काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वासाधारणका लागि आज (माघ १८ गते आइतबार) देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
उक्त आइपिओ खरिद गर्न चाहनेले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् । छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गते आवेदन दिने म्याद सकिने छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरिरहेको छ । उक्त केन्द्र २०८२ साउन १२ गते सञ्चालनमा आएको हो । कुल २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ लागत रहेको जलविद्युत् केन्द्रको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख रहेको छ ।