विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बझाङ जिल्लाको कालंगा नदी बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाट विद्युत अबको ७ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । एउटै समूहले लगानी गरेका ३ जलविद्युत आयोजनाको विद्युत २०७९ बैशाखभित्र प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

कालंगा बेसिनमा अहिले ३८.४६ मेगावाटको माथिल्लो कालंंगागाड, १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजना निर्माणाधीन छन् । ३ वटै आयोजनाको निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

निर्माणाधीनमध्ये कालंगा हाइड्रो इनर्जी कम्पनी प्रवद्र्धक रहेको कालंगागाडको काम पूरा भएको छ । आयोजनाको संरचना तथा उपकरण परीक्षण (ड्राई टेष्ट) को तयारी गरिएको सञ्चालक पुष्प चित्रकारले बताए । उनका अनुसार आयोजनाबाट गत आर्थिक वर्षभित्र ग्रिडमा जोडिने लक्ष्य थियो, तर कोरोना (कोभिड–१९) महामारीको असरले उपकरण आयात प्रभावित हुँदा र गत असार १ गते आएको बाढी पहिरोले आयाजनाको बाँध र सुरुङमा क्षति पुर्याएकोले उत्पादन तालिका लम्बिएको हो ।

आयोजनाको काम पूरा भएपनि कम्पनीले निर्माण गरिरहेको प्रसारण लाइनको काम पूरा भइनसकेकाले विद्युत उत्पादनको तालिका मंसिरमा सरेको पनि चित्रकारले बताए । प्रसारण लाइनको काम पूरा गरेर आयोजनाबाट मंसिरदेखि विद्युत उत्पादन सुरु गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनसम्म पुग्ने ३७ किलोमिटर लामो प्रसारण लाइन निर्माण ठेक्का पाएको ठेकेदारले काममा गति दिन नसक्दा  उत्पादन तालिका सरेको कम्पनीले जनाएको छ । ठेकेदारले प्रसारण लाइनको काम अन्तिम चरणमा पुर्याएको छ ।

यो आयोजना सम्पन्न गर्न ३ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपुँजी लगानी छ ।

यस्तै, सानीगाड हाइड्रो कम्पनीले निर्माण गरिरहेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको काम ९३ प्रतिशत बढी पूरा भएको छ । यो आयोजनाको पनि सबै काम पूरा गरेर आगामी पुसदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।

यो आयोजनाको बाँध क्षेत्रको काम सकिएको छ । आयोजनाको ७ हजार ८ सय ५ मिटर लामो सुरुङ खन्ने काम सकिएर ढलानको काम भइरहेको छ । आयोजनाको १ हजार १ सय ५० मिटर पेनस्टक पाइप राख्ने काम भइरहेको छ । विद्युतगृहमा उपकरण जडानको काम पनि भइरहेको छ ।

आयोजनाबाट २०७७ असारदेखि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता र सुरुङमा देखिएको समस्याका कारण प्रभावित हुँदा धकेलिएको चित्रकारले बताए । दोस्रो तालिका अनुसार आयोजनाबाट २०७८ भदौभित्र विद्युत उत्पादन गर्ने तालिका थियो तर, निषेधाज्ञा र बाढी पहिरोले सडक बगाएपछि उपकरण ढुवानीमा समस्या हुँदा काम प्रभावित भएको हो ।

यो आयोजना पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

यसैगरी, १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजनाको विद्युत पनि २०७९ बैशाखदेखि ग्रिडमा जोडिनेछ । बुङ्गल हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

९० प्रतिशत बढी सिभिल संरचनाको काम पूरा भएकोे आयोजनाको बाँध क्षेत्रको काम सकिएको छ । २ हजार ८ सय १२ मिटर मुख्य सुरुङमध्ये २ हजार २ सय मिटर बढी खन्ने काम पूरा भएको छ ।  आयोजनामा जडान हुने २ हजार ३ सय मिटर पाइप बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको सबै काम पूरा गरी २०७९ बैशाखभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ जेठमा नै उत्पादन हुनुपर्ने थियो ।

यो तालिकामा विद्युत उत्पादन  सम्भव नभएपछि अर्को तालिका २०७७ मंसिरमा सर्याे । यो तालिकाबाट पनि विद्युत उत्पादन हुन नसकेपछि २०७८ माघ पहिलो साताभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो । विविध कारणले यो लक्ष्यमा समेत उत्पादन सुरु हुने अवस्था नदेखिएपछि नयाँ तालिका निर्धारण गरिएको हो ।

आयोजना स्थल दुर्गम क्षेत्रमा परेकाले पनि निर्माणमा आउने कठिनाईले विद्युत उत्पादन तालिका प्रभावित हुँदै आएको छ । निर्माण सामाग्री ढुवानी तथा प्रतिकुल मौसमको प्रभाव आयोजनाको निर्माणमा पर्दै आएको छ । पछिल्लो समयमा कोभिड–१९ महामारीका कारण कामदार तथा कर्मचारी नै संक्रमित हुँदा तथा निषेधाज्ञाका कारण पनि निर्माण प्रभावित हुँदा लक्ष्यअनुसार प्रगति हुन नसकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माणाधीन ३ वटै आयोजनाबाट उत्पादन हुने विद्युत ३७ किलोमिटर दुरीमा रहेको बलाँच सबस्टेसनमा जोडिनेछ । प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit