विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमबार सबस्टेसनको संयुक्तरूपमा उद्घाटन गरे ।

सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिने छ । उद्घाटनका क्रममा मन्त्री भुसालले विगतमा बत्ति बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्याँसलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् । उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको पनि बताइन् ।

‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं, बर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत भारत निर्यात गर्न थालेका छौं,' उनले भनिन्, 'थप विद्युत निर्यातका लागि सकारात्मक पहल भइरहेकाे छ ।’

यसैगरी, अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्व ऊर्जा मन्त्रीसमेत रहेका उनले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

‘विद्युत आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घरघरमा, उद्योग उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नु पर्छ, साथै गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नु पर्छ,’ उनले भने ।

साेही क्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए । सल्यान शीतललपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याएको छ ।

सबस्टेसनमा ३ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएकाे छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ ।

जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा वत्ति बाल्न सकिन्छ ।

सबस्टेसनबाट विद्युत आपूर्तिका लागि फिडरहरु निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत आपूर्ति भइरहेको छ । बाँकी फिडरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा झनै सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको विद्युत यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।

२०७२ सालको असारबाट निर्माण सुरु भएको सबस्टेसन वाइबा इन्फ्राटेक प्रा.लि.सँग ८ करोड ८८ लाख रुपैयाँमा पूरा भएकाे छ । सुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । 

रुकुम पश्चिममा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका सबैमा विद्युत पुगे पनि सबै वडाहरूमा भने पुगेको छैन । पालिकाका ७३ वडा मध्ये ५२ वटामा विद्युत पुगेको छ । अहिलेसम्म जिल्लामा राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युतसहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit