काठमाडौँ । पछिल्लो समय देखिएको पेट्रोलियम इन्धनको सङ्कट टार्न सरकारले दुई वटा प्रमुख दुई उपाय कार्यान्वयनमा लाने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालको सङ्कट टार्न उक्त दुई उपाय अवलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकले सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए । यी दिनमा शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिने भएको उनले जानकारी दिए । यस उपायले खास गरी पेट्रोल र डिजेलको खपतमा कमी आउने अपेक्षा गरिएको छ ।
त्यस्तै, सरकारले पेट्रोल तथा डिजेल इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनको व्यवस्था गर्ने समेत निर्णय गरेको छ । यसबाट आयातित पेट्रोलियम ऊर्जाको खपत कम गर्ने र स्वदेशमै उत्पादन विद्युत्को बजार विस्तार हुने समेत अपेक्षा सरकारले राखेको छ ।
पश्चिम एसियाली खाडी मुलुकहरूमा बढ्दै गएको तनावका कारण पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा गम्भीर अवरोध सिर्जना हुनुका साथै इन्धनको मूल्यमा समेत उच्च वृद्धि भएको छ । मुलुकमा देखिएको यस जटिल परिस्थितिलाई मध्यनजर गर्दै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन खपत न्यूनीकरण गर्न र विदेशी मुद्रा सञ्चितिमा पर्ने दबाब कम गर्न उक्त निर्णयहरू गरेको जनाएको छ ।