काठमाडौँ । सङ्खुवासभा र भोजपुरमा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाले निर्माण चरणमा प्रवेश गरेको छ । आयोजनाको निर्माण सन् २०३० डिसेम्बर ४ भित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त आयोजनाको निर्माण प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् । उनका अनुसार आयोजनाको प्याकेज–१ अन्तर्गत ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्कासमेत आह्वान गरिएको छ ।
लगानी बोर्ड नेपालको सहजीकरणमा अघि बढिरहेको यो आयोजना भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास गर्न लागिएको हो । निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा अघि बढाइएको हो ।
तल्लो अरुण आयोजना एसजेभीएनले नै निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको क्यास्केड परियोजना हो । अरुण तेस्रोको विद्युत्गृहबाट निस्कने पानीलाई करिब १७.४ किलोमिटर लामो मुख्य सुरुङमार्फत तल्लो अरुणको विद्युत्गृहमा पुर्याएर थप विद्युत् उत्पादन गरिनेछ । यसले छुट्टै जलाशय निर्माण नगरी एउटै नदीको जलस्रोतबाट थप ऊर्जा उत्पादन गर्नेछ ।
आयोजनाको अनुमानित लागत करिब ९२ अर्ब ६७ करोड रुपैयाँ (५ हजार ७९२ करोड भारतीय रुपैयाँभन्दा बढी) रहेको छ । आयोजना विकास सम्झौता (पिडिए) अनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । त्यस्तै, व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालू अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै (मंसिर ७ गते) नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका थिए । शिलान्याससँगै लामो समयदेखि प्रक्रियामा रहेको आयोजना अब ठेक्का आह्वान र निर्माण तयारीको चरणमा अघि बढेको हो ।
आयोजनाको निर्माणले अरुण नदी करिडोरमा जलविद्युत् उत्पादन विस्तार हुनुका साथै कोशी प्रदेशसहित समग्र नेपालकै ऊर्जा तथा पूर्वाधार विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।