काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशका विभिन्न नगर क्षेत्रहरूमा फोहोरबाट ऊर्जामा आधारित परियोजना विकासका लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूसँग आशयपत्र माग गरेको छ । केन्द्रले जलवायु हरित जलवायु कोष (जीसीएफ) मा पेश गर्न पूर्ण प्रस्ताव तयार गरिरहेकाले साेही अन्तर्रगत सहयाेग प्राप्त गर्न इच्छुक स्थानीय तहहरूबाट आशयपत्र आह्वान गरेको हो ।
केन्द्रले सन् २०१४ देखि नै नेपाल सरकार र विश्व बैंकको सहयोगमा फोहोरबाट ऊर्जा परियोजनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हालसम्म देशभर करिब २० वटा ठूला क्षमताका व्यावसायिक एवं नगरपालिका स्तरका फोहोरमा आधारित ऊर्जा परियोजनाहरू निर्माण भइसकेका छन् । यसै अभियानलाई थप विस्तार गर्दै आगामी दिनमा छनोट हुने नगर क्षेत्रहरूमा ठूला बायोग्यास र रिफ्युज डिराइभ्ड फ्युल (आरडिएफ) जस्ता आधुनिक प्रविधि भित्र्याएर दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने योजना रहेकको केन्द्रले जनाएकाे छ ।
प्रस्तावित आयोजनाबाट सहयोग प्राप्त गर्न इच्छुक र उपयुक्त प्रविधि जडान गर्न चाहने स्थानीय तहले २०८३ साल साउन ३१ गतेसम्ममा कार्यालय समयभित्र केन्द्रको ताहाचलस्थित कार्यालय वा आधिकारिक इमेल ठेगानामा आशयपत्र पेश गरिसक्नुपर्ने छ । साथै, यसअघि नै यस्तो आशयपत्र बुझाइसकेका स्थानीय तहहरूले समेत यो नयाँ सूचना बमोजिम पुनः आशयपत्र पेश गर्नुपर्ने केन्द्रले स्पष्ट जनाकारी गराएको छ ।