काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। नेतृत्व चयनका क्रममा अधिकांश पदहरूमा सहमति जुटेपछि कोषाध्यक्षबाहेकका पदमा सर्वसम्मत भएको हो।
विद्यमान इपान विधान अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा मोहनकुमार डाँगी स्वतः चयन भएका छन् ।
गम्भीर आन्तरिक छलफल र आपसी समझदारीपछि वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत चयन भए । सो पदका अर्का उम्मेदवार बलराम खतिवडाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै लामालाई समर्थन गरेपछि सहमतिको बाटो खुलेको थियो ।
त्यस्तै, उपाध्यक्षका उम्मेदवारहरू भरतबहादुर खत्री र भरतप्रसाद नेपालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उपाध्यक्षहरू पनि सर्वसम्मत चुनिए । इपानको नयाँ उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट चुनिए ।
संशोधित विधान अनुसार ७ उपाध्यक्ष रहने प्रावधान अनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई मनोनयन गर्ने निर्णय भएको छ ।
यसैगरी, इपानको महत्वपूर्ण मानिने महासचिव पदमा टिएन आचार्य र उपमहासचिवमा कविता पोखरेलसर्वसम्मत भए । महासचिव प्रकाशचन्द्र दुलालले उम्मेदवारी फिर्ता लिएका थिए । सचिवमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई चयन भए ।
मनोयन गरिएका सचिवमा कृष्णप्रसाद घिमिरे र दीपक पौडेल रहेका छन् ।
सबै पदमा सहमति जुटे पनि कोषाध्यक्षमा भने सहमति हुन नसक्दा निर्वाचन भएको थियो । कोषाध्यक्षका लागि शंकर बस्याल र मिथुन पौडेल चुनावी मैदानमा थिए । मतदान प्रक्रियाकै क्रममा पौडेल मतदान स्थल छोडेर हिँडेका थिए । खसेको मत परिणाम अनुसार बस्याल निर्वाचित भए । खसेको मतमा बस्यालले २६७ र पौडेलले ८२ मत पाएका थिए ।
कार्यसमिति सदस्यहरूमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदिश शिवाकोटी सर्वसम्मत चुनिनुभएको छ। सदस्यका उम्मेदवारहरू इन्दिरा पन्त, सोमनाथ कँडेल, सन्तोषराज नेपाल र बाबुराम थापाले उम्मेदवारी फिर्ता लिएका थिए ।
यसैगरी, ४ जनाको उम्मेदवारी परेको महिला सदस्य पदमा सिर्जना खड्काले उम्मेदवारी फिर्ता लिएपछि ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध निर्वाचित भए ।
नयाँ प्रस्तावित विधान अनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त, सन्तोषराज नेपाल र बाबुराम थापालाई मनोनयन गर्ने निर्णय भएको छ ।
बाहिर मिडियामा आएजस्तो उग्र विवाद नरहेको र आन्तरिक लोकतान्त्रिक अभ्यास र आपसी सल्लाहकै आधारमा यो बलियो कार्यसमिति बनेको इपानले जनाएको छ।