विद्युत अपडेट

  • प्राधिकरण : ८९०१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५२७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७७७९ मे.वा.घन्टा
  • आयात : ३१२० मे.वा.घन्टा
  • निर्यात : १२४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : ८२५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५५९०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३९५ मे.वा.
२०८३ जेठ १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । आगामी जेठ २९ गतेका लागि तय गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) निर्वाचन नजिकिएसँगै चुनावी गतिविधिसमेत तीव्र बन्दै गएको छ । ऊर्जा क्षेत्रमा सक्रिय उद्यमी–व्यवसायीको व्यावसायिक तथा सामूहिक हितका लागि स्थापना भएको यस संस्थाको नेतृत्व तहमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्न चाहने व्यवसायीबीच चुनावी गतिविधि प्रतिस्पिर्धी बन्दै गएको हो ।

निर्वाचनमा हाल कार्यसमितिका उपाध्यक्ष रहेका उत्तम भ्लोन लामाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै सशक्त तथा अनुभवी व्यवसायीको समूह बनाएर चुनावी मैदानमा उत्रिन लागेका छन् । ‘इपान भिजन २०२९’ सार्वजनिक गरेर नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने र दक्षिण एसियाको ऊर्जा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य यो समूले अघि सारेको छ ।

विशाल लक्ष्यसहित अघि बढेको लामा नेतृत्वको समूहले संस्थाको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार १ जना, उपाध्यक्ष ४ जना,  महासचिव १, उपमहासचिव १, कोषाध्यक्ष १, सचिव ५ र कार्यसमिति सदस्यमा ६ जनाको उम्मेदवारी घोषणा गरेर प्रतिस्पर्धात्मक गतिविधि अघि बढाइरहेको छ ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने इपान विधानको व्यवस्था छ । उक्त व्यवस्था अनुसार आगामी निर्वाचनपछि बन्ने कार्यसमितिको नेतृत्व (अध्यक्ष) मा स्वतः हालका वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी चयन हुनेछन् । अन्य पदमा भने निर्वाचन हुने छ ।

हेरौँ, इपानका एक से एक सशक्त प्रत्याशी अनुहारहरू :

उत्तम भ्लोन लामा 
वरिष्ठ उपाध्यक्ष

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष उत्तम भ्लोन लामा पूर्वाधार परियोजनाको क्षेत्रमा गहिरो अनुभव र दक्षतायुक्त सफल युवा उद्यमी हुन् । उनले इपानको आगामी कार्यसमितिका लागि वरिष्ठ उपध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनी पूर्वाधार वित्तीय व्यवस्थापन तथा ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) ठेक्का व्यवस्थापनमा विशेष विज्ञता राख्छन् । व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका लामा १५ वर्षदेखि ऊर्जा क्षेत्रको विकासमा सक्रिय छन् । युवा उद्यमीहरूमा उनी एक प्रभावशाली व्यक्तित्वका रूपमा समेत परिचित छन् ।

हाल सिइडिबी होल्डिङ्स लिमिटेडका सञ्चालक रहेका उनले नेपालभर सञ्चालनमा रहेका ६०० मेगावाटभन्दा बढी क्षमताका विभिन्न जलविद्युत् आयोजनाको रणनीतिक नेतृत्व र निगरानी गरिरहेका छन् । उनको नेतृत्वले ती आयोजनाको दिगो विकास र सफल कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

लामा ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आएकको एनएमबि बैंक लिमिटेडका सञ्चालक समेत रहेका छन् । नेदरल्याण्ड्सको एफएमओसँगको संयुक्त लगानीमा स्थापित यस बैंकले ऊर्जा पूर्वाधारमा वित्तीय सहयोग तथा लगानी प्रवर्द्धन गर्दै आएको छ । सञ्चालकको हैसियतले बैंकमार्फत पनि उनले ऊर्जा विकासप्रति आफ्नो प्रतिबद्धता थप बलियो बनाएका छन् ।

लामा एनएमबी माइक्रो फाइनान्सका संस्थापक अध्यक्षसमेत हुन, जसले वित्तीय समावेशीकरण तथा तल्लो तहसम्म आर्थिक पहुँच विस्तारमा उनको समर्पणलाई प्रतिबिम्बित गर्दछ । इपान पदाधिकारीको अग्रसरतामा स्थापित नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) का सञ्चालक सदस्य समेत रहेका छन् । साथै, ऊर्जा क्षेत्रबाहेक उनी खाद्य प्रशोधन, व्यापार तथा कृषि क्षेत्रका विभिन्न व्यवसायिक गतिविधिमा समेत सक्रिय छन् । ज्ञान, अनुभव र दूरदर्शी नेतृत्वको अद्वितीय संयोजनका कारण लामा नेपालको व्यावसायिक तथा ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित व्यक्तित्वका रूपमा स्थापित छन् ।

उत्तरकुमार श्रेष्ठ
उपाध्यक्ष

ऊर्जा क्षेत्रमा ३९ वर्षभन्दा बढी अनुभव भएका वरिष्ठ ऊर्जाविज्ञ तथा व्यवस्थापनकर्मीका रूपमा परिचित छन्, उत्तरकुमार श्रेष्ठ । नेपाल विद्युत् प्राधिकरणमा २१ वर्ष सेवा गर्दै विभिन्न उच्च व्यवस्थापकीय पदमा कार्य गरेका उनी कार्यकारी निर्देशकबाट सेवा निवृत्त व्यक्ति हुन् । प्राधिकरणबाट अवकाश भइसकेपछि उनले बुटवल पावर कम्पनी (बिपिसी) मा प्रमुख कार्यकारी अधिकृतको जिम्वारी सम्हाल्दै आएका छन् ।

व्यवसाय विकास तथा सम्झौता, जोखिम व्यवस्थापन, बजार विश्लेषण, परियोजना वित्तीय व्यवस्थापन, निर्माण तथा जलविद्युत् आयोजनाको व्यावसायिक सञ्चालन लगायत क्षेत्रमा उनको विशेष दक्षता रहेको छ । नेपालमा जलविद्युत् व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी, नीतिगत तथा नियामकीय पक्षमा समेत उनको उत्तिकै गहिरो ज्ञान छ ।

श्रेष्ठ भारतको 'इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस अफ इन्डिया (आइसिएआई)' तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का फेलो चार्टर्ड एकाउन्टेन्ट हुन् । साथै, उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन पनि पूरा गरेका छन् ।

सन् २०१४ देखि नेपालको अग्रणी जलविद्युत् कम्पनी बिपिसीका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत उनी हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनी लिमिटेडका अध्यक्ष तथा विभिन्न जलविद्युत् कम्पनीहरूको सञ्चालकको जिम्मेवारीमा छन् ।

हाल उनी मनाङ मर्स्याङ्दी (१३५ मेगावाट), तल्लो मनाङ मर्स्याङ्दी (१३९.२ मेगावाट), माथिल्लो मर्स्याङ्दी–२ (३२७ मेगावाट), एससिआईजी इन्टरनेसनल नेपाल जलविद्युत् संयुक्त विकास लगानी कम्पनी प्रालि, खुदी जलविद्युत् कम्पनी लिमिटेड (४ मेगावाट), गुराँस इनर्जी लिमिटेड तथा नेपेक्सका सञ्चालक छन् । यस्तै, न्यादी जलविद्युत् कम्पनी लिमिटेड (३० मेगावाट) का वैकल्पिक सञ्चालक तथा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र बिपिसी सर्भिसेज लिमिटेडका अध्यक्षको जिम्मेवारीमा समेत छन् ।

इपानको कार्यकारी सदस्य उनले आगामी कार्यसमितिमा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न जलविद्युत् विकाससम्बन्धी मञ्चहरूमा उनले विशेषज्ञका रूपमा सहभागिता जनाइसकेका छन् । यसअघि नेपाल सरकारद्वारा नियुक्त विद्युत् महसुल निर्धारण आयोगको सदस्यको रूपमा समेत उनले जिम्मेवारी पूरा गरेका थिए ।

सरकारी सेवामा रहँदा हासिल गरेको अनुभव र ज्ञान उनले हाल निजी क्षेत्रमार्फत जलविद्युत् विकासमा उपयोग गरिरहेका छन् । बिपिसीमा आबद्ध हुनुअघि श्रेष्ठ विश्व बैंकको प्राविधिक सहयोगअन्तर्गत सहरी विकास कोषमा मानव संसाधन तथा वित्तीय व्यवस्थापन विशेषज्ञका रूपमा समेत कार्यरत थिए ।

हिमप्रसाद पाठक
उपाध्यक्ष

इपान कार्यसमितिका सचिव हिमप्रसाद पाठकले जलविद्युत् क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव बटुलिसकेका छन् ।

उनले एक अनुभवी तथा दूरदर्शी नेतृत्वकर्ताको रूपमा आफ्नो पहिचान बनाइसकेका छन् ।

हाल साहास ऊर्जा लिमिटेडका अध्यक्ष रहेका उनले संस्थालाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यसअघि उनले रुरु जलविद्युत् परियोजना लिमिटेडको कार्यकारी अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

त्यस कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाटको हुग्दी खोला निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

हाल उनले नेपालको निजी क्षेत्रकै सबैभन्दा ठूलो आयोजना बूढीगण्डकी (३४१ मेगावाट) निर्माणको नेतृत्व गरिरहेका छन् ।

विभिन्न संस्थाहरूमा सञ्चालकको रूपमा उनले रणनीतिक नेतृत्व तथा संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

दिगो र स्वच्छ ऊर्जा विकासप्रतिको उनको प्रतिबद्धता तथा जलविद्युत् क्षेत्रको उन्नतिप्रतिको समर्पणले उनलाई यसको सम्मानित र प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।

सुसन कर्माचार्य (राजभण्डारी) 
उपाध्यक्ष

सुसन कर्माचार्य (राजभण्डारी) जलविद्युत्, वित्त, पूर्वाधार, उत्पादन तथा सामाजिक क्षेत्रहरूमा समृद्ध नेतृत्व अनुभव हासिल गर्नुभएकी प्रतिष्ठित व्यवसायिक व्यक्तित्व हुन् । हाल उनी मादमेखोला जलविद्युत् लिमिटेडकी कार्यकारी अध्यक्षको जिम्मेवारीमा छिन् । उनको नेतृत्वमा कास्की जिल्लामा अवस्थित २४ मेगावाट क्षमताको आयोजना डिसेम्बर २०२५ मा सफलतापूर्वक सञ्चालनमा आएको छ ।

उनी कैलाश इनर्जी प्रालिकी अध्यक्षसमेत हुन्, जसले गोरखा जिल्लामा २०३ मेगावाटको माथिल्लो बूढीगण्डकी आंशिक जलाशय जलविद्युत् आयोजना विकास गरिरहेको छ ।

त्यसैगरी, उनी माइलस्टोन हाइड्रोपावर प्रालिकी अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिरहेकी छन्, जसले बागलुङ जिल्लामा ४.५ मेगावाट क्षमताको मध्य दराम खोला 'बी' साना जलविद्युत् आयोजना विकास गरिरहेको छ । साथै, ह्वाइट गोल्ड मल्टी–इनर्जी लिमिटेडको सञ्चालकका रूपमा ४.०२ मेगावाटको मध्य दराम खोला–ए आयोजना विकासमा समेत संलग्न छिन् ।

विक्रम बिष्ट
उपाध्यक्ष 

विक्रम बिष्ट बैंकिङ, बीमा तथा जलविद्युत् क्षेत्रका सफल उद्यमी, लगानीकर्ता तथा दूरदर्शी नेतृत्वकर्ता हुन् । उनले वित्तीय तथा ऊर्जा क्षेत्रको विकासमा पुर्‍याएको योगदानले नेपालका निजी क्षेत्रका अग्रणी व्यक्तित्वमध्ये एकका रूपमा स्थापित गरेको छ ।

जलविद्युत् क्षेत्रमा उहाँ इसुवा इनर्जी प्रालि अध्यक्ष हुन् । उनकै नेतृत्वमा संखुवासभा जिल्लामा निर्माणाधीन ४०.१ मेगावाटको इसुवा खोला आशिक जलाशय क्यास्केड जलविद्युत् आयोजना अघि बढिरहेको छ । साथै उनले बाराम्ची खोला जलविद्युत् आयोजना समेत विकास गरेका थिए, जसले २०६३ साल पुस २७ गतेदेखि विद्युत् उत्पादन सुरु गरेको थियो । उक्त आयोजना निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका प्रारम्भिक जलविद्युत् आयोजनामध्ये एक हो ।

ऊर्जा क्षेत्रबाहेक उनी बिष्ट इनर्जी हाउस प्रालि, भिजन टेस्ला पावर प्रालि, बिष्ट ट्रेडिङ हाउस प्रालि तथा सामाजिक संस्था छत्र-बम बिष्ट फाउन्डेशनका अध्यक्षको जिम्मेवारीमा छन् ।

त्यस्तै उनी आइसिएफसी फाइनान्स लिमिटेडका संस्थापक सञ्चालक, कुमारी बैंक लिमिटेड, सूर्यज्योति इन्स्योरेन्स कम्पनी लिमिटेड, वन्डर्स नेपाल स्काइ वाक प्रालि तथा केबिएनआर इसुवा पावर लिमिटेड जस्ता संस्थाहरूमा प्रवर्द्धकका रूपमा संलग्न छन् । साथै, घिमिरे विष्ट उद्धार केन्द्रीय समितिका सल्लाहकारका रूपमा समेत उनले आफ्नो अनुभव र ज्ञानमार्फत योगदान पुर्‍याउँदै आएका छन् ।

टी.एन. आचार्य
महासचिव

चार्टर्ड एकाउन्टेन्ट, जलविद्युत् उद्यमी तथा संस्थागत नेतृत्वकर्ता टी.एन. आचार्यको वित्त, पूर्वाधार तथा ऊर्जा विकास क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ ।

तेह्रथुमको छथर जोरपाटी गाउँपालिकामा जन्मिएका उनले महेन्द्र बहुमुखी क्याम्पसबाट बि.कम. अध्ययन गरी क्याम्पस सर्वोत्कृष्ट बनेका थिए । त्यसपछि सन् २००३ मा भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि प्राप्त गरेका थिए ।
हाल उनी भिजन इनर्जी एन्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष हुन्, जसले ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत् आयोजना विकास गरिरहेको छ । 

उनी नेपालभर निर्माणाधीन तथा विकासका चरणमा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूमा सक्रिय रूपमा संलग्न छन् । ती आयोजनाहरूमा इसुवा खोला (९७.२ मेगावाट), खिम्ती–२ (४८.८ मेगावाट), अपर कालंगा गाड (३८.४६ मेगावाट), सुपर न्यादी (४०.२७ मेगावाट), तमोर खोला–५ (४६.९ मेगावाट), लुजा खोला (२४.८८ मेगावाट), अपर म्याग्दी (३७ मेगावाट), पालुन खोला (२१ मेगावाट), मादाम खोला (२४ मेगावाट), हिडी खोला (६.८२ मेगावाट), कालंगा गाड (१५.३३ मेगावाट), श्याम खोला (७.२ मेगावाट), अपर सानीगाड (१०.७ मेगावाट), अपर पिलुवा (४.७२ मेगावाट), सुपर चेपे (९.०५ मेगावाट), सिद्धी खोला (१० मेगावाट) तथा फेदी खोला (४.३ मेगावाट) रहेका छन् ।

वित्तीय संरचना निर्माण, परियोजना परामर्श, लेखापरीक्षण तथा लगानी व्यवस्थापनमा उनको विशेष दक्षता रहेको छ । टी.एन. आचार्य एन्ड कम्पनीमार्फत उनले विभिन्न बैंक, सार्वजनिक निकाय तथा विकास साझेदार संस्थाहरूलाई परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

उनले नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल दूरसञ्चार प्राधिकरण तथा नागरिक लगानी कोषका सञ्चालक सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का निर्वाचित कार्यसमिति सदस्य हुन् ।

व्यावसायिक जीवनसँगै उनी लेखक, गीतकार तथा सामाजिक चिन्तकका रूपमा समेत परिचित छन् । जलविद्युत्, सुशासन तथा राष्ट्रिय विकाससम्बन्धी विषयमा उनी नियमित रूपमा लेखन तथा विचार अभिव्यक्ति गर्दै आएका छन् ।

कविता पोखरेल
उपमहासचिव

कविता पोखरेल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को कार्यसमिति सदस्य तथा उपमहासचिवका रूपमा कार्यरत अनुभवी पेशाकर्मी हुन् ।

उनीसँग बैंकिङ क्षेत्रमा २३ वर्ष तथा ऊर्जा क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेको अनुभव छ । अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गरेकी उनी वुमेन इन इनर्जी नेपाल अभियानको नेतृत्व गर्दै ऊर्जा क्षेत्रमा लैङ्गिक समावेशिता, विविधता तथा महिला सशक्तीकरणका लागि सक्रिय छिन् ।

उनी हिमशिला हाइड्रोपावर कम्पनी लिमिटेड तथा सृजनशील ऊर्जा कम्पनी प्राइभेट लिमिटेडकी अध्यक्ष हुन् । साथै, लिबर्टी इनर्जीमा सञ्चालकका रूपमा कार्यरत रहँदै नेपालको ऊर्जा पूर्वाधार विकासमा योगदान दिइरहेकी छिन् ।

त्यसैगरी, उनी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक हुन्, जसले सीमान्तकृत महिलाहरूको आर्थिक सशक्तीकरणका लागि वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

नरेन्द्र बल्लभ पन्थ
कोषाध्यक्ष 

नरेन्द्र बल्लभ पन्थ नेपालको जलविद्युत् क्षेत्रमा विकास, लगानी तथा व्यवस्थापनका क्षेत्रमा दीर्घ अनुभव भएका प्रतिष्ठित व्यक्तित्व हुन् । 

हाल उनी ठूलो खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष हुन्, जसले २२.५ मेगावाट क्षमताको थुलो खोला जलविद्युत् आयोजना विकास गरिरहेको छ । उनी युनाइटेड मेवा हाइड्रोपावर लिमिटेडका सञ्चालक तथा प्रमुख प्रवर्द्धक समेत हुन्, जसले ५० मेगावाटको युनाइटेड मेवा जलविद्युत् आयोजना विकास गरिरहेको छ । यसअघि उनी टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड (८ मेगावाट) का प्रबन्ध निर्देशक थिए ।

उनको जलविद्युत् यात्रा १० मेगावाट क्षमताको लोअर मोदी–१ जलविद्युत् आयोजनाबाट सुरु भएको हो । त्यसपछि उनले सिंगटी जलविद्युत् आयोजना (२५ मेगावाट) तथा माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना (२२.२ मेगावाट) मा समेत लगानी तथा विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
हाल उनी सुपर पिखुवा (९.३ मेगावाट), सुपर टक्सार पिखुवा (८.९ मेगावाट), रनमा खोला (३६.६ मेगावाट), पेल्मा खोला (७५ मेगावाट), माथिल्लो सानीभेरी (९० मेगावाट) तथा लोअर पेल्मा खोला (२३.७५ मेगावाट) लगायतका आयोजनाहरूको विकासमा संलग्न छन् ।

दूरदर्शी नेतृत्व, रणनीतिक सोच तथा ऊर्जा क्षेत्रप्रतिको समर्पणले उनलाई नेपालको जलविद्युत् क्षेत्रमा सम्मानित र प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।

कुबेरमणि नेपाल
सचिव

कुबेरमणि नेपाल जलविद्युत्, सौर्य तथा बायोमास ऊर्जा क्षेत्रमा सक्रिय एक अग्रणी उद्यमी तथा ऊर्जा व्यवसायी हुन् ।

हाल उनले तीनवटा सञ्चालनमा रहेका जलविद्युत् आयोजना, दुईवटा निर्माणाधीन आयोजना, एक ग्रिड–जडित सौर्य ऊर्जा आयोजना तथा सर्लाहीस्थित बायोमास उद्योगको नेतृत्व गरिरहेका छन् । ऊर्जा क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका उनले सन् २००० मा ३ मेगावाटको पिलुवा खोला जलविद्युत् आयोजनाबाट आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गरेका थिए ।

हाल उनी रिडी पावर कम्पनी लिमिटेड, साझा पावर कम्पनी लिमिटेड तथा भोजपुर शिवालय हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष हुन् । उनी बकास रिन्युएबल इनर्जी लिमिटेडका संस्थापक समेत हुन्, जसले कृषि तथा जैविक फोहोरबाट बायोमास पेलेट तथा ब्रिकेट उत्पादन गर्दै नेपाललाई जीवाश्म इन्धनको निर्भरताबाट मुक्त गराउने दिशामा योगदान पुर्‍याइरहेका छन् ।

उनकै नेतृत्वमा रुपन्देहीको तिलोत्तमामा नेपालको पहिलो ८.५ मेगावाटको ठूलो ग्राउन्ड–माउन्टेड सौर्य ऊर्जा आयोजना सञ्चालनमा आएको हो । साथै १० मेगावाटको झापा ग्रिड–कनेक्टेड सौर्य आयोजनाको विकासमा समेत उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।

विजयमोहन भट्टराई
सचिव

विजयमोहन भट्टराईसँग जलविद्युत्, उत्पादनमूलक उद्योग, वित्तीय क्षेत्र तथा खुद्रा व्यापारमा तीन दशकभन्दा बढी अनुभव रहेको छ । उनले आफ्नो व्यावसायिक यात्रामा २० भन्दा बढी कम्पनीहरूको नेतृत्व गरिसकेका छन् ।

हाल उनी ग्रीन हाइडेल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हुन्, जसले १४० मेगावाटको भेरी–८ जलविद्युत् आयोजना तथा ४० मेगावाटको भेरी–८ क्यास्केड जलविद्युत् आयोजना विकास गरिरहेको छ ।

त्यसैगरी, उनी मल्टि इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक हुन्, जसअन्तर्गत २० मेगावाटको सञ्चालनमा रहेको लाङटाङ खोला जलविद्युत् आयोजना तथा थप १० मेगावाटको विस्तार कार्य भइरहेको छ । साथै ७.५ मेगावाटको गुप्चे खोला जलविद्युत् आयोजना पनि कम्पनीअन्तर्गत रहेको छ ।
ऊर्जा क्षेत्रबाहेक उनी मरेमखरे रिभर माइनिङ प्रालिका संस्थापक हुन्, जुन वातावरणमैत्री नदीजन्य सामग्री उत्खननका लागि परिचित छ ।

उनी क्यापिटल ब्रिक इन्डस्ट्रिजका प्रवर्द्धक, कास्की फाइनान्स लिमिटेड (हाल कामना सेवा विकास बैंकमा गाभिएको) का संस्थापक तथा नेपाली पश्मिना र गलैंचाको अन्तर्राष्ट्रिय निर्यात व्यवसायमा समेत सक्रिय रहँदै आएका छन् । साथै नेपालका प्रारम्भिक रिटेल चेन स्टोरहरू तथा जडीबुटीजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार सम्भाव्यता अध्ययनजस्ता विविध क्षेत्रमा समेत उनको योगदान रहेको छ ।

सुमन जोशी 
सचिव 

सुमन जोशी ऊर्जा तथा परियोजना व्यवस्थापन क्षेत्रमा स्थापित नेतृत्वकर्ता हुन् । उनी हाल व्हाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशकका रूपमा कार्यरत छिन् ।

उनले आफ्नो व्यावसायिक यात्रा बैंकिङ क्षेत्रबाट प्रारम्भ गरेकी थिइन्, जहाँबाट प्राप्त अनुभव र ज्ञानलाई ऊर्जा तथा पूर्वाधार विकासमा सफलतापूर्वक प्रयोग गरेकी छन् ।

एमबीए उपाधि हासिल गरेकी उनको विशेष रुचि बैंकिङ, परियोजना वित्तीय व्यवस्थापन, परियोजना व्यवस्थापन तथा प्रभावकारी कार्यान्वयनमा रहेको छ ।

हाल उनी हिडी खोला, धौला खोला र स्यानबाङ खोला जलविद्युत् आयोजनाको नेतृत्व गरिरहेकी छन् ।

ऊर्जा क्षेत्रप्रतिको समर्पण, व्यवस्थापकीय दक्षता तथा परिणाममुखी कार्यशैलीका कारण उनी इपान तथा ऊर्जा क्षेत्रकै सम्मानित व्यक्तित्वका रूपमा परिचित छिन् ।

अभिज्ञा मल्ल
सचिव

अभिज्ञा मल्ल नेपालको जलविद्युत् तथा दिगोपन (सस्टेनेबिलिटी) क्षेत्रकी एक गतिशील नेतृत्वकर्ता हुन् । वित्तीय व्यवस्थापन, पूर्वाधार विकास, सुशासन तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारका क्षेत्रमा उनको उल्लेखनीय अनुभव रहेको छ ।

हाल उनी विभिन्न जलविद्युत् कम्पनी, गैरनाफामूलक संस्था तथा विकास पहलहरूमा कार्यकारी तथा सञ्चालक तहमा आबद्ध छिन् । रणनीतिक योजना निर्माण, लगानी व्यवस्थापन, लगानीकर्ता सम्बन्ध, संस्थागत नेतृत्व तथा संगठन विकासमा उनको विशेष दक्षता रहेको छ ।

उनी युनियन हाइड्रोपावर लिमिटेड तथा चेन्ज नेपालकी अध्यक्ष हुन् । यी संस्थामार्फत उनी सार्वजनिक लगानीकर्ताको प्रतिनिधित्व, सुशासन, प्रतिवेदन प्रणाली, जलविद्युत् विस्तार तथा नेपाली कृषि उत्पादन, हस्तकला तथा सिर्जनात्मक उद्योगहरूको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सक्रिय छिन् ।

उनी दूधकोशी नेपाल, युनियन मेवा, आयु मोलुङ तथा पुवाखोला–वान हाइड्रोपावर जस्ता महत्त्वपूर्ण आयोजनाहरूमा संलग्न रहँदै वित्तीय व्यवस्थापन, सार्वजनिक निष्कासन (आइपिओ) पछिको रूपान्तरण, जोखिम व्यवस्थापन तथा दिगो परियोजना विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् ।

त्यसैगरी उनी नेलिस नेपालकी सञ्चालकका रूपमा युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएकी छिन् । साथै एमसिए–नेपालमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै वैकल्पिक सञ्चालक (अल्टरनेटिभ बोर्ड डाइरेक्टर) का रूपमा कार्यरत छिन् ।

यसबाहेक, उनले नेपालका लागि आर्मेनिया गणतन्त्रको कार्यकारी सचिवका रूपमा समेत कार्यरत रहँदै सरकारी निकाय तथा साझेदार संस्थाहरूसँग उच्चस्तरीय समन्वय र कूटनीतिक व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

शंकर बश्याल 
सचिव

शंकर बश्यालसँग वातावरणीय अध्ययन तथा जलविद्युत् विकास क्षेत्रमा ३१ वर्षभन्दा बढी अनुभव छ ।

उनले विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण लाइन आयोजनाहरूका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) तथा संक्षिप्त वातावरणीय अध्ययन (बिएस) सम्पन्न गरेका छन् ।

त्यसैगरी, निर्माणाधीन जलविद्युत् आयोजना तथा प्रसारण लाइनहरूको वातावरणीय अनुगमन तथा व्यवस्थापनमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।

उनीसँग अध्ययन, निर्माण तथा सञ्चालन चरणमा आवश्यक सार्वजनिक समन्वय, सरोकारवाला व्यवस्थापन तथा परियोजना नेतृत्वको उत्कृष्ट अनुभव रहेको छ ।

हाल उनी न्यादी–फेदी जलविद्युत् आयोजनाको सञ्चालक सदस्य, इन्भायरोन्मेन्टल पार्टनर्स प्रालिका प्रबन्ध निर्देशक तथा नेपाल हाइड्रोपावर एकेडेमीका सञ्चालक सदस्यसमेत रहेर जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

 

अनुप आचार्य
कार्यसमिति सदस्य

अनुप आचार्य नेपालको जलविद्युत्, नवीकरणीय ऊर्जा, पूर्वाधार, निर्माण तथा वित्तीय क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका प्रतिष्ठित उद्यमी तथा व्यवसायिक नेतृत्वकर्ता हुन् । हाल उनी सान्भी इनर्जी लिमिटेड, सेतीखोला हाइड्रोपावर लिमिटेड, एम.ए. पावर प्रालि तथा एम.ए. कन्स्ट्रक्सन प्रालिका अध्यक्षको जिम्वारीमा छन् ।

उनको नेतृत्वमा जोगमाई खोला, सेती खोला तथा मर्स्याङ्दी नदी आंशिक जलाशय आयोजनालगायत १४० मेगावाटभन्दा बढी क्षमताका नवीकरणीय ऊर्जा आयोजनाहरूको विकास भई सञ्चालनमा आएका छन् । त्यसैगरी उनी सोलर फार्म नेपाल लिमिटेडका प्रवर्द्धक समेत हुन् ।

ऊर्जा तथा वित्तीय क्षेत्रमा उनले क्लिन इनर्जी डेभलपमेन्ट बैंक लिमिटेड तथा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सञ्चालकका रूपमा समेत योगदान दिएका छन् । परियोजना विकास, पूर्वाधार निर्माण, नवीकरणीय ऊर्जा लगानी, परियोजना वित्तीय व्यवस्थापन तथा संस्थागत नेतृत्वमा उनको अनुभव उल्लेखनीय मानिन्छ ।

इशा श्रेष्ठ
कार्यसमिति सदस्य

इशा श्रेष्ठ नेपालकी एक प्रतिष्ठित ऊर्जा क्षेत्रकी व्यवस्थापक तथा सामाजिक अभियन्ता हुन् । ऊर्जा तथा पूर्वाधार क्षेत्रमा उनको एक दशकभन्दा बढी नेतृत्व अनुभव रहेको छ ।

हाल उनी तुन्डी पावर कम्पनी प्रालिकी उपमहाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) हुन् । उनले राहुघाट मंगले (३५.५ मेगावाट) तथा अपर राहुघाट जलविद्युत् आयोजना (४८.५ मेगावाट) को विकास तथा सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।

उनी निलगिरि खोला हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडकी सञ्चालक सदस्य हुन्, जहाँ उनले निलगिरि खोला–१ (३८ मेगावाट) तथा निलगिरि खोला–२ (६२ मेगावाट) जलविद्युत् आयोजनाहरूको विकास तथा सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

त्यसैगरी, उनी सगरमाथा हाइड्रोपावर कम्पनी प्रालिमार्फत १७१ मेगावाट क्षमताको दूधकोशी–६ जलविद्युत् आयोजनामा रणनीतिक रूपमा संलग्न छिन् । साथै, मान्डु हाइड्रोपावर कम्पनी लिमिटेडमा पनि उनको लगानी तथा सहभागिता रहेको छ ।

ऊर्जा क्षेत्रसँगै इशा श्रेष्ठले सामाजिक समावेशिता, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छन् ।

प्रतिमा ज्ञवाली
कार्यसमिति सदस्य

प्रतिमा ज्ञवाली नेपालको ऊर्जा तथा पूर्वाधार विकास क्षेत्रमा एक सक्षम, दूरदर्शी तथा प्रतिबद्ध नेतृत्वकर्ता हुन् । उनीसँग व्यवस्थापकीय तथा विकाससम्बन्धी क्षेत्रमा एक दशकभन्दा बढी अनुभव रहेको छ ।

कृषि तथा व्यवस्थापन अध्ययन (बिजनेस स्टडिज) को ‍औपचिरक शैक्षिक पृष्ठभूमि भएकी उनले पूर्वाधार विकास, नवीकरणीय ऊर्जा, जलवायु उत्थानशीलता (क्लाइमेट रेजिलेन्स) तथा लैङ्गिक तथा सामाजिक समावेशीकरण (जेसी) सम्बन्धी क्षेत्रमा विशेष दक्षता हासिल गरेकी छिन् । उनले अन्तर्राष्ट्रिय जलविद्युत् केन्द्र (इन्टरनेसनल सेन्टर फर हाइड्रोपावर–आइसिएच) लगायतका संस्थाहरूबाट वातावरणीय, सामाजिक तथा सुशासन (इसिजी), दिगोपना तथा सामाजिक जोखिम मूल्याङ्कनसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू प्राप्त गरेकी छिन् । साथै, ग्रीसमा आयोजित इन्टरप्रेनरसिप बुटक्याम्प लगायतका अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाएर आफ्नो व्यावसायिक क्षमता थप अभिवृद्धि गरेकी छिन् ।

हाल उनी सिग्नेचर इन्जिनियरिङ प्रालिकी प्रबन्ध निर्देशक हुन् । यस भूमिकामा उनले नेपालभर सञ्चालन हुने बहुआयामिक पूर्वाधार आयोजनाहरूको व्यवस्थापन तथा नेतृत्व गरिरहेकी छिन् । यसअघि उनी सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक थिइन् । त्यस कम्पनीमार्फत उनले अपर पिखुवा खोला जलविद्युत् आयोजना (४.९ मेगावाट) तथा पिखुवा पशुपति जलविद्युत् आयोजना (४.१ मेगावाट) को विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

त्यसभन्दा अघि उनी प्रोफेसनल नेटवर्क फर इन्जिनियरिङ सर्भिसेज प्रालिमा वरिष्ठ प्रबन्धक (सिनियर म्यानेजर) का रूपमा कार्यरत रहँदै परियोजना समन्वय, संस्थागत विकास तथा व्यवस्थापनका विविध जिम्मेवारीहरू सफलतापूर्वक सम्हालेकी थिइन् ।

सन् २०२४ मा उनले इन्टिग्रेटेड रुरल डेभलपमेन्ट सेन्टरअन्तर्गत सञ्चालित 'डेभलपिङ क्लाइमेट रेजिलेन्ट लाइभलिहुड्स' कार्यक्रममा जेसी विशेषज्ञका रूपमा कार्य गर्दै जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका समुदायहरूको उत्थानशील जीविकोपार्जन रणनीति निर्माणमा योगदान दिएकी थिइन् ।

दिगो जलविद्युत् विकास, नवीकरणीय ऊर्जा विस्तार तथा समावेशी पूर्वाधार निर्माणप्रतिको उनको प्रतिबद्धता निरन्तर कायम रहेको छ । आफ्नो नेतृत्व क्षमता, रणनीतिक सोच तथा समुदाय–केन्द्रित दृष्टिकोणमार्फत उनले नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रलाई थप दिगो, समावेशी र सुरक्षित बनाउने दिशामा योगदान पुर्‍याइरहेकी छिन् ।

कदम केसी
कार्यसमिति सदस्य

कदम केसी नेपालका सक्रिय जलविद्युत् उद्यमी तथा प्राविधिक विशेषज्ञ हुन् । उनीसँग जलविद्युत् विकास क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव रहेको छ ।

उनले बेलायतको हेरियट–वाट युनिभर्सिटीबाट जियोटेक्निकल इन्जिनियरिङमा स्नातकोत्तर तथा लिभरपुल होप युनिभर्सिटीबाट इन्भायरन्मेन्टल साइन्समा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

हाल उनी दूधकोशी हाइड्रोपावर नेपाल लिमिटेडका अध्यक्ष हुन्, जसअन्तर्गत ७० मेगावाटको दूधकोशी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । साथै उनी २१ मेगावाटको आयु मोलुङ जलविद्युत् आयोजनाको नेतृत्व गरिरहेका छन्, जुन हाल निर्माणको चरणमा छ ।

उनको नेतृत्वमा ४ मेगावाटको पुवा खोला–१ जलविद्युत् आयोजना सफलतापूर्वक निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । 

जलविद्युत् आयोजना विकाससँगै उनी आयोजना डिजाइन, निर्माण व्यवस्थापन तथा प्राविधिक परामर्शका क्षेत्रमा समेत सक्रिय रूपमा संलग्न छन् ।

 

वर्णन लामिछाने
कार्यसमिति सदस्य

वर्णन लामिछाने एक समर्पित उद्यमी, उद्योगी तथा व्यवसायिक नेतृत्वकर्ता हुन् । उनीसँग प्राविधिक इन्जिनियरिङ तथा व्यवसाय व्यवस्थापन दुवै क्षेत्रमा बलियो शैक्षिक तथा व्यावसायिक आधार रहेको छ । उनले काठमाडौँ विश्वविद्यालयबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक तथा अमेरिकाको टेक्सास टेक युनिभर्सिटीबाट एमबीए उपाधि हासिल गरेका छन् ।

ऊर्जा क्षेत्रमा उनी हाल नार खोला जलविद्युत् आयोजनाका परियोजना निर्देशक (प्रोजेक्ट डाइरेक्टर) हुन् । साथै बिजी ग्रुप प्राइभेट लिमिटेडका सञ्चालकका रूपमा २०० मेगावाटभन्दा बढी क्षमताका छवटा जलविद्युत् आयोजनाहरूको निर्माण तथा विकास कार्यको नेतृत्व गरिरहेका छन् । उनको प्रमुख भूमिका जटिल प्राविधिक कार्यान्वयनलाई रणनीतिक व्यावसायिक व्यवस्थापनसँग जोड्दै संस्थागत विकास तथा पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउनु रहेको छ ।

त्यसैगरी, उनी नेक्सस होल्डिङ्स प्राइभेट लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक हुन् । यस संस्थामार्फत उनले आन्तरिक पूँजी परिचालन गर्दै पञ्चथरको ९.९ मेगावाट क्षमताको ह्याबिट्याट पावर प्रोजेक्ट तथा संखुवासभाको ४२.१५ मेगावाट क्षमताको अर्बिट इनर्जी प्रोजेक्ट लगायत नवीकरणीय ऊर्जा आयोजनाहरूमा लगानी सहजीकरण गरेका छन् ।

ऊर्जा क्षेत्रबाहेक उनी अज्ना ल्याबका सञ्चालक हुन्, जहाँ उनी डिजिटल स्वास्थ्य सेवाको प्रवर्द्धनमा संलग्न छन् । साथै गोर्खा ग्राउन्ड्स, एथ्लेक्स स्पोर्ट्स तथा रोबोथिङ्क जस्ता नवप्रवर्तनशील उद्यमहरूमा लगानीकर्ता तथा सह–संस्थापकका रूपमा आबद्ध छन् ।

नेपाल फर्कनुअघि उनले संयुक्त राज्य अमेरिकाको वित्तीय तथा बीमा क्षेत्रमा साइबर सेक्युरिटी इन्जिनियरका रूपमा समेत कार्य अनुभव हासिल गरेका थिए ।

जगतबहादुर पोखरेल
कार्यसमिति सदस्य

जगतबहादुर पोखरेल नेपालका प्रतिष्ठित उद्यमी, दूरदर्शी नेतृत्वकर्ता तथा विकास अभियन्ता हुन् । उनीसँग जलविद्युत्, वित्तीय सेवा, पूर्वाधार,  स्वास्थ्य, सामाजिक उद्यम तथा विकास क्षेत्रसम्बन्धी व्यापक अनुभव रहेको छ ।

उनी बज्र इनर्जी भेन्चर प्रालिका कार्यकारी अध्यक्ष तथा भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष हुन् । यी संस्थामार्फत उनले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन, पूर्वाधार विकास, निजी क्षेत्रको सशक्तीकरण तथा ऊर्जा सुरक्षाको लक्ष्य प्राप्तिका लागि उनको भूमिका उल्लेखनीय रहेको छ । उनले लगानीकर्ता, उद्यमी तथा स्थानीय समुदायबीच सहकार्यको वातावरण सिर्जना गर्दै ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।
जलविद्युत् क्षेत्रबाहेक उनले बैंकिङ, लघुवित्त, बीमा, स्वास्थ्य, सञ्चार तथा सामुदायिक विकासका क्षेत्रमा पनि विभिन्न संस्थाहरू स्थापना तथा नेतृत्व गरेका छन् ।

उनी नेपाल लघुवित्त बैंकर्स संघ (मफान) का पूर्व अध्यक्ष हुन् । साथै विभिन्न वित्तीय संस्थाहरूका संस्थापक अध्यक्ष तथा सञ्चालकका रूपमा कार्य गर्दै वित्तीय पहुँच विस्तार तथा आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

त्यसैगरी, उनी लुम्बिनी केबलकार परियोजनालगायत विभिन्न पूर्वाधार आयोजनाका प्रवर्द्धकका रूपमा समेत परिचित छन् ।

समावेशी नेतृत्व, संस्थागत विकास, पारदर्शी सुशासन तथा क्षेत्रीय आर्थिक विकासप्रतिको उनको प्रतिबद्धताले उनलाई नेपालको निजी क्षेत्र तथा ऊर्जा क्षेत्रका सम्मानित नेतृत्वकर्तामध्ये एकका रूपमा स्थापित गरेको छ । विभिन्न सामाजिक संस्था, सार्वजनिक सरोकारका मञ्च तथा राष्ट्रिय नेतृत्व तहमा उनको सक्रिय सहभागिताले देशको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३