काठमाडाैँ । म्याग्दीको बहुप्रतिक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनामा विद्युत् उत्पादनपूर्वका परीक्षणहरू तीव्र पारिएको छ ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाको बाँध, डिसेन्डर, सुरुङ तथा स्विचयार्डको परीक्षण सफल भइसकेको छ । आयोजनामा जडान गरिएका दुईमध्ये २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण सम्पन्न भइसकेको छ भने अर्को २० मेगावाटको युनिटको परीक्षण आइतबारदेखि सुरु गरिएको छ ।
दोस्रो युनिटको परीक्षणका लागि करिब एक सातादेखि १० दिनसम्म लाग्ने अनुमान गरिएको छ । परीक्षण सम्पन्न भएपछि आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिने र त्यसको १५ दिनपछि व्यावसायिकरूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको प्रबन्ध सञ्चालक केसीले बताए ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा निर्माण गरिएको बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरीको परीक्षणसमेत सम्पन्न भइसकेको छ । तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्गृहमा उपकरण जडानको काम पूरा गरी तिनको परीक्षण भइरहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ । राहुघाटको विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा लिलो प्रविधिमार्फत जोडिनेछ । यसका लागि आवश्यक चारवटा टावर र प्रसारण लाइन निर्माणको कामसमेत पूरा भइसकेको छ ।
आयोजनाको सिभिल निर्माणतर्फ भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)सँग ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजनाको निर्माण अवधि विभिन्न कारणले पटक–पटक थपिँदै आएको थियो । कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।
आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा १० करोड २९ लाख ३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण गरिएको हो । आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा अघि बढाइएको हो ।
राहुघाट आयोजनाको निर्माण प्रक्रियाले भने लामो समय लिएको थियो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार भारतीय कम्पनी आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । आइभिआरसिएलसँग २०६६ सालमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।
राहुघाटले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जिल्लामा सरकारी लगानीमा सुरु भएको पहिलो जलविद्युत् आयोजनाका रूपमा राहुघाटलाई म्याग्दीको जलविद्युत् विकासको प्रवेशविन्दुका रूपमा लिइएको बताए ।
'राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेका छन्,' उनले भने, 'ढिलै भए पनि दुई दशकको प्रतीक्षापछि राहुघाट सम्पन्न हुन लागेको खबरले हामीलाई उत्साहित बनाएको छ ।'
पछिल्लो पटक ठेक्का पाएको जेपीले २०७५ असारमा आयोजनाको पहुँचमार्ग र २०७६ असारमा मुख्य सुरुङ खन्ने काम सुरु गरेको थियो । लामो समयदेखि निर्माणाधीन आयोजना अब अन्तिम परीक्षणको चरणमा पुगेसँगै म्याग्दीको विद्युत् उत्पादनमा थप ४० मेगावाट क्षमता जोडिने भएको छ ।