काठमाडौँ । फेदीखोला जलविद्युत् कम्पनी लिमिटेडले १७ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १०० अंकित दरका १७ लाख ६० हजार कित्ता प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ८० करोड रुपैयाँको २२ प्रतिशतले हुने आउने रकम बराबरको आइपिओ जारी गर्ने भएको हो । यो साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कम्पनीमा कार्यरत कर्मचारी तथा सर्वसाधारणलाई तोकिए बमोजिम जारी गरिने कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता पत्रमा बिहीबार फेदीखोलाका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरे ।
भोजपुरको सापाल्पासिलिछो गाउँपालिका–६ भएर बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माणाधीन ४.३ मेगावाटको फेदी (थुमलुङ्ग) जलविद्युत् आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनना २०८२ माघभित्रमा सम्पन्न गर्ने लक्ष रहको छ ।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अघि बढाइने प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए । साथै योजना तीव्र गतिमा निर्माण भइरहको पनि उनले बताए ।