काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन शीघ्र मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उक्त लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा पर्ने २ वटा टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ । मन्त्री श्रेष्ठले विद्युत् आपूर्तिलाई तत्काल सुचारु गर्न सक्रियता लिँदै उक्त घटनाको छानबिनका साथै मर्मत कार्यलाई समेत तीव्र पार्न नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित अधिकारीलाई निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत् सुचारु गर्न पहल गरिरहेको जनाएको छ । हावाहुरीका कारण रुख ढल्दा पूर्ण रूपमा क्षतिग्रस्त भएका ती टावर फाउन्डेसनदेखि नै पुनः निर्माण गर्नुपर्ने भएकोले आपूर्ति सुचारु गर्न करिब ३ साता लाग्ने अनुमान गरिएको छ ।
लाइन अवरुद्ध भएपछि विकल्पका रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ । यद्यपि, उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।
टावर ढलेको घटनाबारे अध्ययन गर्न प्राधिकरणले ग्रिड सञ्चालन विभागका प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ । उक्त प्रसारण लाइन निर्माणको काम आर एस इन्फ्रा कम्पनीले गरेको थियो । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको पहिलो सबैभन्दा ठूलो क्षमताको लाइन हो ।