काठमाडौँ । महोत्तरीको औरही नगरपालिकामा ५ मेगावाट क्षमताको 'औरही सौर्य विद्युत् आयोजना' निर्माण हुने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी सन लाइट रिन्युएबल इनर्जी प्रालिले उत्पादन अनुमति पत्रका लागि विद्युत् विकास विभागमा दरखास्त दिएर प्रक्रिया अघि बढाएको छ ।
औरही नगरपालिका–१ मा करिब ७.११ बिघा जग्गामा उक्त आयोजना प्रस्ताव गरिएको हाे । आयोजनाको मुख्य संरचनाकाे रूपमा रहने सोलर फोटोभोल्टाइक प्यानलहरूबाट डिसी विद्युत् निकाली त्यसलाई ३०० किलोवाटका १६ वटा र २०० किलोवाटको १ वटा स्ट्रिङ इन्भर्टर मार्फत ५ मेगावाट विद्युत्मा रूपान्तरण गरिनेछ ।
आयोजनाबाट वार्षिक सरदर १०.०६३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित विद्युत्लाई ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् प्राधिकरणको औरही सब-स्टेसनमा जोडिने लक्ष्य राखिएको छ ।
आयोजनाकाे निर्माण २०८३ फागुन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको निर्माण तथा सञ्चालन गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने देखिए ३५ दिनभित्र लिखित राय–सुझाव पेस गर्न आह्वान गर्दै विभागले शुक्रबार सूचना जारी गरेकाे हाे ।