विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

न् १९११ मा ५०० किलोवाटको फर्पिङ जलविद्युत् केन्द्रको सञ्चालनसँगै उदाएको नेपालको विद्युत् क्षेत्रको आकार हाल २८०० मेगावाट पुगेको छ । आगामी दुई वर्षमा ५००० मेगावाट नाघ्ने स्थितिमा छ । नेपाली विद्युत् क्षेत्रको साबिकको नीतिगत, कानुनी, नियमनकारी र संस्थागत संरचना सन् १९९२ मा मात्र ५०० मेगावाट आकारका लागि लक्षित गरेर डिजाइन गरिएको हो तर पछिल्ला तीन दशकमा यो क्षेत्रको तीव्र विकास र संघीय मोडेलमा राज्यको पुनर्संरचना भयो । त्यही अनुसार विद्युत् विकास र व्यवस्थापनका नयाँ–नयाँ मुद्दा सतहमा देखापरेका छन् ।

ती मुद्दा सम्बोधन गर्न साबिकको नीतिगत, कानुनी, नियमनकारी र संस्थागत संरचना असमर्थ छ । त्यसकारण, मौजुदा क्षेत्रगत संरचना असान्दर्भिकसमेत भइसकेको छ । वास्तवमा बदलिएको परिस्थिति अनुसार साबिकको नीतिगत, कानुनी, नियमनकारी र संस्थागत संरचनालाई प्रतिस्थापन गरेर नयाँ संरचनामा जान ढिलो भइसक्यो । कानुनी, नियमनकारी र संस्थागत संरचनाको आधार पनि नीतिगत संरचना नै भएकोले क्षेत्रगत संरचनाको परिवर्तनको सुरुवात नीतिगत संरचनाबाटै गर्नुपर्ने हुन्छ । विद्युत् क्षेत्रमा देखापरेका दोबाटा र तिनमा अग्रगमनका उपाय सम्बन्धमा गरिएको तलको बहसले सरोकारवालालाई स्थितिबोध र नीति–निर्मातालाई नीति–निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साबिकको लाइसेन्स प्रणालीको निरन्तरता कि खारेजी ?

पछिल्लो तीन दशकदेखि नेपालको विद्युत् क्षेत्र विकासमा लाइसेन्स प्रणालीको नीति र कानुनी संरचना हाबी छ । यस दौरानमा विद्युत् क्षेत्रमा अनेकौँ विकृति–विसंगति छरपष्ट भएका छन् । हाल विद्युत् क्षेत्र जायज/नाजायज समस्याको घेरामा परेको छ । क्षेत्रगत विज्ञ जानिफकारहरू विद्यमान विकृति र विसंगतिको जरो लाइसेन्स प्रणालीमा रहेको धारणा राख्छन् । किनकि, त्यहीँबाट विकृति–विसंगति सिर्जना भई मौलाएको उनीहरूको धारणा छ । उनीहरू साबिकका क्षेत्रगत समस्या आउनुमा लाइसेन्स प्रणालीलाई नै जिम्मेवार रहेको ठान्दछन् ।

अहिले अभ्यासरत लाइसेन्स प्रणालीमा विद्युत् बजार, तदनुसारको आर्थिक र प्राविधिक दृष्टिकोणले उपयुक्त क्षेत्रगत (उत्पादन, प्रसारण र वितरण) विस्तारको गुरुयोजना हो । प्रसारण जस्ता महत्त्वपूर्ण सहयोगी संरचनाको साबिकको अवस्थासँग कुनै सरोकार नराखी लाइसेन्स वितरण गर्ने गरिन्छ । यस्तो प्रणालीले एकातिर विद्युत् क्षेत्रमा प्रतिस्पर्धा छेक्ने, बजारलाई प्रोत्साहन एवम् संरक्षण गर्ने तथा उपभोक्ताहित नजरअन्दाज गर्ने औजारको रूपमा काम गरेको छ । अर्कोतिर, असन्तुलित विकासलाई प्रोत्साहन गरेको छ ।

त्यसले, बर्खायाममा सीमापार बजार उपलब्ध नभए विद्युत् खेर गएर अर्थतन्त्रमा धक्का पुग्ने तर सुक्खायाममा सीमापार बजारबाट विद्युत् आयात हुन नसके देशमा लोडसेडिङ हुने अवस्था सिर्जना गरेको छ । अहिलेको लाइसेन्स प्रणालीले विद्युत् क्षेत्रको सुशासनमा गम्भीर धक्का पुगेको आमसमुदायले समेत अनुभूत गरेका छन् । यही तीतो अनुभवका कारण कुनै बेला लाइसेन्स प्रणाली अभ्यास गरेका भारत लगायत विश्वका धेरै मुलुक यो व्यवस्था खारेज गरेर लाइसेन्सविहीन (डि–लाइसेन्स्ड) अवस्थामा गइसके ।

नेपालले पनि ‘उपयुक्त समयमा उपयुक्त निर्णय’को सिद्धान्तलाई मध्यनजर गरी लाइसेन्स प्रणालीको खारेजी र लाइसेन्सविहीन नीति अवलम्बन गर्नुपर्ने देखिन्छ । विश्वमा प्रचलित युगानुकुल व्यवस्थामा प्रवेश गर्न ढिलो गर्नु हुँदैन । लाइसेन्सविहीन प्रणालीमा पहिला मूल्य प्रतिस्पर्धा मार्फत छानिएको प्रवर्द्धकसँग विद्युत् खरिद सम्झौता (पिपिए) हुन्छ र उक्त पिपिएको आधारमा सरकारसँग आयोजना विकास सम्झौता (पिडिए) हुन्छ । लाइसेन्सले गर्ने सबै काम पिडिएले गर्छ तर सर्वेक्षण वा उत्पादन लाइसेन्सको नाममा खोलाको लालपूर्जा बाँड्ने काम सरकारले गर्दैन ।

आन्तरिक खपत र निर्यातमुखी आयोजनालाई एउटै नीति या छुट्टा–छुट्टै ?

अपवादको रूपमा निर्यातमूलक आयोजनाको रूपमा प्रतिस्पर्धा  गराइएका माथिल्लो कर्णाली र अरुण–३ बाहेक स्वदेशी खपत र निर्यातको छुट्टा–छुट्टै नीतिको सट्टा साझा नीति अभ्यास गरिएको छ । विकासको साझा डालोमा आयोजनाहरू राखेका छौँ । यसै नीतिगत व्यवस्था अन्तर्गत स्वदेशी खपत र निर्यात नछुट्टिने गरी १८००० मेगावाटभन्दा बढी संयुक्त क्षमताका सर्वेक्षण र उत्पादन अनुमतिपत्र जारी भइसकेका छन् । यसमध्ये जम्मा २८०० मेगावाटमात्र विकास हुँदैमा बर्सातमा सीमापार बजारमा पहुँच नपाए नेपाल विद्युत् प्राधिकरणले ठूलो आर्थिक क्षति सहनुपर्ने अवस्था देखिइसक्यो ।

सीमापार बजारमा हुन सक्ने परिमाणमात्मक जोखिम (आंशिक वा पूर्ण परिमाण बिक्री हुन नसके) र मूल्य जोखिम (नेपालमा परेको खरिद मूल्यभन्दा सीमापार बजारमा प्राप्त बिक्री मूल्य न्यून भएमा) का कारण हुने घाटा प्राधिकरणको वासलात (ब्यालेस सिट) मा देखिन्छ । वासलातमा देखिएको घाटा परिपूर्ति गरी देशभित्रको विद्युत् सेवालाई निरन्तरता दिन प्राधिकरणले स्वदेशी उपभोक्ताका लागि महसुल बढाउन नियामक निकायलाई प्रस्ताव गर्ने छ ।

विद्युत् सेवाको निरन्तरताका लागि नियामक निकायले महसुल वृद्धिको सहमति दिने छ । यसरी एउटै डालोमा राखेर समान नीतिका आधारमा स्वदेशी (आन्तरिक) खपत र निर्यातका लागि आयोजना विकास गर्दा स्वदेशी उपभोक्ता सीमापार बजारको जोखिम बोक्न बाध्य हुने अवस्था आउँछ । जारी भएका लाइसेन्सको ५० प्रतिशत आयोजना पनि सम्पन्न हुन गएमा त्यस्तो जोखिम स्वदेशी उपभोक्ताले बेहोर्न नसक्ने गरी अर्ब होइन खर्बौँ रुपैयाँको हुन सक्छ ।

त्यसर्थ, स्वदेशी उपभोक्तालाई सीमापार बजारको जोखिमको मारबाट जोगाउन छुट्टा–छुट्टै आयोजाना विकासको डालो र नीतिमा विकास गरिनुपर्छ । त्यसो हुँदा, निर्यातमूलक आयोजनाको पिपिए प्राधिकरणले गरिरहनु पर्दैन । ती आयोजनालाई सीमापार विद्युत् बजारमा पर्न जाने जोखिम प्राधिकरणको वासलातमा प्रतिबिम्बित हुँदैन । साथै, स्वदेशी विद्युत् उपभोक्ताले सीमापार विद्युत् बजारको जोखिमबाट मुक्ति पाउँछन् । स्वदेशी खपत र निर्यात लक्षित विद्युत् विकासको एउटै नीतिमा क्रमभङ्ग गरी छुट्टा–छुट्टै नीति र ‘आयोजना विकास डालो’ बनाउन अब ढिलो भइसक्यो ।

उत्पादन, प्रसारण, वितरणको कारोबार एकीकृत कि विशिष्टीकृत ? 

विद्युत् क्षेत्रको साबिक नीतिगत, कानुनी, नियमनकारी र संस्थागत संरचनाले यसको मूल्य शृंखला (उत्पादन, प्रसारण र वितरणको) विशिष्टीकृत (एउटा संस्थाले एउटा व्यवसाय) वा एकीकृत कारोबार (एउटै संस्थाले एकभन्दा बढी व्यवसाय) गर्न सक्ने छुट दिएको छ । यसरी, एउटा संस्थाले मूल्य शृङ्खलाका एकभन्दा बढी व्यवसायको कारोबार एकीकृतरूपमा गर्दा उपभोक्ताले तिर्ने विद्युत् महसुल पनि एकीकृत हुन्छ ।

यस्तो एकीकृत कारोबार हुँदा सेवा–लागत पनि मूल्य शृंखलास्तरमा पारदर्शी नभई एकीकृतरूपमा देखिन्छ र कुनै व्यवसायको व्यावसायिक असक्षमता र अदक्षता एकीकृत महसुलमा ढाकछोप हुन जान्छ । अर्को अर्थमा एकीकृत कारोबार हुँदा सम्बन्धित संस्थाको कुनै व्यवसायमा असक्षमताको मूल्य उपभोक्ताले एकीकृत विद्युत् महसुल मार्फत चुकाउनुपर्ने हुन्छ ।

एकीकृत कारोबार नीतिले अधिकतम क्षेत्रगत दक्षताको प्रत्याभूति गर्दैन । प्रसारण प्रणालीमा भेदभावरहित खुला पहुँच दिने निष्पक्ष प्रसारण सेवा प्रदायकको उपस्थितिलाई निषेध गर्ने सम्भावना  रहन्छ । विद्युत् क्षेत्रमा व्यवसायीको संख्या सीमित गरी प्रतिस्पर्धालाई प्रभावित गर्ने र सोही कारण विद्युत् क्षेत्रको उदारीकरणलाई अवरोध गर्ने हुँदा एकीकृत कारोबारको नीति खारेज गरेर मूल्य शृंखलामा विखण्डनमार्फत एउटै संस्थाले उत्पादन, प्रसारण वा वितरणमध्ये एक कारोबारमात्र गर्न पाउने नीति लागु हुनुपर्छ ।

क्षेत्रगत दक्षतामा सम्झौता र उदारीकरणलाई अवरुद्ध गरेर एकीकृत कारोबार नीतिलाई निरन्तरता दिनुको औचित्य हुँदैन । छिटोभन्दा छिटो विद्युत् क्षेत्रमा एकीकृत (बन्डल) कारोबारको नीति खारेज गरेर विशिष्टीकृत कारोबारको नीति र कानुनी व्यवस्था लागु गरिनु पर्छ । यो समयको माग हो ।

विद्युत् महसुल प्रतिस्पर्धा कि नियमन मार्फत ?

बजारमा आउने अन्य उत्पादनको जस्तै विद्युत्को पनि थोक (होलसेल वा बल्क) र खुद्रा (रिटेल) गरी दुई तहका बजार हुन्छन् । विद्यमान नीतिगत र कानुनी व्यवस्था अनुसार दुवै तहको बजारमा राज्य नियमनद्वारा मूल्य निर्धारण हुने गरेको तथा यसरी नियमनमार्फत तोकिएको प्रतिस्पर्धाविहीन विद्युत् महसुल तिर्न उपभोक्ता बाध्य छन् । राज्यद्वारा नियमन गरिएको महसुलप्रति आमजनताको दृष्टिकोण सकारात्मक छैन । यसलाई व्यवसायी र राज्य संयन्त्रको मिलोमतोमा उपभोक्ताको शोषणको गरिएको रूपमा हेर्ने गरिएको छ ।

त्यस दृष्टिकोणले उपभोक्ता सन्तुष्टि र हितमा सम्भव भए थोक र खुद्रा दुवै तहको बजारमा वा कमसेकम थोकबजारमा प्रतिस्पर्धामार्फत विद्युत् महसुल निर्धारण हुनु आवश्यक छ । यद्यपि, प्रतिस्पर्धामा हुन सक्ने चलखेल नियन्त्रण गर्न प्राप्त थोक विद्युत् महसुलको नियामक निकायले पुनरावलोकन गरेर मात्र लागु गर्ने स्वीकृति दिने व्यवस्था गर्न सकिन्छ ।

हाल १०० मेगावाटसम्मका आयोजनाको विद्युत् खरिद ‘सूचीकृत खरिद दर (पोस्टेड पर्चेज रेट)’ मा हुने गरेको छ । यस्तो सूचीकृत खरिद दरको व्यवस्थाले खरिदमा प्रतिस्पर्धा छल्ने मात्र होइन, आयोजनास्थल सम्बद्ध लाभ उपभोक्ताले होइन प्रवर्द्धकले पाउने परिस्थिति सिर्जना गरेको छ । आयोजनास्थलको अवस्थितिका कारण दुई किलोमिटर सुरुङ खन्दा ५०० मिटर हेड पाइने, आयोजना सडक खन्नै नपर्ने र ग्रिड सबस्टेसन पनि आयोजनाबाट नजिकै रहेका कारण प्रसारण लाइन बनाउनु नपर्ने अवस्थाबाट घट्ने लागतले थोक विद्युत् खरिद दर घट्दैन ।

उपभोक्ताले लाभ पनि पाउँदैनन् । तसर्थ, न्यून क्षमता (१० मेगावाटसम्म) का आयोजनाको विद्युत् खरिद प्रक्रिया सरलीकरण गर्न सूचीकृत दर उपयुक्त भए पनि बढी क्षमताका आयोजनाको सूचीकृत दरमा होइन प्रतिस्पर्धामार्फत नै हुनुपर्छ । खुद्रा बजारमा प्रतिस्पर्धाबाट विद्युत् महसुल निर्धारण गर्न केही संवैधानिक, प्राविधिक र व्यवहारिक जटिलता अवश्य छन् ।

खुद्रा–बजारमा प्रतिस्पर्धामार्फत महसुल निर्धारण गर्न वितरणलाई प्रसारणसरह तारको व्यापार (वायर बिजनेश) मा सीमित गरी आपूर्ति व्यवसाय (सप्लाई बिजनेस) मा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपालको संविधान २०७२ ले वितरण र आपूर्ति व्यवसाय चिन्दैन । दुवैको एकीकृत रूप विद्युत् सेवालाई मात्र चिन्छ । यदि, संविधान विपरित वितरण र आपूर्ति व्यवसायलाई अस्तित्वमा ल्याउन खोजे तहगत क्षेत्राधिकारको समस्या आउँछ । त्यसैले, नेपालको हालको वस्तुस्थितिमा विद्युत्‌काे थोक बजारमा अनिवार्य प्रतिस्पर्धा गराई खरिद दर निर्धारण हुनुपर्ने छ । साथै, खुद्रा बजारको महसुल नियमनद्वारा निर्धारण हुनुपर्ने व्यवहारिक नीति लागु हुनुपर्ने देखिन्छ । यस्तो नीति यथाशीघ्र लागु भएमात्र उपभोक्ताले न्याय पाउँछन् ।

राज्यको एकाधिकार (नेचुरल मोनोपोली) कि बजार उत्पादन (मार्केट प्रडक्ट) ?

प्रसारण प्रणालीमा भेदभावरहित खुला पहुँचका लागि विशिष्टीकृत प्रसारण सेवाको निष्पक्ष प्रसारण सेवा प्रदायक भएमात्र प्रतिस्पर्धी बजार कल्पना गर्न सकिन्छ । यद्यपि, विद्युत् क्षेत्रको साबिकको क्षेत्रगत नीति र ऐनले निजी क्षेत्रको लगानीमा व्यापारिक प्रसारण लाइन निर्माणलाई निषेध गरेको छैन । विद्युत् ऐन, २०४९ लागु भएको तीन दशक बितिसक्दासम्म विद्युत्‌काे व्यापारिक प्रसारण लाइन सम्बन्धी लगानी सहजीकरण नगरी तत्‌सम्बन्धी नियमावली र कार्यविधि निर्माण नगरेर सरकारबाट छेक्ने काम भएको छ ।

अतः प्रसारणलाई एकाधिकारमा राखिरहने राज्यको चाहना र प्राथमिकता रहेको बुझ्न सकिन्छ । त्यस अर्थमा, नीति र ऐनमा विद्युत् प्रसारणले बजार उत्पादनको मान्यता पाए पनि व्यवहारिकरूपमा राज्यको एकाधिकार कायमै छ । यद्यपि, एकीकृत कारोबार खारेज भई मूल्यशृंखला अनुसार व्यवसायमा आधारित विशिष्टीकृत नीति लागु भए निष्पक्ष प्रसारण सेवा प्रदायकको रूपमा सार्वजनिक निकायमार्फत राज्य अग्रसर हुनुलाई अन्यथा लिन मिल्दैन ।

प्रसारण व्यवसायलाई कानुनी आधारसहितको राज्यको एकाधिकारका रूपमा स्वीकार गर्न सकिन्छ । प्रसारणलाई बजार उत्पादनको मान्यता दिई समानान्तर पथ निर्माणमार्फत कुनै एक व्यापारिक लाइनको विद्युत् प्रवाह गर्न सकिन्छ । यो भौगोलिक एकाधिकार (जिओग्राफिकल मोनोपोली) को समेत क्षेत्र भएकोले यसलाई राज्यको एकाधिकारको रूपमा मान्यता दिन थप बल पुग्छ । प्रसारणको पाटोलाई राज्यको एकाधिकारको मान्यता दिए पनि अन्य लाइनको साबिकको विद्युत् प्रवाह प्रभावित नहुने व्यवस्था मिलाउनु पर्छ । यस हिसाबले निश्चित मापदण्ड तोकी प्रसारण शुल्कमा प्रतिस्पर्धा गराएर केही व्यापारिक लाइन बनाउन सकिने नीति र कानुनमा व्यवस्था गर्नु उत्तम हुनेछ ।

राष्ट्रिय कि तहगत विद्युत् नीति ?

विगतमा केन्द्रीकृत राज्य संरचनामा सबै क्षेत्रका राष्ट्रिय नीति हुने गरेका थिए । विद्युत्जस्तै जुन क्षेत्रको नयाँ संविधान अनुसार संघीय पुनर्संरचना भएको छैन, तिनमा अझै विगतको राष्ट्रिय नीति नै कायम छ । नेपालको संविधान २०७२ ले प्रत्येक क्षेत्रमा राज्यको अधिकारलाई खण्डित गरेर संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरिदिएको छ । यस हिसाबले विद्युत्का विषय पनि संघ, प्रदेश र स्थानीय तह तथा केही साझा क्षेत्राधिकारमा परेका छन् । प्रत्येक तहले आ–आफ्नो क्षेत्राधिकारका विषयको विकास र व्यवस्थापनको नीति र कानुन आफैँ बनाउनुपर्छ । अर्थात्, संघको विद्युत् नीति प्रदेश र स्थानीय तहका लागि बाध्यकारी होइन । यस अर्थमा, नयाँ संविधान लागु भएसँगै विद्युत् लगायत कुनै पनि विषयको राष्ट्रिय नीतिका लागि कानुनी ठाउँ रहेन तर सबै तहको सहमतिमा राष्ट्रिय नीति बनाउन बाधा छैन ।

क्षेत्रगत विज्ञहरूको दृष्टिमा तहगत आधारमा जारी भएका बहुनीतिहरूले विद्युत् क्षेत्रको विकासमा एकीकृत प्रयास हुन नसक्ने र त्यसले विकासको गतिलाई मत्थर पार्न सक्छन् । यसो हुँदा, सम्भव भएसम्म सबै तहसँगको संवादबाट राष्ट्रिय विद्युत् नीति मस्यौदा गरी सबै तहले त्यसलाई अनुमोदन गर्दा विद्युत् विकासले निरन्तरता पाउन सक्छ । यसर्थ, संघीय ऊर्जा मन्त्रालयले सबै तहसँग संवादको पहल गरी त्यस्तो संवादका आधारमा राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा गर्ने र उक्त मस्यौदा सबै तहले अनुमोदन गर्ने सहमति गरी कार्यान्वयन हुनुपर्छ । यसो भएमा विद्युत् विकासमा राज्यको संयुक्त प्रयास हुन सक्छ । यद्यपि, त्यस्तो मस्यौदामा तहहरूको विषयगत क्षेत्राधिकारलाई सुरक्षित राखिनुपर्छ ।

संघात्मक विकेन्द्रीकरणको संस्थागत पुनर्संरचना

संविधान बमोजिम विद्युत् क्षेत्रको संघात्मक पुनर्संरचनाको काम बाँकी नै छ । यस्तो पुनर्संरचना भन्नाले संवैधानिक क्षेत्राधिकार अनुसार सबै तहको विद्युत् नीति, कानुन, नियमन कानुन र संस्थागत संरचना निर्माण गर्नु हो । देशमा नयाँ संविधान लागु भएपछि राजनैतिक पुनर्संरचनाले गति पायो । सबै तहमा निर्वाचनमार्फत विधायिका र त्यसमार्फत सरकार निर्माण भए । यद्यपि, एक दशक बित्दा पनि विभिन्न क्षेत्रको संघात्मक पुनर्संरचनाको कामले पूर्णता पाएन ।

विद्युत् क्षेत्रमा पनि संघात्मक आधारमा तहगत नीति, कानुन र नियमन कानुन निर्माणको हकमा संघीय विद्युत् ऐन मात्र संसदमा पेश भएको छ । अन्य सबै काम बाँकी छन् । यसै सन्दर्भमा तहगत आधारमा विद्युत् नीति, कानुन र नियमन कानुन निर्माण त्यति जटिल नभए पनि संस्थागत पुनर्संरचना जटिल हुने देखिन्छ । यस सम्बन्धमा केही प्रश्नहरूको स्पष्ट उत्तर संविधानमा छैन ।

(क) केन्द्रीकृत राज्य–व्यवस्थामा लाइसेन्स पाएका संस्थाहरूको लाइसेन्स विषय अब संघ वा प्रदेश वा स्थानीय तहको क्षेत्राधिकारमा पर्न सक्छ । त्यसो हुँदा, पहिला जारी भएका सबै लाइसेन्सको व्यवस्थापकीय जिम्मेवारी संघको हुने वा जुन तहको क्षेत्राधिकारमा लाइसेन्सको विषय पर्छ उसैको हुने ? विषयगत क्षेत्राधिकार अनुसार जिम्मेवारी हुने हो भने के पहिला जारी भएका लाइसेन्स सम्बन्धित तहमा हस्तान्तरण हुने हुन् ?

(ख) पहिला एउटै संस्थाले एकभन्दा बढी लाइसेन्स लिए तर अब ती अलग–अलग तहको क्षेत्राधिकारमा परेको हो भने सोही संस्थाको हुने वा विषयगत क्षेत्राधिकारको स्वामित्व लिन संस्था संघात्मक विखण्डन हुनुपर्ने ?

(ग) सार्वजनिक संस्थाहरूको प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा परेको विषयको लाइसेन्स र तिनको स्वामित्व लिने संस्था कुन हुने ? के सार्वजनिक संस्थाको मूल्य–शृंखला तथा लाइसेन्सको क्षेत्रधिकारका आधारमा संघात्मक विखण्डन पनि हुने हो ? त्यसरी, संस्था विखण्डन हुने हो भने देशमा विद्युत् क्षेत्रका थुप्रै संस्था हुने र ती स–साना संस्था आर्थिकरूपमा दिगो हुन नसक्ने अवस्था आउन सक्छ ।

यसर्थ, संघीय ऊर्जा मन्त्रालयले प्रदेश र स्थानीय तहसँग संवाद गरी संघात्मक पुनर्संरचनाको अवधारणामा सहमति गरी संघात्मक विकेन्द्रीकरण लक्षित संस्थागत पुनर्संरचना कार्यान्वयन गर्नुपर्छ । विद्युत् नीतिका उपरोक्त दोबाटामा स्पष्ट र निर्भिक निर्णयका साथ अघि बढेर दूरगामी परिणाम दिन सक्ने आँट नीति निर्माताहरूले गर्न सक्नुपर्छ ।

लेखक, नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक तथा ऊर्जाविज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit