काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दुई वटा विद्युत्गृह रहने गरी ६७० मेगावाटको दूधकोसी जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसका लागि उत्पादन अनुमतिपत्र माग गर्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
विभागका अनुसार खोटाङको रावावेशी र ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, ओखलढुङ्गाको चिसङ्खुगढी तथा सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका भएर बग्ने दूधकोसी नदीको पानी सदुपयोग गर्ने गरी जलाशय आयोजना निर्माण गरिने भएको हो । आयोजना अन्तर्गत एउटै जलाशयबाट सञ्चालन हुने गरी ६०० मेगावाटको सुनकोसी बैकुखोला र ७० मेगावाटको ड्याम–टो भूमिगत विद्युत् गृह (बाँधको नजिकै वा फेदीमा विद्युत् गृह रहने गरी) निर्माणको प्रस्ताव गरिएको छ ।
नदीको पानी थुनेर जलाशय निर्माण गर्न ६३० मिटर लामो तथा २२० मिटर अग्लो 'रकफिल' बाँध निर्माण गरिने छ । यसले ३१.५ किलोमिटर लामो तथा १९.७ वर्गकिलोमिटरको १५८.१ करोड घनमिटर पानी सञ्चय गर्ने गरी कृत्रिम जलाशय (ताल) निर्माण हुने छ । जलाशय भरिँदा पानीको निकासका लागि गेटसहितको कङ्क्रिट स्पिलवे निर्माण गरिने छ ।
६०० मेगावाटको सुनकोसी बैकुखोला विद्युत्गृहका लागि १३.२ किलोमिटर लामो र ९.३२ मिटर ब्यासको गोलाकार सुरुङ निर्माण गरिने छ । त्यस्तै, बाँध नजिकै नदीको बायाँ किनारमा ७० मेगावाटको भूमिगत ड्याम टो विद्युत्गृह निर्माण गरिने छ । यो विद्युत्गृहमा पानी पठाउन अंग्रेजी अल्फाबेट 'डी' आकारको कङ्क्रिट हेडरेस सुरुङ निर्माण गरिने छ ।
आयोजनाबाट वार्षिक ३ हजार ३७७ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य छ । उत्पादित विद्युत्मध्ये धितुङमा निर्माण हुने ६०० मेगावाटको विद्युत्गृहसँगै रहने सबस्टेसनबाट ढल्केबर सबस्टेसनसम्म ८२ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट राष्ट्रिय प्रसारणमा प्रवाह गरिने छ । त्यस्तै, ७० मेगावाट विद्युत् प्रवाहका लागि भदौरेमा स्विचिङ स्टेसन निर्माण गरी १.६ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन प्रस्तावित अरुण हब (शीतलपाटी) सबस्टेसनमा जोडिने छ ।
आयोजनाको निर्माण २०९० सालभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।