काठमाडौँ । विद्युत् क्षेत्रको नियमनकारी निकाय विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष र सदस्य पद पूर्तिका लागि आवेदन दिने उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक भएको छ । ‘विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समिति’ले बिहीबार (जेठ गते) उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।
सिफारिस समितिले गत वैशाख २१ गते दरखास्त आह्वान गरेकोमा आवेदन दिने अन्तिम मिति जेठ २१ गतेसम्म रहेको अध्यक्ष तथा ४ सदस्य (एक महिला) मा नियुक्ति लिन ३२ जनाको आवेदन परेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनार तोकिएको समयावधिभित्र आयोगको नेतृत्वका लागि जलविद्युत्, अर्थ, कानुन तथा प्रशासन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले आवेदन दर्ता गराएका छन् ।
मन्त्रालयका अनुसार आयोग अध्यक्षका लागि १० जना र सदस्यका लागि २२ जनाले प्रतिस्पर्धामा भाग लिएका छन् । आयोगको नीतिगत र कार्यकारी नेतृत्व सम्हाल्ने अध्यक्षका लागि पूर्वप्रशासक, इन्जिनियर तथा डाक्टर उपाधि प्राप्त विज्ञहरूसमेत मैदानमा उत्रिएका छन् । अध्यक्षका लागि आवेदन दिनेहरूमा रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटुवाल, डा. मधुसुधन अधिकारी, रामेश्वरप्रसाद कलवार, मोतीबहादुर कुँवर, डा. शान्तिकला सुवेदी, डा भोलानाथ शर्मा अधिकारी र नारायणप्रसाद सापकोटा रहेका छन् ।
डा. धिताल यसअघि पनि आयोगको अध्यक्ष तथा सदस्यको जिम्मेवारी सम्हालिसकेका अनुहार हुन् । उनी आयोग गठन भएपछिको पहिलो कार्यकालमा सदस्यको जिम्मेवारीमा रहेर करिब ३ वर्ष काम गरेर राजीनामा दिएका थिए । यस्तै, दोस्रो पटक उनी अध्यक्षको पद सम्हाल्न पुगेका थिए । बालेन सरकार गठनसँग जारी भएको अध्यादेशका कारण उनी सहितका सदस्यहरू बर्खास्तीमा परेका थिए ।
यसैगरी, पूर्वसचिव भेटुवाल सरकारी सेवाबाट अवकास भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को सल्लाहाकारको भूमिकामा देखिँदै आएका छन् । मधुसुधन अधिकारी बर्खास्तीमा परेका यसअघिका आयोग सदस्य हुन् भने कलवाल पहिलो पदाधिकारीका सदस्य हुन् । यस्तै, कुँवर सहित अन्य अनुहार पनि विगतमा कुनै न कुनै सरकारी उच्च ओहोदामा बसेर काम गरिसकेका अनुहार हुन् ।
मन्त्रालयका अनुसार सदस्यका लागि २२ जना विज्ञहरूले आवेदन दिएका छन् । आवेदकहरूमा डा. शेखर अर्याल, राजिवकुमार सिंह, जयराज भण्डारी, विज्ञान श्रेष्ठ, नरेन्द्रसिंह भण्डारी, रुद्रप्रसाद सिटौला, ब्रजमोहन झा, सुरेशबहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमकप्रसाद शर्मा, विशाल सिलवाल, बलराम सिलवाल, राजीव दाहाल, निरज्वल बस्नेत, दिवाकर मल्लिक, अर्जुनकुमार गौतम, नारायणप्रसाद सापकोटा, कल्पमोहन सोती, शान्तीकला सुवेदी र कुशेश्वरप्रसाद साहु रहेका छन् ।
रोचक कुरा के छ भने, नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदीले अध्यक्ष र सदस्य दुवै पदका लागि आवेदन दिएका छन् । यस्तै, झमकप्रसाद शर्मा पनि यस अघि बर्खास्तीमा परेका आयोग सदस्य हुन् । अन्य अनुहार पनि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग लगायत सरकारी निकायबाट अवकास भएका अनुहार हुन् ।
सिफारिस समितिले प्राप्त आवेदनहरूको प्राविधिक मूल्यांकन, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका माध्यमबाट योग्य उम्मेदवारको संक्षिप्त सूची तयार गरी मन्त्रिपरिषद्मा नियुक्तिका लागि सिफारिस गर्ने छ । मन्त्रालयले सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा सहसचिव सागरराज गौतम र स्वतन्त्र विज्ञ सतिषनारायण जोशी सम्मिलित सिफारिस समिति गठन गरेको छ ।
उम्मेदवारहरूको पूर्ण विवरण निम्न अनुसार छ:
अध्यक्षमा आवेदन दिनेहरूको नामावली
| क्र.स. | आवेदनकर्ताको नाम/थर | ठेगाना |
| १. | ई. रुद्र प्रसाद गौतम | भरतपुर म.न.पा.-५ |
| २. | केशव अधिकारी | ललितपुर-११ |
| ३. | डा. रामप्रसाद धिताल | सिन्धुपाल्चोक |
| ४. | रामेश्वर प्रसाद कलवार | पर्सा न.पा. |
| ५. | मधुप्रसाद भेटवाल | काठमाडौँ |
| ६. | मोतीबहादुर कुँवर | काठमाडौँ |
| ७. | डा. मधुसुधन अधिकारी | का.म.न.पा.-३ |
| ८. | डा. भोलानाथ शर्मा अधिकारी | गोरखा-१०, गोरखा |
| ९. | नारायणप्रसाद सापकोटा | भरतपुर वडा नं.-२ |
| १०. | डा. शान्तिकला सुवेदी | नागार्जुन न.पा. |
सदस्यमा आवेदन दिनेहरूको नामावली
| क्र.स. | आवेदनकर्ताको नाम/थर | ठेगाना |
| १. | डा. शेखर अर्याल | गोकर्णेश्वर-६ |
| २. | राजिवकुमार सिंह | मनरा न.पा., महोत्तरी |
| ३. | निरज्वल बस्नेत | उदयपुर |
| ४. | रुद्रप्रसाद सिटौला | का.म.न.पा.-५ |
| ५. | जयराज भण्डारी | बत्तिसपुतली, काठमाडौँ |
| ६. | ब्रजमोहन झा | महोत्तरी, न.पा.-८ |
| ७. | सुरेशबहादुर भट्टराई | धनकुटा (हाल: जोरपाटी) |
| ८. | प्रकाश ज्ञवाली | तानसेन-४, पाल्पा |
| ९. | लोकराज पाठक | का.म.न.पा.-३ |
| १०. | रामप्रसाद गौतम | गुल्मी |
| ११. | झमकप्रसाद शर्मा | संखुवासभा |
| १२. | बिशाल सिलवाल | पर्सा |
| १३. | बलराम सिलवाल | धादिङ |
| १४. | राजिव दाहाल | दमक-१२, झापा |
| १५. | विज्ञान श्रेष्ठ | काठमाडौँ |
| १६. | दिवाकर मल्लिक | महोत्तरी |
| १७. | अर्जुनकुमार गौतम | मध्यपुर थिमी-१, भक्तपुर |
| १८. | नरेन्द्रसिंह भण्डारी | काठमाडौँ |
| १९. | नारायण प्रसाद सापकोटा | भरतपुर म.न.पा.-१२ |
| २०. | कल्पमोहन सोती | का.म.न.पा.-३ |
| २१. | शान्तिकला सुवेदी | नागार्जुन न.पा. |
| २२. | कुशेश्वर प्रसाद साहु | डाक्नेश्वरी, सप्तरी |
स्रोत: विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समिति