काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ऊर्जा क्षेत्रसँग सम्बन्धित विद्यमान चुनौतीको सामना र नीतिगत सुधारका लागि स्पष्ट धारणासहितको कार्ययोजना तयार पारेको छ । संस्थाको विधानको परिच्छेद ५ दफा १९ को ‘छ’ अनुसार कार्य विभाजन गरी इपानले १६ वटा विभिन्न विषयगत समिति तथा उपसमितिहरू गठन गरेको हो ।
ऊर्जा क्षेत्रको विकासका लागि आगामी दिनमा उठाइनुपर्ने नीतिगत र व्यावहारिक विषयवस्तुलाई प्रभावकारी रूपमा अघि बढाउन र संस्थाको नीति निर्माण एवम् कार्यान्वयन चुस्त बनाउन यी समिति गठन गरिएको इपानले जानकारी दिएको छ । नवगठित सबै समिति तथा उपसमितिका संयोजकलाई आफ्नो कार्यक्षेत्रको सर्त कार्यसमितिमा पेस गर्नसमेत निर्देशन दिइएको छ ।
इपानले नीति निर्माणदेखि बजार व्यवस्थापनसम्मका क्षेत्रलाई समेटेर नेतृत्व र सदस्यहरूको चयन गरेको छ । जसअनुसार ‘नीति निर्माण तथा विद्युत् व्यापार समिति’को संयोजकत्व वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामालाई सुम्पिएको छ । यस्तै, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा भवन निर्माण समिति’को जिम्मेवारी उपाध्यक्ष नरेन्द्रबल्लभ पन्तले पाएका छन् ।
यसैगरी, ‘नेपाल विद्युत् प्राधिकरण समन्वय समिति’को संयोजकमा अर्का उपाध्यक्ष उत्तरकुमार श्रेष्ठ, ‘धितोपत्र तथा नेप्से समन्वय समिति’मा उपाध्यक्ष हिमप्रसाद पाठक, ‘विद्युत् विकास विभाग समन्वय समिति’मा उपाध्यक्ष विक्रम विष्ट, र ‘वन, वातावरण तथा भूमिसुधार समन्वय समिति’मा उपाध्यक्ष सुसन कर्माचार्य संयोजक तोकिएका छन् ।
ऊर्जा क्षेत्रका उदीयमान र विशिष्टीकृत विषयलाई सम्बोधन गर्न इपानले 'सोलार, हाइड्रोजन, कार्बन व्यापार तथा फ्राईडे फोरम समिति' गठन गरी यसको जिम्मेवारी कुवेरमणि नेपाललाई दिएको छ । वित्तीय तथा कानुनी पाटोलाई व्यवस्थित गर्न 'बैंक, वित्तीय संस्था तथा बिमा समन्वय समिति'को नेतृत्व सुमनकुमारी जोशी, 'विद्युत् नियमन आयोग समन्वय उपसमिति' को नेतृत्व बलराम खतिवडा, र 'लेखा तथा कोष समिति'को नेतृत्व शंकर बस्यालले सम्हालेका छन् । संगठन विस्तार र सचिवालय सञ्चालनका लागि टिएन आचार्यको संयोजकत्वमा 'प्रदेश, संगठन तथा सचिवालय समिति' क्रियाशील हुने जनाइएको छ ।
जलविद्युत् क्षेत्रमा समावेशी सहभागिता, सुशासन र प्राविधिक सक्षमता अभिवृद्धि गर्न थप समितिलाई पूर्णता दिइएको छ । महिला उद्यमीहरूको व्यावसायिक सञ्जाल बलियो बनाउन कविता पोखरेलको संयोजकत्वमा 'महिला समिति' र युवाहरूलाई आकर्षित गर्न वर्णन लामिछानेको संयोजकत्वमा 'युवा ऊर्जा उद्यमी उपसमिति' गठन गरिएको छ ।
यस्तै, संस्थागत निष्ठाका लागि प्रकाशचन्द्र दुलालको संयोजकत्वमा 'आचार संहिता तथा सुशासन उपसमिति', प्राविधिक सवालका लागि कदम केसीको संयोजकत्वमा 'प्राविधिक समन्वय उपसमिति', र वैदेशिक समन्वयका लागि आनन्द चौधरीको संयोजकत्वमा 'अन्तर्राष्ट्रिय सम्बन्ध तथा इभेन्ट व्यवस्थापन उपसमिति' गठन गरिएको छ ।
यी समिति तथा उपसमितिहरूमा आवश्यकता अनुसार थप दक्ष सदस्य तथा ऊर्जा उद्यमीलाई छिट्टै मनोनयन गरी कार्ययोजनालाई तीव्रता दिइने इपानले जनाएको छ ।