काठमाडौँ । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र लेदो र पानीबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुँदा त्यो क्षेत्र सुरक्षित रहेको अनुमान गरिएको छ । यसबाट त्यहाँभित्र फसेका व्यक्तिहरूको उद्धार गर्ने सम्भावना देखिएको छ ।
इन्जिनियर तथा सांसद श्रीराम न्यौपानेका अनुसार पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा र ठूला चट्टानले अवरोध गरेकाले सुरुङ भित्र लेदो र पानीबाहेक ठूला ढुंगा प्रवेश नगरेको प्रारम्भिक अनुमान छ । १६० मिटर लामो ‘केबल डक्ट टनेल’ सफाइ तथा पहिरो पन्छाउने कार्य २४ सै घण्टा निरन्तर रूपमा भइरहेको छ ।
टनेलको निकास क्षेत्र (पोर्टल एरिया) मा थुप्रिएका दुई दर्जनभन्दा बढी ठूला चट्टान (बोल्डर) हरू विस्फोट गराएर हटाइसकिएको न्यौपानेले बताएका छन् । साथै, गत भाद्र १३ गतेदेखि दैनिक दुई वटा एक्साभेटर परिचालन गरी पाँच दिनको अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा ठूला चट्टानहरू पन्छाइएको छ ।
हालसम्म पोर्टलको ‘टप फेस क्राउन’ भन्दा करिब २.५ मिटर तलसम्मको ५० मिटर लामो भाग सफा भइसकेको छ । ५.५ मिटर अग्लो सुरुङको बाँकी करिब ३ मिटर गहिराइमा ‘एक्सेस’ तथा ‘ड्रेनेज’ निर्माण सम्पन्न भएपछि मात्र भित्र जम्मा भएको लेदो हटाउने कार्य सुरु गरिने उनले बताएका छन् ।
सुरुङको प्रवेशद्वारमा करिब १ मिटर भित्रसम्म लेदोले भरिएको देखिएको छ । तर, सुरुङबाट हाल प्रतिसेकेन्ड करिब २ लिटरका दरले बिनादबाब पानी बाहिर निस्किरहेकाले भित्र पानी नजमेको सङ्केत मिलेको छ ।
१६० मिटर लामो सुरुङमध्ये ६० मिटरपछि एउटा घुम्ती (बेन्ड) रहेको र पावरहाउसतर्फको भाग उकालो (अपवर्ड्स ग्रेडियन्ट) भएकाले सुरुङको भित्री भाग सुरक्षित र सामान्य अवस्थामै रहेको अनुमान गरिएको इन्जिनियर न्यौपानेले जानकारी दिए ।
घटनास्थलसम्म सडक पहुँच नभएकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री ढुवानी गर्न हेलिकप्टरमै निर्भर हुनुपरेको छ । यसले गर्दा केही समय लाग्ने स्थिति रहे तापनि सम्पूर्ण कामलाई तीव्र गतिमा अघि बढाइएको बताइएको छ ।