काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १६औँ वार्षिक साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । नयाँ सञ्चालक समितिको निर्वाचनका लागि कम्पनीले अघि बढाएको निर्वाचनको उम्मेदवारी प्रक्रियामा कुनै पनि पदमा दोस्रो प्रतिस्पर्धीको उम्मेदवारी नपरेपछि सञ्चालक समिति निर्विरोध निर्वाचित भएको हो । भगवतीबहालस्थित लिसारा रिसेप्सनमा सोमबार सम्पन्न साधारण सभामा निर्वाचित नयाँ सञ्चालक समितिको घोषणा गरिएको हो । जसअनुसार केसाङ डिकी लामा (महिला), तेन्जिन जम्पे लामा, छेतेन वाङ्गेल खाङ्कर लामा र बाबुराम खड्का (स्वतन्त्र विज्ञ) सञ्चालक निर्वाचित भएका छन् ।
कम्पनीमा यसअघि ७ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था रहेकोमा साधारण सभाले सानो आकारको नयाँ सञ्चालक समिति गठन गरेको हो । नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले कार्यकारी सञ्चालक चयन गर्ने बताइएको छ ।
साधारण सभाले कम्पनी सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को सोह्रौँ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, सोही आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा–नोक्सान हिसाब तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । त्यसैगरी, कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा (१) (ख) अनुसार आवश्यक निर्णय गर्ने तथा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्तावसमेत पारित गरेको छ ।
साधारण सभामा १३ जना सेयरधनीले लिखित तथा मौखिक रूपमा आ–आफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए । उनीहरूले कम्पनीलाई कर्जामुक्त बनाई चाँडो लाभांश वितरण गर्न सक्ने बनाउनुपर्ने, सबै सूचना प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने, सेयरको कारोबारमार्फत मात्र नभई सेयरधनीले जलविद्युत् उत्पादनबाट नाफा कमाउने वातावरण बनाउनुपर्ने, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्ने जस्ता सुझाव राखेका थिए ।
सेयरधनीले राखेका जिज्ञासा तथा सुझावहरूलाई सम्बोधन गर्दै कम्पनीका वित्तीय सल्लाहकार सिए नारायण पौडेलले कम्पनीले निर्माण गरिरहेको खानी खोला–१ जलविद्युत् आयोजनाबाट फागुनभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए । आयोजनाको ९८ प्रतिशत निर्माण सकिएको र बाँध, पेनस्टक पाइप, विद्युत्गृहमा रहेका उत्पादन युनिटका मेसिनहरू सबैको परीक्षण भइरहेको सकेसम्म छिटो बिजुली उत्पादन सुरु गर्ने उनको भनाइ थियो । त्यस्तै, पहिलो चरणमा २५ मेगावाट उत्पादन सुरु गरेपछि एक वर्षभित्रै अर्को १५ मेगावाटसमेत सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।
अघिल्ला ३ आर्थिक वर्षको वार्षिक साधारण सभा गत कात्तिकमा मात्रै सम्पन्न गरेको र प्रक्रियागत कारणले साधारण सभा पुस मसान्तभित्र नभई माघमा गर्नुपरेको समेत उनको भनाइ थियो । कम्पनीको क्रेडिट रेटिङ गराई हकप्रद सेयरसमेत चाँडै जारी गरिने उनले बताए ।
कम्पनीले दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा ४० मेगावाटको खानीखोला–१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दुई चरणमा निर्माण भइरहेको उक्त आयोजनाको विद्युत् जडान गरिने सिंगटी सबस्टेसनको समेत निर्माण पूरा भइसकेको छ ।
२५ मेगावाटको खानी खोलाकै संरचनामा स्थानीय हनपु खोला र नाप्के खोलाको पानी मिसाएर थप १५ मेगावाट विद्युत् उत्पादन गर्ने कम्पनीले जनाएको छ । हाल निर्माण गरिरहेको २५ मेगावाटको आयोजनाको आधारभूत संरचना ४० मेगावाटमै डिजाइन र निर्माण गरिएकोले थप हुने १५ मेगावाट निकै कम लागतमा १ वर्षभित्रै सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ ।