काठमाडौँ । मेवा डेभलपर्स लिमिटेडले निर्माण गरिरहेको ७३.५ मेगावाटको मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला र मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन आयोजनाको ५८४३ मिटर सुरुङको काम पूरा भएको हो ।
मुख्य सिभिल संरचना निर्माणसँगै हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल तथा प्रसारण लाइनसम्बन्धी कामहरु सम्पन्न हुने चरणमा रहेको आयोजनाका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिए ।
सोही अवसरमा कम्पनीका प्रबन्ध सञ्चालक भानुभक्त पोखरेलले प्रतिकुल भौगर्भिक अवस्था जस्ता चुनौती पार गर्दै सुरुङको काम पूरा भएको बताए । उनका अनुसार अन्य कार्यमा समेत उल्लेखनीय प्रगति रहेको हुँदा आगामी एक वर्षभित्र आयोजना सम्पन्न हुने छ ।