विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं, भक्तापुर र ललितपुर जिल्लाको प्रसारण तथा वितरण प्रणाली दिगो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण सुरु गरिएको १३२ केभी थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइन अझै अलपत्र अवस्थामा छ । सिंगो सरकार नै लागेर समस्या समाधानमा जोड दिँदा समेत बाँकी २० प्रतिशत काम सम्पन्न हुन नसक्दा प्रसारण लाइन अलपत्र बनेको हो ।

काठमाडौं र भक्तपुर जिल्लामा बिना अवरोध वर्षोंअघि काम सकिए पनि डेढ दशक बढी समयदेखि ललितपुरको हरिसिद्धि, बुङ्मती र लामाटारका स्थानीयबासीको अवरोधले हट्न नसक्दा निर्माण पूरा गर्न नसकेको आयोजना प्रमुख सुनिलकुमार महतोले बताए । स्थानीयबासीले प्रसारण लाइनको तारमुनीको जग्गाको शतप्रतिशत क्षतिपूर्ति मागेपछि निर्माण अलपत्र छ ।

‘ललितपुरमा एउटा मात्रै सबस्टेसन रहेकाले यो लाइन विशेष गरी यही जिल्लाको वितरण प्रणाली सुधार गर्न भनेर बनाउन सुरु गरिएको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, अहिलेसम्म समस्या समाधान नहुँदा काम सम्पन्न गर्न सकिएन ।’ उनले यस क्षेत्रको समस्या नेपाल विद्युत प्राधिकरणको एक्लो प्रयासमा समाधान गर्न सम्भव नरहेकाले सरकार नै कडारूपमा प्रस्तुत हुनुपर्ने बताए ।

क्षतिपूर्ति विवाद रहेका बुङ्मती, हरिसिद्धि, चापागाउँ, लामाटारमा जनघनत्व बढ्दै गएकाले पनि समस्या समाधान गर्न कठिनाई बढ्दै गएको छ । २०७६ सालमा बुङमतीमा स्थानीयले प्रसारण लाइनको बनिसकेको २७ नम्बर टावर समेत ढालिदिएका थिए । 

अहिलेसम्म प्रसारण लाइनको निर्माणमा ६५ करोड रुपैयाँ खर्च भइसकेको छ । ८० प्रतिशत निर्माण पनि पूरा भइसकेको छ । बाँकी २० प्रतिशत काम सम्पन्न गर्न तारमुनीको जग्गाको क्षतिपूर्ति बाहेक थप ३५ करोड रुपैयाँ लाग्ने महतोले जानकारी दिए । 

ललितपुरमा प्रसारण लाइनको १७ वटा टावरको पाउन्डेसन बनाउन बाँकी छ । ठडिएका टावरमा पनि तार तान्न सकिएको छैन । फाउन्डेसन बनाउन समस्या नभए पनि टावर ठड्याएर तार तान्ने काम अघि बढाउन नसकिएको महतोले बताए । डेढ दशकभन्दा बढी समयसम्म स्थानीयबासीको अवरोध नहटेपछि ऋण लगानी गरेको एसियाली विकास बैंक (एडिबी) आयोजनाबाट बाहिरिसकेको छ ।

निर्माण रोकिएपछि विद्युत प्राधिकरणले आर्थिक वर्ष २०६६/६७ मा आपसी सहमतिमा आयोजनाको ठेकेदार कम्पनीसँग ठेक्का ताडेको थियो । ‘४ वर्षसम्म काम नभए पनि ठेकेदार कम्पनीलाई पालेर राखेका थियौं । काम सुचारु हुन नसकेपछि आपसी सहमतिमा उसलाई विदा दियौं’ उनले भने । स्थानीयबासीको अवरोध हटेपछि फेरि नयाँ ठेकेदार नियुक्त गरेर काम सुचारु गरिने पनि उनले बताए । 

प्रसारण लाइन आयोजना अन्तर्गतको मातातीर्थ सबस्टेसन सम्पन्न भइसकेको छ भने हरिसिद्धिमा काम नै सुरु हुन सकेको छैन । काम नै सुरु गर्न नपाएपछि अब सबस्टेसन निर्माणका लागि खरिद गरिएको जग्गा छुट्याएर तार बेरा गरी सुरक्षित गर्न लागिएको महतोले बताए ।

हरिसिद्धि सबस्टसन निर्माण हुन नसकेकै कारण पूरै ललितपुरमा फोर्स लोडसेडिङको खतरा बढिरहेको उनले बताए । यसको असर ललितपुरमा मात्र नभई सिंगो उपत्यकामा पर्नेछ । 

अहिले पनि ललितपुरको एकमात्र लगनखेल सबस्टेसन ओभरलोड छ । जिल्लाको पूरै लोड लगनखेल सबस्टेसनले व्यवस्थापन गर्न नसक्दा बानेश्वर सबस्टेसनबाट आपूर्ति व्यवस्थापन मिलाउने गरिएको छ ।

६६ केभी स्यूचाटार–पाटन–बानेश्वर प्रसारण लाइन पनि ओभर लोड छ । सबस्टेसन र प्रसारण लाइन ओभरलोड भइसकेकाले अब ललितपुरमा जुनसुकै बेला फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणले बताउँदै आएको छ ।

वितरण लाइन धेरै लामो भएकाले अहिले पनि दक्षिणी ललितपुरमा ‘लो भोल्टेज’ को समस्या छ । स्थानीयबासीको अवरोध तत्काल हटेर निर्माण सुचारु गर्न पाउने हो भने १ वर्षभित्र प्रसारण लाइन सञ्चालनमा ल्याउन सकिने उनको दाबी छ ।

प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ । काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit