काठमाडौँ । करिब साढे ३ दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहेर नेपाल तथा विदेशमा समेत काम गर्दै आएका ऊर्जाविद् बाबुराम भारद्वाजले नवगठित बालेन्द्र शाह सरकारलाई तुरुन्त तमोर जलाशय जलविद्युत् आयोजना निर्माणमा लैजान सुझाव दिएका छन् ।
देशको ऊर्जा सुरक्षा र गुणस्तरीय विद्युत् आपूर्तिका लागि जलाशय आयोजनाको विकल्प नरहेको भन्दै उनले उक्त सुझाव दिएका हुन् । भारद्वाजले सामाजिक सञ्जाल फेसबुकमा केही विवरण उल्लेख गर्दै उक्त आयोजना तुरुन्त कार्यान्वनमा जानुपर्नेमा जोडसमेत दिएका छन् ।
भारद्वाजले सामाजिक सञ्जालमा उल्लेख गरेको विवरण केही सम्पादन गरी तल प्रस्तुत गरिएको छ :
ऊर्जा क्षेत्रको विकासमा तुरुन्तै एक नम्बर प्राथमिकताका साथ निर्माणमा लैजान तमोर जलाशय आयोजना सिफारिस तथा अनुरोध गर्दछु । जुन विषय मैले सन् २०२४ मा तत्कालीन सरकारलाई समेत ध्यानाकर्षणसमेत गराएको थिएँ । नेपाल विद्युत् प्राधिकरणको सन् २०१३ को अध्ययनअनुसार यसलाई सजिलै कार्यान्वयनमा लैजान सकिने छ ।
प्रस्तावित तमोरको ढाँचालाई अझ बढी प्रभावकारी बनाउन मैले गरेको अध्ययन र त्यसबाट प्राप्त परिमार्जित नतिजाहरू यहाँ प्रस्तुत गरिएको छ । प्राधिकरणले सन् २०१३ मा गरेको अध्ययनलाई आधार मानी, आयोजनाको डिजाइन र क्षमतामा केही महत्त्वपूर्ण हेरफेर (र-डिजाइन) गर्न आवश्यक देखिन्छ । जसअनुसार परिमार्जित मुख्य विशेषताहरू निम्नानुसार छन्:
मुख्य प्राविधिक विशेषताहरू
• बाँधको प्रकार: अभेद्य भित्री भाग (Impervious Core) भएको चट्टानी बाँध (Rockfill Dam)
• बाँधको माथिल्लो सतह (Crest Level): ६१० मिटर (समुद्र सतहबाट)
• अधिकतम जलस्तर (Full Supply Level): ६०० मिटर
• न्यूनतम सञ्चालन स्तर (Min. Operation Level): ५४८ मिटर
• उपयोगी मौज्दात क्षमता (Live Storage): ६ अर्ब ८४ करोड ३० लाख घनमिटर (MCM) - विद्युत् उत्पादनका लागि प्रयोग हुने
• टेल वाटर लेभल (Tail Water Level): ३५२ मिटर
• टर्बाइनको सेन्टर लाइन लेभल (Turbine CL Level): ३४७ मिटर
• डिजाइन बहाव (Design Discharge): ७४४ घनमिटर प्रति सेकेन्ड
• कुल हेड (Gross Head): २४८ मिटर (६०० – ३५२ = २४८ मिटर)
• जडित हेड (Rated Net Head): २२५ मिटर
• जडित क्षमता (Installed Capacity): १,४४३ मेगावाट
• टर्बाइन विवरण: २४०.५० मेगावाटका ६ वटा भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइनहरू (कुल १,४४३ मेगावाट)
• जगदेखि बाँधको उचाइ: २६५ मिटर
विद्युत् गृह सञ्चालन मोड (Power Plant Operation Mode)
१. सुख्खा महिना (मंसिरदेखि जेठसम्म - ६ महिना वा नोभेम्बर मध्यदेखि मध्य मे महिनासम्म): दैनिक १० घन्टा पूर्ण क्षमतामा
२. वर्षातका महिना (जेठदेखि मंसिरसम्म - ६ महिना वा मे मध्यदेखि मध्य नोभेम्बरसम्म): दैनिक ४ घन्टा पूर्ण क्षमतामा
ऊर्जा उत्पादन (Energy Generation):
• सुख्खायामको ऊर्जा: २,६११.८३ गिगावाट घन्टा
• वर्षायामको ऊर्जा: १,०६२.०४८ गिगावाट घन्टा
• वार्षिक कुल ऊर्जा: ३,६७३.८७८ गिगावाट घन्टा
अनुमानित लागत
• आयोजनाको अनुमानित कुल लागत (निर्माण अवधिको बैंक ब्याजसहित): करिब १ अर्ब ९० करोड अमेरिकी डलर