images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

विश्वव्यापी रूपमा जलवायु परिवर्तनका लागि ऐकेबद्धता कायम गर्दै नवीकरणीय ऊर्जाको प्रयोगमार्फत दूषित ऊर्जाको प्रयोगलाई निरुत्साहित गर्न अपरिहार्य भइसकेको छ । ‘क्लाइमेट पार्लियामेन्ट’ यसका लागि पहल कदमी लिने विश्वका १२० भन्दा बढी देशका विधायकहरूको साझा संगठन हो । यस संगठनले विभिन्न क्षेत्रीय एवम् एकीकृत विधायकहरूको सम्मेलन आयोजना गरी जलवायु परिवर्तन विरुद्ध साझा अवधारणा निर्माण गर्नमा पक्ष राष्ट्रहरूलाई सघाउ पुर्याउँदै आएको छ ।

हालै ‘क्लाइमेट पार्लियामेन्ट’ बगलादेशको निमन्त्रणामा संघीय संसद प्रतिनिधिसभा अन्तर्गत गठित पूर्वाधार विकास समितिका सदस्य मा. ठाकुर गैरे, मा. प्रदीप पौडेल, मा. माधव सापकोटा र प्रतिनिधिसभा सदस्य मा. सोभिता गौतमसहित चार सदस्यीय प्रतिनिधि मण्डल ढाका पुगेको थियो । भदौ २२ देखि २४ गते (सेप्टेम्बर ८–१०, २०२३) सम्म ढाकामा सम्पन्न‘ क्षेत्रीय जलवायु सम्मेलन, २०२३’ मा नेपालको तर्फबाट माननीयहरूको सक्रीय सहभागित रहेको थियो । कार्यक्रममा बिबिआइएन (बंगलादेशे, भुटान, भारत र नेपाल) तथा बिम्स्टेक सदस्य राष्ट्र तथा श्रीलंकाबाट तीन/तीन जना, नेपालबाट चार जना एवम् आयोजक देश देशबाट विषयगत मन्त्रीहरू लगायत उल्लेख्य मात्रामा विधायकहरूको सहभागित रहेको थियो ।

“पृथ्वी तातिएको नभई उम्लिँदै गएको छ” भन्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्ती महत्वपूर्ण छ । जसरी एउटा भ्यागुतोलाई पानी भएको भाँडोमा हालेर तापक्रम वृद्धि गर्दै जाँदा ऊ निश्चित तापक्रम पुगेपछि मर्दछ, त्यसरी नै हामी यस क्षेत्रका देशहरूले पनि बढ्दो पृथ्वीको तापमान रोक्न एकबद्ध भएर अगाडि बढेनौं भने हाम्रो अस्तित्व पनि संकटमा पर्दछ ।

वातावरणीय परिवर्तनका चुनौतीलाई सामाना गर्न क्षेत्रीय ऐकेबद्धता कायम गर्दै नेपाल, भारत, भुटान, श्रीलंका र बगलादेशका विधायकहरूले साझा लक्ष्यमा एक भएर काम गर्ने उद्घोष गरे । उक्त क्षेत्रीय सम्मेलनका उद्देश्यहरू देहायबमोजिम रहेका थिएः

●    नीति निर्माता, वैज्ञानिक, विज्ञ समुदाय, र सरोकारवालहरूलाई एकै स्थानमा भेला गरी वातावरणीय परिवर्तनका आयामहरूमाथि छलफल तथा अनुभवको आदानप्रदान गरी  यसका असरलाई कम गर्न दक्षिण एसियाली देशहरूले साझा अवधारण तय गर्ने ।

● नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्दै यस क्षेत्रमा नयाँ अवसरहरूको खोजी गर्ने ।

● प्लास्टिकको विकल्प खोज गरी यसको प्रयोग कम गर्ने ।

● मानव सृर्जित फोहर विसर्जन र पानीको व्यवस्थापन सम्बन्धमा नीतिगत सुधार गरी वातावरणीय परिवर्तनको असर कम गर्ने ।

● वायु प्रदूषण कम गर्ने र स्वच्छ हावामा बाँच्न पाउने हकका सम्बन्धमा क्षेत्रीय पहल गर्ने ।
सम्मेलनका अपेच्छित परिणामहरू देहायबमोजिम रहेका छन् ।

● दक्षिण एसियाली देशहरूमा नवीकरणीय ऊर्जा उपयोगमा रहेका अवसर तथा चुनौतीहरूको पहिचाहन गरी नवीकरणीय ऊर्जाको उपयोग बढाउने ।

● प्लास्टिकजन्य पदार्थको प्रयोग घटाई यसको विकल्प खोजी गर्ने ।

● वातावरणमैत्री फोहर व्यवस्थापन प्रणाली विकास गरी पानीको प्रयोग सम्बन्धमा साझा अवधारण बनाउने ।

● वायु प्रदूषण कम गर्न क्षेत्रीय सहकार्य अगाडि बढाउने ।

कार्यक्रममा नेपालका तर्फबाट विज्ञ एवम् राजनीतीकर्मी अरनिको पाण्डेको पनि सक्रिय सहभागित रहेको थियो । नेपाली संसदीय टोलीलाई विज्ञको तर्फबाट छलफलको कार्यपत्र तयार पार्नमा नेपाल विद्युत् प्राधिकरणका  उच्च पदाधिकारी लगायतको सहयोग रहेको थियो ।

सम्मेलनबाट अपेक्षित परिणाम हासिल गर्न यस क्षेत्रका नीति निर्माता, वैज्ञानिक, विज्ञ, सरोकारवाला एकै थलोमा भेला भई सहकार्य र एकता कायम गरी यस क्षेत्रको दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने निकालिएको थियो ।

विषयगत छलफल

१. दक्षिण एसियाली क्षेत्रीय विद्युतीय ऊर्जा सहकार्य

कार्यक्रममा अल्ट्रा–हाई–भोल्टेज (यूएचभी) प्रविधियुक्त प्रसारण लाइनको प्रयोग गर्दा लामो दूरीमा हुने विद्युतीय नोक्सानी कम गर्ने विषयमा जोड दिइयो । संसारमा यस्ता क्षेत्रीय आबद्ध भएका धेरै उदाहरणहरू प्रस्तुत गरियो । स्वीडेन, नर्वे, फिनल्याण्ड, स्टोनीया, लाद्भिया, लिथुआनिया लगायत १६ देशहरूबीच रहेको नोर्ड पोल अन्तर–आबद्धताले विद्युत्को मूल्य औसतभन्दा माथि नपुर्याउन र कार्बनडाइअक्साइड उत्सर्जनलाई कम गर्दै विद्युतीय सुरक्षा प्रदानमा समेत सघाउ पुगेका उदाहरण पनि प्रस्तुत गरिएको थियो ।

यसै पृष्ठभूमिमा ग्रिडको प्रयोग गरी अन्तरदेशीय आबद्धता र एकीकृत ऊर्जा संयन्त्रको विस्तार गर्दै दक्षिण एसियाली देशहरूबीच विद्युत्‌को ऊर्जाको निरन्तर आपूर्तिको व्यवस्था सुनिश्चित गर्न आवश्यक रहेकोमा सबैको एक मत रह्यो । साथै, अन्तरदेशीय प्रसारण लाइन निर्माण र सञ्चालनमा सदस्य देशहरूबीच सहकार्य गर्दै कार्बनडाइअक्साइड उत्सर्जनलाई कम गरी नवीकरणीय ऊर्जाको माध्यमबाट जलवायु परिवर्तनको प्रभावलाई उल्लेखियरूपमा कम गर्न यस क्षेत्रका सासंदहरू मिलेर काम गर्न सहमत भए ।

माननीयहरूलाई जलवायु परिवर्तनका विषयमा नेपालको अवस्था र परिस्थितको तत्काल जानकारी उपलब्ध गराउन जलवायुविद् सन्तोषमणि नेपालको विशेष भूमिका रह्यो । साथै, सीमापार विद्युत् व्यापार, नेपालमा जलविद्युत् उत्पादन तथा यसको वितरणलगायत प्राविधिक पक्षकामा डा. मुकेशराज काफ्लेको सहयोग महत्त्वपूर्ण थियो ।

२. दक्षिण एसियामा जलवायु परिवर्तन र विद्युतीय ऊर्जाको सह–सम्बन्ध

जलवायु परिवर्तनले गर्दा यस क्षेत्रका देशहरू भौगोलिक जोखिममा मात्र नरही सामाजिक आर्थिकरूपमा पनि उच्च जोखिममा रहेका  छन् । यस्तो जोखिमलाई उच्च तापमान र यसबाट सृर्जित समस्याहरूले अझ गम्भीर बनाएकोप्रति सम्मेलन सचेत रह्यो । हालैका वर्षहरूमा नेपालको हिमाली क्षेत्रहरूमा परेको पानी र आएको बाढीले गर्दा हजारौका संख्यामा आफ्नो थातथलो छोडी अव्यवस्थित बसोबासीको विस्थापित भएका, भारतका विभिन्न स्थानमा पहिरो र नदीजन्य प्रकोपले गर्दा सुकुम्बासी बनेका तथा  बंगालादेशमा आएको बाढीबाट विस्तापितहरूको संख्या भयावह भएको थियो । यस्तो अवस्था व्यवस्थापन गर्न कठिनाई भइरहेकोतर्फ पनि छलफल केन्द्रित रहेको थियो ।

ढाकास्थित नेपाली राजदुत घनश्याम भण्डारी लगायत दूतावासका कर्मचरीहरूबाट नेपाल पक्षले तत्काल तयार गर्ने छलफलका बुँदाहरूमा समन्वय र विविध विषयहरूमा नेपालका विधायकहरूलाई पृष्ठपोषण गर्न सहयोग प्राप्त भएको थियो ।

यस क्षेत्रमा जनसंख्याको वृद्धिदरभन्दा प्रतिव्यक्ति विद्युत् खपत धेरै गुणाले वृद्धि हुँदै गएको अवस्थामा नवीकरणीय ऊर्जाको विकल्प कोइला, दाउरा वा खनिज पदार्थ नहुने स्पष्ट सन्देश पनि सम्मेलनले दिएको थियो । पेरिस सम्मझौता बमोजिम नेशनल डिटरमिनेसन कन्ट्रिब्यूसन (एनडिसी) दक्षिण एसियामा ऊर्जाको प्रयोगबाट कार्बनडाइअक्साइड उत्सर्जन शून्यमा झार्न नेपाल (२०४५), भारत (२०७०), भुटान (२०३०, हासिल भइसकेको), श्रीलंका (२०६०) र माल्दिभ्स (२०३०) को प्रतिबद्धता रहेको दोहोर्‍याइयो ।

३. दक्षिण एसियामा क्षेत्रीय ऊर्जा सहकार्य

यस क्षेत्रमा ऊर्जा सहकार्यका लागि अन्तरदेशिय विद्युतीय प्रसारण लाइन अनिवार्य रहेको विषयमा छलफल भयो  । नेपाल–भारत, भारत–बंगलादेश र भारत–भुटानबीच द्विपक्षीय विद्युत् व्यापार सम्झौता (पिपिए) भएको भए पनि क्षेत्रीय साम्झौता गरी यस क्षेत्रको विद्युत् विकासका लागि साझा क्षेत्रीय संगठन आवश्यक रहेको औल्याइयो ।

हालै मात्र नेपाल र बंगलादेशबीच भारत हुँदै विद्युत् व्यापारका लागि त्रिपक्षीय  सहमति पनि भएको छ तर यस्तो सहकार्य दुई सरकारबीच (जिटुजी) मात्र भएका छन् । विद्युत्‌को व्यापार बिटुबी हुन सके यसको अझ सार्थकता अझ बढ्नेमा एकमत भयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेको ‘वन सन, वन वल्र्ड एन्ड वन’ अवधारण कार्यान्वयनमा लैजान विद्युत् व्यापारका अवरोध हट्नुपर्ने विषयमा छलफल भयो ।

नेपाली संसदीय टोलीले बंगलादेशका सभामुख शेख हसिना बाजेदलाई उहाँकै कार्यकक्षमा भेटी जलवायु परिवर्तनमा नेपाल र बंगलादेशले भोगिरहेको साझा समस्या समाधानमा मिलेर अगाडि बढ्नुपर्ने अवधारणा राखे । यस क्षेत्रमा बिनाअवरोध सीमापार विद्युत् व्यापार कार्यान्वयन गर्नका लागि नेपाल, बंगलादेश र भारतका संसदीय समिति मिलेर काम गर्नपर्नेमा पनि छलफल भयो ।

यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र र भूभाग रहेको भारतले अन्तरदेशीय विद्युत् व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । भारत र बंगलादेशलाई वर्षामा बिजुली धेरै आवश्यक्ता पर्ने तर नेपाल तथा भुटानको जलविद्युत् उत्पादन यस याममा धेरै हुने हुँदा माग र उत्पादनबीच सामञ्जस्यता कायम गर्न सकिन्छ । अर्थात्, बंगलादेश र भारतलाई धेरै विद्युत् आवश्यक पर्ने समयमा नेपाल र भुटानको जलविद्युत्ले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

नेपालको जलविद्युत्‌को व्यवस्थापकीय उपयोग गर्न सकेमा दक्षिण एसियाली क्षेत्रमा ब्याट्रीको रूपमा काम गर्न सक्छ । उदाहरणको रूपमा, यदि सोलार प्यानलबाट ५ हजार मेगावाट बिजुली उत्पादन भइरहेको अवस्थामा आकाशमा बादल लाग्यो भने तत्काल यो उत्पादन २ हाजरमा झर्न सक्छ । यस्तो अवस्थामा अनिवार्य लोडसेडिङ गर्नुपर्दछ । यदि, नेपाल र भुटानको जलविद्युत् ग्रिडमा जोड्ने हो भने लोडसेडिङ गर्नुपर्दैन ।तत्कालै आपूर्ति गर्न सकिन्छ । हिउँदमा नेपाल र भुटानको जलविद्युत् उत्पादन कम हुने हुँदा ऊर्जा सन्तुलनका लागि भारतबाट आयात गर्न सकिन्छ । यस्तो कार्य यस क्षेत्रका देशहरूको सहकार्य र सहसम्बन्धमा मात्र सम्भव हुन्छ ।

यस क्षेत्रको ऊर्जाको आपूर्तिमा हुने दैनिक असन्तुलन अर्थात् बेलुका उच्च माग (पिक पिरियड) मागको समयमा आवश्यक बिजुली आपूर्ति गर्न पम्प स्टोरेज जलविद्युत् आयोजना बढी प्रभावकारी हुन्छन् । साथै, मौसमी असन्तुलनलाई पूर्ति गर्ने जलाशय आयोजना नै बलियो विकल्प हुन सक्छ ।

कोप–२८ (जलवायु सम्बन्धी संयुक्त राष्ट्र संघीय पक्ष राष्ट्रहरूको २८औं सम्मेलन) मा दक्षिण एसियाली देशहरूको तर्फबाट जलवयु परिवर्तनमा यस क्षेत्रको भूमिका ज्यादै न्यून रहेको कुरा उठाउने सहमति भएको छ । साथै, यस क्षेत्रका बासिन्दाले जलवायु परिवर्तनको बढी असर भोग्नुपरेको हुँदा विकसित देशहरूले यही आधारमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा एक भएर अघि बढ्नुपर्नेमा सहमति भयो ।

विद्युत् धेरै खपत हुने समयमा तत्काल उत्पादन गरी त्यही अनुसार खपत बढाउने पक्षमा प्रसारण लाइनको अन्तरआबद्धता बढाउन भारतले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । लागत र लाभको विश्लेषण गरी यस क्षेत्रका देशहरूले महसुस गर्न सक्ने गरी आर्थिक लाभ हासिल गर्न नदी बेसिन गुरुयोजना तयार गर्नुपर्छ । साथै, उच्चतम लाभ हुने आयोजना र स्मार्ट ग्रिडको प्रयोगमार्फत चाहिएको समयमा बिजुली प्रदान गर्न सक्ने क्षमता विकास गर्न सकिन्छ । यसबारे पनि सम्मेलनमा महत्त्वपूर्ण छलफल भयो ।

एकातिर, नेपालको जलविद्युत् प्रसारण लाइनको अभाव र नेपाल–भारतका विद्युत् व्यापारमा रहेका विभिन्न सर्तका कारण खेर गइरहेको छ । अर्कोतिर, भारतले यही समयमा कोइलाको प्रयोग गरी विद्युत्‌को खाँचो पूर्ति गर्दै आएको छ । अतः यो समस्या समाधान गर्न नेपाली पक्षले भारतसँग सौहार्दपूर्ण तरिकाले कुटनीतिक छलफल गर्नु अपरिहार्य छ । यस क्षेत्रका पुराना प्रसारण लाइनलाई स्तरोन्नति गर्नुपर्दछ । उत्पादन भएजति सम्पूर्ण बिजुली उपभोक्तासमक्ष पुर्‍याउनै पर्दछ । यदि, उत्पादित विद्युत् सम्बन्धित देशमा खपत नभए आवश्यकताका आधारमा उचित मूल्यमा क्षेत्रीय देशमा पुर्‍याउनु पर्दछ । विद्युत्लाई पूर्वाधार नभएको र अन्य कुनै कारणबाट यस क्षेत्रमा प्रयोग गर्नबाट बञ्चित गर्न नहुने विषय पनि छलफलको मुद्दा बनेको थियो ।

बहुपक्षीय सम्मेलनमा बहुपक्षीय छलफल मात्र नभई नेपाली र भारतीय संसदीय टोलीबीच धेरै पटक अनौपचारिक साइड लाइन वार्ताहरू पनि भए । बंगलादेशका संसदीय टोलीले पनि नेपाल र बंगलादेशबीच रहेको २२ किलोमिटरको भौगोलिक दूरीमा भारतले डेडिकेटेड प्रसारण लाइन बनाउन सहयोग पुर्‍याउनुपर्ने पैरवी गरेको थियो । यसमा नेपाली टोलीले पनि सहमति जनायो ।

संसदको चुनौती र भूमिका

दक्षिण एसिया भौगोलिकरूपमा यस क्षेत्रलाई आवश्यक उत्पादन तथा व्यवस्थापन गर्न सक्ने स्थानमा रहेको छ । जलवायु परिवर्तनका कारणबाट सृजना हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न यस क्षेत्रका व्यवस्थापिकाले सम्भावित जोखिमलाई कम गर्न व्यवस्थापकीय हस्तक्षेप गर्नुपर्दछ । क्षेत्रीय एकताबाट यस क्षेत्रमा रहेका साधनहरूको अधिकतम प्रयोग गर्दै प्रसारण लाइन पूर्वाधार विकास गरी बिनाभेदभाव र बिनाअवरोध ऊर्जाको क्षेत्रीय बजार विकास गर्नु अनिवार्य छ । यसका लागि हरेक देशका व्यवस्थापिकाले विभिन्न खुड्किला पार गर्नुपर्ने हुन्छ ।

आर्थिक सबलताका लागि यस क्षेत्रका देशहरूबीच सामाजिक र राजनीतिक सहकार्य अनिवार्य छ । जो निरन्तर संवााद र असल कुटनीतिबाट मात्र सम्भव छ । यस क्षेत्रका देशहरूबीच हुने राजनीतिक संवाद, ऊर्जा हेर्ने संसदीय समितिहरूबीचको छलफलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । क्षेत्रीय संवादामा पारित भएका प्रस्तावहरूलाई पक्ष राष्ट्रका सासंदहरूले स्वदेशमा नीति, रणनीति तथा कानुनमा परिमार्जन गर्न समेत सघाउ पुर्‍याउनुपर्ने हुन्छ ।

लेखक, संसदको पूर्वाधार विकास समितिका सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit