मोरङ । कोशी प्रदेश सरकार अन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले विभिन्न डिभिजन कार्यालयमा कार्यरत इञ्जिनियर, सब–इञ्जिनियर तथा प्राविधिक कर्मचारीलाई लक्षित ३ दिने ‘सौर्य लिफ्टिङ प्रणाली डिजाइन तथा लघु जलविद्युत् आयोजना मर्मत–सम्भार सीप विकास तालिम’ सुरु गरेको छ । तालिममा प्रदेशभरका डिभिजन कार्यालयहरूबाट जम्मा २६ जना प्राविधिक कर्मचारी सहभागी भएका छन् ।
सौर्य लिफ्टिङ प्रणाली, लघु जलविद्युत् आयोजना डिजाइन, सञ्चालन तथा मर्मत–सम्भारसम्बन्धी व्यवहारिक सीप अभिवृद्धि गर्ने तालिमको मुख्य लक्ष्य रहेको आयोजकहरूले बताएका छन् । तालिम सञ्चालनका लागि जिआइजेड नेपाल अन्तर्गतको रिप–ग्रीन कार्यक्रमले सहयोग प्रदान गरेको छ । रिप–ग्रीन कार्यक्रमले प्रदेश सरकार तथा स्थानीय तहलाई नवीकरणीय ऊर्जा प्रवर्द्धन, योजना निर्माण, नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि प्राविधिक परामर्श तथा कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको छ ।
तालिमले सहभागी प्राविधिकहरूमा सौर्य ऊर्जा तथा लघु जलविद्युत् आयोजनामा आवश्यक प्राविधिक दक्षता वृद्धि गर्ने, योजना कार्यान्वयन प्रभावकारी हुने तथा ग्रामीण क्षेत्रमा दिगो ऊर्जा पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
मोरङको बिराटचोकस्थित होटल नेपालीरिकामा सञ्चालन गरिएको तालिम मंसिर १६ गते सुरू भई १८ गतेसम्म चल्ने छ । तालिमको उद्घाटन प्रदेश मन्त्री एकराज कार्कीले गरेका थिए । उद्घाटन समारोहको अध्यक्षता मन्त्रालयका सचिव पुष्करप्रसाद पोखरेलले गरे भने महाशाखा प्रमुख कृष्णप्रसाद राजवंशीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।