काठमाडौँ । भूकम्पीय जोखिम र यसबाट पर्नसक्ने हानी तथा नोक्सानीको सम्बोधनका लागि 'महाविपद् ऋणपत्र' (क्याटास्ट्रोफी बन्ड) विकास गर्न नेपाल र विश्व बैंक समूह अन्तर्गतको एएए क्रेडिट रेटिङप्राप्त पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबीच सम्झाैता भएको छ । भूकम्पका बेला नेपालले तत्काल आवश्यक वित्तीय स्रोत जुटाउन सकोस् भन्ने उद्देश्यले उक्त ऋण पत्र विकासका लागि सहकार्य गर्न कार्यादेश सम्झौतामा हस्ताक्षर भएको हाे ।
सम्झौतासँगै नेपालको समग्र विपद् जोखिम व्यवस्थापन रणनीतिलाई सहयोग पुर्याउन पुँजी बजारको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयको लेखाजोखा गर्ने सहकार्यको सुरूवात भएको छ । विश्वका विपद्को उच्च जोखिममा रहेका देशहरूमध्ये एक नेपालले जोखिम न्यूनीकरण, पूर्वतयारी तथा वित्तीय सुरक्षाको उपायहरूको समायोजन मार्फत भविष्यमा आउनसक्ने विपद्को सामना गर्न, त्यसबाट हुने क्षति कम गर्न र र विपद्पछिको पुनरूत्थानलाई प्रभावकारी बनाउन काम गर्दै आएको छ ।
यस सम्झौता अन्तर्गत विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र पुँजी बजारमा रहेका लगानीकर्ताहरूसँग सहकार्य गरी यस्तो ऋणपत्र विकास र जारी गर्नका लागी वित्तीय सम्भाव्यता र सम्भावित संरचनाको लेखाजोजा गर्नेछ ।
यो पहल विश्व बैंक समूहको स्थापित 'क्याटास्ट्रोफी बन्ड' कार्यक्रमको एक हिस्सा हो । यस कार्यक्रमले विभिन्न देशहरूलाई विपद्जन्य जोखिम हस्तान्तरण गर्न र प्राकृतिक प्रकोप विरुद्ध वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच पुर्याउन सहयोग गर्दै आएको छ ।