विद्युत अपडेट

  • प्राधिकरण : ८९४२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १६३३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२१०२ मे.वा.घन्टा
  • आयात : ३४२६ मे.वा.घन्टा
  • निर्यात : ११८२१ मे.वा.घन्टा
  • ट्रिपिङ : ४१५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६१२१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७२७ मे.वा.
२०८३ जेठ १३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आयोजना प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

ऋण सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकहरूको तर्फबाट ग्लोबल आइएमई बैंक लिमिटेड लगायतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कुल अनुमानित लागत २५ सय ४० करोड रुपैयाँ (रु. २५.४० अर्ब) रहेकोमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी (सेयर) मार्फत जुटाइने भएको छ ।

जम्मा १९ अर्ब रुपैयाँ ऋण लगानीमा ६ वटा वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ, जसको अगुवाइ ग्लोबल आइएमई बैंक लिमिटेडले गरेको छ भने सिद्धार्थ बैंक, लक्ष्मी सनराईज बैंक र प्रभु बैंक सह-अगुवा बैंकका रूपमा रहेका छन् । यस्तै, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक आयोजनामा सहभागी बैंकका रूपमा रहेका छन् । यसैगरी, ६४० करोड रुपैयाँ स्वपुँजी लगानी रहनेमा संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइने कम्पनीले जनाएको छ ।

यो आयोजना २५.५ घनमिटर प्रतिसेकेण्ड पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ भने यसको हेड ७६२ मिटर रहने छ । आयोजनाबाट वार्षिक ९८३.१३ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । 

उत्पादित विद्युतमध्ये ३०.८५ प्रतिशत सुख्खायाममा र ६९.१५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । पहिलो वर्ष आयोजनाबाट करिब ५८१ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । विद्युत खरिद बिक्री सम्झौता (पिपिए) अनुसार पहिलो ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुने व्यवस्था रहेको छ ।

आयोजनाको संरचना अन्तर्गत नदीमा ५० मिटर लामो बाँध निर्माण गरिने छ र ६ किलोमिटर लामो एवम् ४.४४ मिटर व्यास भएको इन्भर्टेड 'डि' आकारको सुरुङमार्फत पानी लगिने छ । त्यसपछि भर्टिकल साफ्ट/पेनस्टकमार्फत विद्युतगृहमा पानी पुऱ्याएर विद्युत उत्पादन गरिने छ ।

उत्पादित विद्युतलाई ८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निर्माणाधीन मार्गेन सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा आपूर्ति गरिने छ ।

कम्पनीका अनुसार हाल आयोजनाको हेडवर्क्स, पावरहाउस तथा सर्ज टैंक क्षेत्रमा पहुँचसडक खनिएको छ । आयोजनास्थलमा अफिस, कामदार तथा कर्मचारीको बसोबासका लागि क्याम्प, सामग्री भण्डारण घर (वर्कसप), आर्मी क्याम्प तथा बंकर निर्माणको कार्य भइरहेको जनाइएको छ ।

आयोजनामा जलविद्युत् क्षेत्रमा लगानी तथा सञ्चालनको राम्रो अनुभव भएका उद्यमीहरूका साथै स्थानीय बासिन्दाको समेत लगानी रहने छ । कम्पनीका अनुसार संस्थापक लगानीकर्ताबाहेक भविष्यमा सर्वसाधारणका लागि समेत सेयरमा लगानी गर्ने अवसर प्रदान गरिने छ ।

राम्रो प्रतिफल दिन सक्ने सम्भावना बोकेको यस आयोजनाको वित्तीय सुनिश्चितता भएसँगै अब निर्माण कार्यले थप गति लिने कम्पनीले जनाएको छ ।

बैंकहरूको लगानी

o    ग्लोबल आइएमई बैंक लिमिटेड: रु. ४०० करोड
o    सिद्धार्थ बैंक लिमिटेड: रु. ४०० करोड
o    लक्ष्मी सनराईज बैंक लिमिटेड: रु. ४०० करोड
o    प्रभु बैंक लिमिटेड: रु. ३५० करोड
o    कृषि विकास बैंक लिमिटेड: रु. १५० करोड
o    नेपाल एसबिआई बैंक लिमिटेड: रु. १०० करोड

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३