगो हुन गएको छ ।

•    नियमन आयोगको कार्यान्वयन क्षमता र ह्विलिङ शुल्क: विद्युत्‌ नियमन आयोगले प्रसारण तथा वितरण ह्विलिङ महसुल कार्यविधि तयार गरे पनि यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा निजी क्षेत्रले उत्पादित बिजुली आफैँ ग्राहकसम्म पुर्‍याउन पाएका छैनन् ।

•    निजी व्यापार अनुमतिपत्रको अनिर्णय: विभिन्न  निजी विद्युत्‌ व्यापार कम्पनीलाई आन्तरिक तथा सीमापार व्यापारका लागि अनुमतिपत्रको व्यवस्था नहुँदा प्राधिकरण नै निर्यातको एक मात्र सञ्चालक बनेको छ ।

४. नीतिगत खाका

तत्काल संरचनात्मक खण्डीकारण नगरी सुदृढीकरण गरेर विद्युत्‌ बजारमा सेवा प्रदायकबीच प्रतिस्पर्धा भित्र्याउन सकिन्छ भन्ने नामिबियाको एमएसबी मोडेलको सबैभन्दा ठूलो नीतिगत पाठ हो । नेपालको सन्दर्भमा प्राधिकरणको संस्थागत साख, वित्तीय सबलता र एकीकृत सञ्चालन क्षमता जोगाउँदै आन्तरिक कार्यगत विभाजन गरी ५-चरणीय रूपान्तरित बजार ढाँचा लागु गर्न सकिन्छ । यसको विस्तृत संरचनात्मक खाका तल प्रस्तुत गरिएको छ:

चरण १: नियमनकारी आधार र खुल्ला  पहुँच

आयोगले प्रसारण लाइन प्रयोग गरेबापत स्वीकृत गरेको पारदर्शी 'प्रसारण खुल्ला पहुँच ह्विलिङ महसुल कार्यान्वयनमा ल्याउने  । यस्तै, १ मेगावाटभन्दा बढी स्वीकृत माग भएका स्टिल, सिमेन्ट, होटेल तथा इभी चार्जिङ हबलाई 'प्रतियोगी ग्राहकको दर्जा दिन नीतिगत घोषणा गर्ने ।

चरण २: प्राधिकरणभित्र आन्तरिक कार्यगत विभाजन

प्राधिकरणलाई एउटै कर्पोरेट निकाय कायम राख्दै आन्तरिकरूपमा वित्तीय र सञ्चालन स्वायत्ततासहित तीन कार्यगत एकाइमा विभाजन गर्ने: 

• प्राधिकरण प्रसारण युनिट: निष्पक्ष राष्ट्रिय ग्रिड नियन्त्रक र ह्विलिङ सेवा प्रदायक ।

• प्राधिकरण 'सिंगल बायर युनिट': साना, गार्हस्थ्य र ग्रामीण ग्राहकका लागि अन्तिम खरिदकर्ता ।

• प्राधिकरण उत्पादन युनिट: प्राधिकरणका आफ्नै जलविद्युत्‌गृहलाई प्रतिस्पर्धी बजारमा सञ्चालन गर्ने एकाइ ।

चरण ३: आंशिक द्विपक्षीय बजारको सुरुवात

प्रतिस्पर्धी ग्राहक (१ मेगावाट भन्दा ठूला उद्योग) लाई आफ्नो कूल वार्षिक बिजुली खपतको १५% देखि २५% सम्म सोझै निजी क्षेत्रसँग द्विपक्षीय सम्झौता मार्फत खरिद गर्न अनुमति दिने । निजी क्षेत्रले प्राधिकरणको प्रसारण युनिटलाई ह्विलिङ शुल्क (रु./युनिट) बुझाएर बिजुली पठाउने छन् । यसबाट प्राधिकरणको टेक-अर-पे पिपिए दायित्व वार्षिकरूपमा घट्दै जानेछ ।

चरण ४: निजी व्यापार र सीमापार पहुँच

नेपाल पावर ट्रेड कम्पनी तथा निजी क्षेत्रलाई प्राधिकरणको ४०० केभी अन्तरदेशीय प्रसारण लाइन (ढल्केबर-मुजफ्फरपुर, नयाँ बुटवल-गोरखपुर) प्रयोग गरी भारत र बंगलादेशको बजारमा सोझै विद्युत्‌ निर्यात गर्न खुल्ला  पहुँच दिने । यसले प्राधिकरणको वासलातमा जोखिम नपारी निजी क्षेत्रलाई निर्यातको बाटो खोल्ने छ ।

चरण ५: सन्तुलन प्रणाली र पूरक बजार

प्रणालीमा निजी क्षेत्र र उद्योगबीच सोझै व्यापार हुँदा आउने प्राविधिक असन्तुलन व्यवस्थापन गर्न प्राधिकरणको कुलेखानी, माथिल्लो तामाकोसी र निर्माणाधीन जलाशय आयोजनालाई ब्यालेन्सिङ र सहायक विद्युत् सेवा (एन्सिलरी सर्भिसेस) प्रदान गर्ने । प्राधिकरणले यसबापत निजी उत्पादकबाट प्रिमियम शुल्क आर्जन गरी नयाँ आम्दानीको स्रोत सिर्जना गर्नेछ ।

५. निष्कर्ष 

नामिबियाको रूपान्तरित एकल क्रेता अर्थात् एमएसबी बजार मोडेलको अनुभवले यो स्पष्ट सिद्ध गरेको छ कि विद्युत्‌ बजारमा प्रतिस्पर्धा, निजी लगानी र दक्षता ल्याउन सेवा प्रदायक संस्थाको विखण्डन वा निजीकरण अपरिहार्य सर्त होइन । प्राधिकरणले विगत दशकमा हासिल गरेको वित्तीय पुनरुत्थान, एए+ क्रेडिट रेटिङ र प्रसारण सञ्जालको विस्तार नेपालको ऊर्जा सुरक्षाको मुख्य आधार हुन् । प्राधिकरणको यो सबल संस्थागत आधारमा आघात नपुर्‍याइकन नामिबिया जस्तै आंशिक र क्रमिक प्रतिस्पर्धात्मक उदारीकरण अपनाउनु नै नेपालका लागि सबैभन्दा सन्तुलित र जोखिमरहित मार्ग हुने देखिन्छ  ।

नामिबियाले 'नाम पावर' नटुक्रयाइ एमएसबी मोडेलमार्फत विद्युत्‌ बजारमा जसरी व्यापक निजी लगानी भित्र्यायो, नेपालले प्राधिकरणको संस्थागत शक्ति अक्षुण्ण राख्दै क्रमिक प्रतिस्पर्धी ग्राहक र खुला पहुँच शुल्क लागु गर्नु उत्तम हुन्छ । यसो भएमा नेपालको ऊर्जा क्षेत्र सन् २०३५ सम्म २८,५०० मेगावाट जडित क्षमता र १५,००० मेगावाट निर्यातको राष्ट्रिय लक्ष्य हासिल गर्न पूर्ण रूपमा सक्षम हुनेछ  ।

न्यौपाने विद्युत् विकास विभाग प्रसारण लाइन निरीक्षण शाखाका इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस

सन्दीप न्यौपाने

सन्दीप न्यौपाने विद्युत् विकास विभाग प्रसारण लाइन निरीक्षण शाखामा कार्यरत छन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३