काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभरको मौसममा साधारणतया बदली रहने छ । कोशी र मधेश प्रदेशका थोरै साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आइतबार राती पनि देशभर साधारणतया बदली रहने छ । मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको विभागले जनाएको छ ।