काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि जलविद्युत् केन्द्र तथा आयोजनाको सुरुङभित्र जमेको लेदो र गेग्रान हटाएर खोजी गर्ने क्रममा हालसम्म ३७ जनाको शव निकालिएको छ । संसदीय विशेष समितिसमक्ष बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यबारे जानकारी गराउँदै नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाले शुक्रबार यस्तो जानकारी गराएका हुन् ।
सुरुङभित्र पुरिएका व्यक्तिहरूको खोजीका लागि प्राविधिक टोली र विशेष उपकरण परिचालन गरी ती शवहरू बाहिर निकालिएको विवरण समितिमा प्रस्तुत गरेका छन् । प्रस्तुतिका क्रममा उनले बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनाका अडिट तथा सुरुङभित्र पानी र लेदो जमेकाले उद्धारमा ठूलो चुनौती थपिएको भए तापनि इन्जिनियरिङ टोली र हेभी इक्विपमेन्ट प्रयोग गरेर खोजी कार्यलाई निरन्तरता दिइएको बताए ।
त्यसैगरी, उनका अनुसार बाढी र पहिरोका कारण अलपत्र परेका स्थानीय नागरिक तथा विदेशी पर्यटकहरूलाई हेलिकोप्टर र स्थल मार्गमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम निरन्तर भइरहेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्री पुर्याउनुका साथै अवरुद्ध सडक सञ्जाल सञ्चालन गर्न बेली ब्रिज निर्माणका कामहरू समेत भइरहेका छन् ।
बाढीका कारण बेपत्ता रहेका व्यक्तिहरुको खाेजी कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले तीव्रता दिइरहेको उनले बताए ।