विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण तर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माणको काम आगामी पुसभित्र सम्पन्न गर्ने भएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्रको काम आगामी ७ महिनाभित्र पूरा गर्ने भएको हो ।

प्राधिकरणको काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तिव्र गतिमा काम भइरहेको छ ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाको काम सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकोले उपकरणको जडान सुरु गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । उपकरण जडानको काम सम्पन्न गर्न २/३ महिना लाग्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे ।

केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरू जोडिने छन् ।

केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । साथै, त्यहाँ अन्तराष्ट्रिय स्तरको डाटा सेन्टर रहने छ । प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृत रुपमा रहने छन् ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋण लगानीमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १ करोड २० लाख अमेरिकी डलर रहेको छ ।

प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी  बनाउन ‘डिजिटल एनइए’ अवधारणामार्फत सोही अनुसार काम गरिरहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ । आगामी दिनहरूमा क्रमैसँग देशभरका ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit