विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाको छैटौँ अङ्‌क विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमबिच ऊर्जा खबरका पाठक, लेखक, ऊर्जा विज्ञ, ऊर्जा उद्यमी तथा ऊर्जा खबरकर्मीहरूको उपस्थितिमा सामूहिक रूपमा ऊर्जा खबरको विमोचन गरिएको हो ।     

कार्यक्रममा पूर्व–जलस्रोत मन्त्री दीपक ज्ञवालीले ऊर्जा पत्रकारितामा ऊर्जा खबरले गरेको कार्य महत्त्वपूर्ण रहेको भन्दै युवा वर्गमा पुग्नै पर्ने ऊर्जा क्षेत्रका धेरै विषयलाई ऊर्जा खबरले उनीहरूसमक्ष पुर्‍याउन सक्नुपर्ने सुझाव दिए । ऊर्जाका धेरै मुद्दामा युवा बहस सिर्जना गर्न सक्ने गरी यस सञ्चार माध्यमले भूमिका निर्वाह गर्न सक्नुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अर्थविद् प्रा.डा. अच्युत वाग्लेले ऊर्जा अर्थतन्त्रका विषयमा कलम चलाउनुपर्ने सुझाव दिए । उनले ऊर्जा अर्थतन्त्रका रूपमा नेपालले आफूलाई कुन स्थानमा राख्न सक्छ भन्ने विषय महत्त्वपूर्ण रहेको बताए । उनले ऊर्जा खबरले आफ्नो अर्धवार्षिक प्रकाशनका प्रत्येक अङ्‌कलाई कुनै एउटा विषय वा मुद्दामा केन्द्रित गर्दा उपयुक्त हुने बताए । ऊर्जाका विषयमा सरकारले काम गर्दा तथा पत्रकारिताले कलम चलाउँदा जलविद्युत्‌बाहेकका विषयलाई बेवास्ता गर्ने गरिएको भन्दै ऊर्जाका अन्य स्रोतका विषयलाई समेत महत्त्व दिनुपर्ने उनको भनाइ थियो ।  

कार्यक्रममा विद्युत् नियमन आयोगका सदस्य डा. मधुसुधन अधिकारीले ऊर्जा खबरको प्रकाशनको उच्च मूल्याङ्कन गर्दै यी प्रकाशनलाई दिगो र स्तरीय बनाउन आर्थिक स्रोतका विषयमा सरोकारवाला सबै पक्षले ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा ऊर्जा खबर अझै परिमार्जित र विस्तारित हुँदै जानेमा आफू ढुक्क रहेको बताए ।  

कार्यक्रममा नविल बैङ्कका अध्यक्ष उपेन्द्र पौडेलले ऊर्जा पत्रकारितामा अब जलविद्युत् मात्र नभई सौर्य विद्युत्लगायतका स्रोतलाई समेत महत्त्व दिएर अघि बढाउनु पर्ने बताए । जलवायु परिवर्तनका असरका विषयमा कलम चलाउँदा बाहिरबाट फाइनान्सिङ ल्याउनुपर्ने समेत उनले बताए । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जा खबरका प्रत्येक अङ्‌कलाई छुट्टाछुट्टै मुद्दामा केन्द्रित गर्न सल्लाह दिए । उनले प्रकाशनका लक्षित पाठक को हुन् भन्ने विषयमा ध्यान दिँदै ऊर्जा क्षेत्रका सफलताका कथा समेत समावेश गर्न सके उपयुक्त हुने बताए । 

कार्यक्रममा नेपाल सरकारका पूर्व–सहसचिव ऊर्जा विज्ञ महेन्द्रबहादुर गुरुङले ‘ऊर्जा खबर’को स्थापनाकालको सङ्घर्ष आफूले नजिकबाट देखेको स्मरण गर्दै ऊर्जाका सबै सरोकारवालालाई जोड्ने र ऊर्जाका सही सूचना प्रवाहमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व–अध्यक्षसमेत रहेका उद्यमी कुशकुमार जोशीले सरकारले ऊर्जा क्षेत्रका दीर्घकालीन मार्गचित्र ल्याउने तर कार्यान्वयन नगर्ने समस्या रहेको बताए । भुटानमा ‘सरप्लस इनर्जी’ मात्रै विदेश निर्यात गर्ने नीति लिएको भने पनि नेपालमा भने आन्तरिक लोडसेडिङ जारी राखेर पनि विद्युत् निर्यातकै विषयलाई चर्को रूपमा उठाउने गरिएको बताए । ऊर्जा खबरले नीति निर्मातालाई यसबारे झकझक्याउने 

कार्यक्रममा नेपाल आयल निगमका पूर्व–कार्यकारी निर्देशक उमेश थानीले साढे ३ खर्बको जैविक ऊर्जाको आयात व्यापार गर्ने नेपालमा यस्ता ऊर्जाको प्रतिस्थापनका विषयमा गम्भीर खोजमूलक विषयहरू आउनु पर्ने बताए । 

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व–उपकार्यकारी निर्देशकसमेत रहेका ऊर्जा खबरका सल्लाहकार सम्पादक शेरसिंह भाटले विगतको तुलनामा ऊर्जा खबरका प्रकाशन निकै परिष्कृत हुँदै आएको बताए । आगामी दिनमा पनि सरोकारवाला सबै पक्षबाट ऊर्जा खबरलाई प्राप्त सहयोग निरन्तर रहने विश्वास पनि उनले व्यक्त गरे । 

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याउने गरेको ऊर्जा मार्गचित्रलाई कार्यान्वयन गर्ने विषयमा घचघच्याउनु पर्ने बताए । त्यस्तै,  ‘१५ हजार मेगावाट बिजुली बेच्ने नीतिगत लक्ष्य छ,’ उनले भने, ‘कहाँ बेच्ने भन्ने विषय आउन सकिएको छैन । यी यस्ता विषयमा मिडियाले निष्पक्ष भएर विश्लेषणात्मक सामग्री प्रकाशन गर्दा प्रभावकारी हुन सक्छ ।’ ऊर्जा खबरमा आएका समाचार सामग्री तथ्यपरक र सही हुन्छन् भन्ने मानक स्थापित भइसकेको बताउँदै उनले यो छवि बचाइ राख्नुपर्ने सुझाव दिए । 

कार्यक्रममा ऊर्जा उद्यमी विनयकुमार भण्डारीले ऊर्जा पत्रकारिता गर्नु गाह्रो काम भएको भन्दै विश्लेषणात्मक ऊर्जा समाचार सामग्री तयार गर्नु अझै कठिन कार्य भएको बताए । सरकारले ल्याउने नीति नियम तथा यस क्षेत्रमा हुने गरेका गतिविधिले भविष्यमा पार्ने प्रभावको विश्लेषण गर्दै भविष्यलाई मार्ग निर्देश गर्न सक्ने समाचार तथा विश्लेषणात्मक सामग्री अहिलेको आवश्यकता रहेको भन्दै त्यसतर्फ अग्रसर हुन सुझाव दिए । 

सामुदायिक विद्युत् उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले ऊर्जा खबरले निकै खोजमूलक र विश्लेषणात्मक लेखहरू प्रकाशन गर्ने गरेको भए पनि यस क्षेत्रका सरोकारवालाले ध्यान दिएर अध्ययन नगर्ने गरेको गुनासो गरे ।  

कार्यक्रममा जलविद्युत् अभियान्ता कृष्णप्रसाद भण्डारीले ऊर्जा खबरमा प्रकाशित लेख तथा समाचार विश्लेषणमाथि लेखक आफूले उठान गरेका विषयलाई आफैँले व्याख्यात्मक टिप्पणी प्रस्तुत गरेर सबैलाई बुझाउने अभ्यास शुरू गर्नुपर्ने सुझाव दिए । यसले ऊर्जा क्षेत्रलाई अझ गहन रूपमा बुझ्न पाठक तथा दर्शक स्रोतालाई सहज हुने उनको भनाइ थियो ।    

इपानकी सचिव कविता कँडेलले ऊर्जा खबरलाई आगामी दिनमा अझ बढी परिमार्जित गरेर ल्याउनुपर्ने बताइन् । त्यस्तै, इपान कार्यसमितिका सदस्य कुबेरमणि नेपालले नेपालको ऊर्जा क्षेत्रमा जलविद्युत्को हिस्सा जम्मा करिब ७ प्रतिशतको हाराहारीमा रहेको भन्दै ऊर्जाका अन्य स्रोतलाई समेत ऊर्जा खबरले महत्त्वका साथ स्थान दिनुपर्ने बताए । उनले ऊर्जा खबरका प्रत्येक अङ्‌कलाई छुट्टाछुट्टै मुद्दामा केन्द्रित गरी संग्रहणीय प्रकाशन बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा ऊर्जा क्षेत्रका ५० जनाभन्दा बढी सहभागी थिए ।  

तस्बिरहरू

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३