काठमाडौँ । रात्रिकालीन फोहर व्यवस्थापनका लागि नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा बत्ती जडान गर्ने कार्य सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल साइटमा बत्ती जडानका लागि स्टिल पोलहरू पुर्याएको छ । अब पोल गाडेर बत्ती जडान गरिने केन्द्रले जनाएको छ ।
स्थानीयले उक्त क्षेत्रमा फोहर लैजान अवरोध गरेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार उक्त क्षेत्रको भ्रमण गरी स्थानीयसँग त्यस क्षेत्रमा तुरुन्तै बत्ती जडान गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ती जडानका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए । यसैगरी, फोहोरबाट निस्कने लिच्चड व्यवस्थापनका लागि आवश्यक उपकरण जडान गर्न पम्प साइटमा आपूर्ति गरिसकिएको पनि जनाइएको छ ।