काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राष्ट्र र प्राधिकरणलाई अहित हुने गरी भारतसँग विद्युत् आयातको सम्झौता नगरिएको स्पष्ट पारेको छ । आगामी हिउँदयाममा माग अनुसार विद्युत् व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न गरिएको सम्झौताको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै प्राधिकरणले यसबारे स्पष्ट पारेको जनाएको हो ।
प्राधिकरणले शनिबार विज्ञप्ति जारी गरी सबैभन्दा उपयुक्त विकल्प र कम दरमा विद्युत् खरिद गर्ने सम्झौता गरिएको उल्लेख गरेको छ । नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको बाहुल्यता रहेकोले हिउँदमा भारतबाट विद्युत् आयात गर्नु बाध्यात्मक रहेको जनाएको छ । वर्षायाममा खपत भई बढी भएको विद्युत् निर्यात गर्ने गरिएको तथा सुख्खायाममा केही महिना विद्युत् माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै प्राधिकरणले गतवर्ष २ अर्ब ३८ करोड युनिट विद्युत् निर्यात गरिएको तथा १ अर्ब ६८ करोड युनिट विद्युत् भारतबाट आयात गरिएको जनाकारी दिएको छ ।
प्राधिकरणले भनेको छ, ‘प्राधिकरणले भारतको प्रतिस्पर्धी विद्युत् विनिमय बजार इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बाट डेअहेड तथा रियल टाइम बजार र विद्युत् आदान–प्रदान संयन्त्र मार्फत विद्युत् आयात गर्दै आएको छ। केही वर्षयता बढ्दो विद्युत् मागका कारण भारतबाट गत वर्षको सुख्खायामका महिनामा सोलार आवर अर्थात् बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको समयावधि तथा पिक आवरबाहेकको समयमा मात्र विद्युत् खरिद गर्न सकिने गरी नेपालले सहमति पाएको थियो। चालु आवमा पनि सोही अवस्था कायम रहने सम्भावना रहेकोले सुख्खायामको विद्युत् व्यवस्थापनका लागि अग्रिम रूपमा केही परिमाणमा आधार आयातको रूपमा विद्युत् खरिद गर्नु प्रणालीको आवश्यकता देखिएकोले उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा उत्तम विकल्पमा विद्युत् खरिद गर्न सम्झौता गरिएको हो ।’
प्राधिकरणका अनुसार द्विपक्षीय सम्झौतामार्फत विद्युत् खरिदका लागि २०८२ साउन १३ गते भारतीय सरकारी संस्थाहरूको समेत लगानी रहेको पिटिसी इन्डिया लिमिटेड र भारतीय सरकारी निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) सँग प्रस्ताव माग गरिएको थियो । पिटिसीबाट २०८२ साउन २३ गते १ महिनाको समयावधि राखी प्रतियुनिट ६.७४ भारु (प्रसारण तथा अन्य शुल्क र चुहावट सहित) मा विद्युत् दिन सकिने प्रस्ताव प्राप्त भएको थियो । एनभिभिएनबाट प्रतियुनिट दर ७.७० भारुमा विद्युत् बिक्रीको प्रस्ताव पेस गरिएको थियो ।प्राधिकरणको तत्कालीन सञ्चालक समिति र व्यवस्थापनबाट निर्णयमा भएको ढिलाइ भएका कारण पिटिसी .को उक्त प्रस्ताव कार्यान्वयनमा जान नसकी २०८२ भदौ २३ गतेबाट स्वतः रद्द भएको थियो। पुनः प्रस्ताव माग गरिएकोमा २०८२ असोज ६ गते पिटिसीबाट प्रतियुनिट ६.९५ भारु दरमा विद्युत् उपलब्ध गराउन प्रस्ताव पेस गरिएको थियो । एनभिभिएनबाट प्रतियुनिट ७.६७ भारुमा उपलब्ध गराउन सकिने संशोधित प्रस्ताव प्राप्त भएको थियो।
प्राधिकरणले भनेको छ, ‘सो अनुसार ढल्केबर–मुजफ्फरपुर लाइनबाट खरिद हुने पिटिसीको प्रस्ताव एनभिभिएनको तुलनामा प्रतियुनिट ०.७२ भारु कम रहेको छ।त्यस्तै, नेपाल भारत विद्युत् आदानप्रदान समिति (पिइसी) ले टेक एन्ड पे आधारमा आगामी मार्चसम्मका लागि १३२ केभी भोल्टेजमा प्रतियुनिट दर ८.१० भारु तय गरेको छ । गतवर्षको सुख्खायाममा २३० मेगावाट विद्युत् खरिद गर्नका लागि एनभिभिएनसँग प्रतियुनिट ७.०५ भारुमा सम्झौता गरिएको थियो। यद्यपि, भारतीय डेजिक्नेटेड अथोरिटीबाट सहमति प्राप्त नभएका कारण सो सम्झौता कार्यान्वयन हुन सकेको थिएन ।’
एनभिभिएनले प्रस्ताव गरेको दर प्रतियुनिट ७.६७ भारु, पिइसीले यस वर्षको लागि तय गरेको दर प्रतियुनिट ८.१० भारु, एनभिभिएनसँग गत वर्ष गरिएको सम्झौता दर प्रतियुनिट ७.०५ भारु र आइइएक्सको गत वर्षको साँझ–बिहानको प्रतियुनिट उच्चतम दर १० भारु (सो दरमा बिड गरेको परिमाणको विद्युत् पाउने सम्भावना समेत कम रहेको) भन्दा पिटिसीले हाल प्रस्ताव गरेको दर प्रतियुनिट ६.९५ भारु सबैभन्दा कम रहेको प्राधिकरणले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरण सञ्चालक समितिको मिति २०८२ असोज १० गतेको बैठकबाट पिटिसीसँग बिहार–नेपाल १३२ केभी प्रसारण लाइनबाट ८० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट १०० मेगावाट विद्युत् मार्फत आरटिसी मोडमा विद्युत् सन् २०२६ जनवरीदेखि मेसम्म खरिद गर्ने निर्णय भएको थियो।जसलाई विद्युत् नियमन आयोगले समेत स्वीकृत प्रदान गरिसकेको छ। उक्त सम्झौता सहमतिको लागि भारतीय डेजिक्नेटेड अथोरिटीमा पेस गरिएको छ र उक्त निकायबाट सहमति प्राप्त भएपश्चात् मात्र कार्यान्वयनमा आउने छ । यसर्थ, नेपाल विद्युत् प्राधिकरणको हालको सञ्चालक समिति र व्यवस्थापनबाट संस्था र राष्ट्रलाई अहित हुने कुनै काम नभएको प्रस्ट पार्न चाहन्छौँ ।’