काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था खारेज गरिने भएको छ । आगामी २४औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट विधान संशाेधन गरी उक्त व्यवस्था खारेज गर्ने इपान कार्यसमितिमा सहमति भएको हो ।
यसअनुसार हालको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी आगामी कार्यकालका लागि स्वतः अध्यक्ष निर्वाचित हुनेछन् । आगामी अधिवेशनमा पनि वरिष्ठ उपाध्यक्षकाे निर्वाचन हुने भएकाले डाँगीपछिको कार्यकालमा पनि स्वत: अध्यक्ष बन्नेछन् तर त्यसपछि भने अध्यक्षकाे निर्वाचन हुने छ ।
त्यस्तै, अब कार्यकालदेखि अध्यक्षबाहेक सबै कार्यकारी पदमा साधारण सदस्यले सिधै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिने सहमति भएको इपान उपाध्यक्ष उत्तम भ्लोन लामाले बताए । ‘अब अध्यक्ष हुन एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको हुनुपर्ने व्यवस्था गर्ने सहमति बनेको छ,’ उनले भने, ‘यसबाहेक कार्यसमितिका सबै पदमा साधारण सदस्यले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिने छ ।’
अध्यक्ष गणेश कार्कीको अध्यक्षमा वैशाख ४ गते बसेको संस्थाको २००औँ बैठकले आगामी साधारण सभा तथा अधिवेशन २०८३ जेठ २९ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । यसको सम्पूर्ण तयारीका लागि महासचिव बलराम खतिवडाको संयोजकत्वमा सचिव हिम पाठक र सदस्य कुबेरमणि नेपाल रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रमुखसहित ३ जना निर्वाचन अधिकृत चयनको जिम्मा अध्यक्ष कार्कीलाई दिने, जेठ १५ गतेसम्म सदस्यता नवीकरणका लागि आह्वान गर्ने निर्णय गरेको छ । त्यस्तै, ३ वर्षभन्दा बढी समयदेखि नवीकरण नभएका इप्पानका सदस्यहरूको हकमा के गर्ने भन्नेबारे थप अध्ययन र छलफल गरी अर्को बैठकमा पेस गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी, जेठ १५ सम्मको समय दिएर नयाँ सदस्यता आह्वान गर्ने, आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा नीति तथा कार्यक्रममार्फत सरकारले गर्नुपर्ने सहजीकरणको कार्यसूचीलाई सरकारका सम्बन्धित निकायमा पठाउने वा भेटेर बुझाउने निर्णय गरेको छ ।
इपानलाई महासंघमा रूपान्तरण गर्न भानुभक्त पोखरेल संयोजकत्वको विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समितिले दिएको सुझाव कानुनी तथा प्रक्रियागत अड्चनका कारण हाललाई थाती राखेर अघि बढ्ने निर्णय भएको छ ।
बैठकले संस्थागत सदस्यताका लागि आवेदन दिएका निम्न १९ कम्पनीलाई सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको छ :
१. रेसुङ्गा सोलार लिमिटेड
२. तिलौराकोट सोलार लिमिटेड
३. बबई सोलार लिमिटेड
४. सुपादेउराली सोलार लिमिटेड
५. मायादेवी सोलार लिमिटेड
६. महाभारत सोलार लिमिटेड
७. लुम्बिनी सोलार लिमिटेड
८. लर्ड बुद्ध सोलार लिमिटेड
९. कृष्णसार सोलार लिमिटेड
१०. कामधेनु सोलार लिमिटेड
११. ढोरबाराही सोलार लिमिटेड
१२. देवघाट सोलार लिमिटेड
१३. दाउन्नेदेवी सोलार लिमिटेड
१४. बर्दिया सोलार लिमिटेड
१५. बाणगङ्गा सोलार लिमिटेड
१६. बागेश्वरी सोलार लिमिटेड
१७. बढैयाताल सोलार लिमिटेड
१८. सम्पदा इनर्जी प्रा. लि.
१९. बेयुल इनर्जी नेपाल लिमिटेड