ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त व्यवस्था सार्वजनिक गरेका हुन् । गाउँपालिकाले यस कार्यक्रमबाट न्यून तथा मध्यम आय भएका परिवारलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरेको छ ।
सूचना अधिकारी रुद्र बेघाका अनुसार पालिकाभित्र रहेका दुई हजार ५०० भन्दा बढी घरधुरीमध्ये मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने परिवार अनुदानबाट लाभान्वित हुनेछन्। ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले भने यो सुविधा पाउने छैनन् ।
गाउँपालिकाले कृषिलाई पनि प्राथमिकतामा राख्दै ‘एक घर, एक करेसाबारी, प्राङ्गारिक तरकारी’ अभियान सञ्चालन गर्ने भएको छ। यसअन्तर्गत कृषिमा आत्मनिर्भरता बढाउने, किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादन वृद्धि गर्ने कार्यक्रम अघि सारिएको छ ।
त्यस्तै ‘स्वस्थ माटो, स्वस्थ उत्पादन’ तथा ‘स्वस्थ भान्सा, स्वस्थ जीवन’ कार्यक्रमलाई प्रभावकारी बनाउन माटो परीक्षणसम्बन्धी ल्याब सेवा निरन्तर सञ्चालन गरिने, प्राङ्गारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गरिने र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिने जनाइएको छ ।
यसैबीच, गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष कृष्णकुमारी कँडरियाले प्रस्तुत गरेको बजेटमा विद्युत् महसुल अनुदान, कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवर्द्धन तथा नागरिकको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकता दिइएको छ ।