काठमाडौँ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चलनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा माघ १७ गते (शनिबार) उक्त लाइन सफलतापूर्वक सञ्चालनमा ल्याइएको हो ।
बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी सफल परीक्षणपछि उक्त लाइन सञ्चालनमा आएको हो ।
उक्त प्रसारण लाइन आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते सम्झौता गरी लिएको थियो । ७० करोड रुपैयाँ लागत रहेको आयोजना बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएको तथा बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले अवरोध गरेपछि निर्माणको काम ४२ महिना रोकिएको थियो ।
बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ । कोहलपुर–सुर्खेत सम्म १६१ वटा टावर रहेका छन् ।
सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको थियो । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा सञ्चालनमा रहेको छ । सोही कारण स्थानीयले विद्युत् आपूर्तिमा अनियमितता तथा लो भोल्टेजको समस्या भोग्नु परेको छ । १३२ केभीको प्रसारण लाइन सञ्चालनमा आएपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ ।