विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ठूला पूर्वाधार निर्माणका क्रममा केही समयदेखि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए तथा आईई)बारे चर्चामात्र होइन विवादसमेत सतहमा देखापरेका छन् । त्यसबाहेक सामाजिक र सांस्कृतिक पक्ष पनि आयोजना निर्माण र सञ्चालनका क्रममा महत्वपूर्ण हुन्छन् । वातावरण र सामाजिक प्रभावको व्यवस्थापनलाई समग्रमा सुरक्षणका रूपमा लिइन्छ ।

यस्ता सन्दर्भहरू पूर्वाधार निर्माणका सहायक तत्व हुन् । तर वातावरण र सामाजिक प्रभावको उचित तथा यथार्थपरक सम्बोधन नहुँदा समग्र आयोजना निर्माण र सञ्चालनमा अनेक  व्यवधान आउने गर्छन् ।

आयोजना निर्माण गर्नुपूर्व त्यसको सञ्चालन तथा निर्माणको क्रममा पर्न सक्ने उल्लिखित दुईखाले प्रभावलाई मूल्याङ्कन गर्नुपर्छ । र, त्यसलाई घटाउने, हटाउने वा त्यसो गर्न नसक्ने अवस्थामा क्षतिपूर्ति दिने व्यवस्था गर्ने तथा आयोजना सञ्चालनको क्रममा कार्यजन्य वा सामुदायिक स्वास्थ्यमा पर्न सक्ने प्रभावको समेत उचित व्यवस्थापन गर्नुपर्छ । आयोजना निर्माण र सञ्चालनको क्रममा स्थानीय सरोकारवालाको सहयोग र अपनत्वसहितको दिगो पूर्वाधार विकास गर्न सहयोग पुग्ने गरी सुरक्षणको अवधारणा अघि सार्नुपर्छ । विकास साझेदार तथा राज्यको नीति–नियमले पनि सुरक्षणका आफ्नाआफ्ना उपाय अङ्गीकार गरेको हुन्छ । अनुदान तथा ऋण प्रवाहमार्फत पूर्वाधार विकास गर्दैगर्दा सुरक्षणका नीति–नियमहरू पूर्णरूपमा कार्यन्वयन गरिनुपर्छ ।

विकास पूर्वाधार निर्माणका क्रममा गरिने वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कनलाई २०५३ सालमा आएको वातावरण संरक्षण ऐन तथा २०५४ को नियमावलीमा टेकेर कानुनी रुप दिइएको हो । हाल नयाँ वातावरण संरक्षण ऐन २०७६ र नियमावली २०७७ लागू गरिएको छ ।

विकास परियोजना र कार्यक्रमहरूमा वातावरणीय तथा सामाजिक प्रभावको दायरा ठूलो हुन्छ । यी प्रभावहरूलाई समग्रमा लाभदायक तथा प्रतिकूल भनी मूल्याङ्कन गरिन्छ । लाभदायक प्रभावले आयोजनाका क्रियाकलापहरूलाई उचित ठहराउँछ र आयोजनाबाट लिन सकिने फाइदा थप बढाउन सक्ने हुन्छ ।

प्रतिकूल प्रभावले चाहिँ आयोजनाका कारण सामाजिक तथा आर्थिक वातावरणमा पर्न सक्ने नकारात्मक असर देखाउँछ । यसलाई वातावरण वा पारिस्थितिक प्रणालीमा पर्न सक्ने नकारात्मक प्रभावका रूपमा लिइन्छ । यो प्रत्यक्ष मानवजीवनसँग जोडिएको पनि हुन सक्छ । आयोजनाको कार्यान्वयन चरणमा यस्ता प्रभावहरूलाई न्यूनीकरण गर्ने उपाय अपनाउनुपर्छ । विकास आयोजनामा नै प्रतिकूल प्रभावहरूबाट बच्न वा न्यूनीकरणका लागि त्यसको मूल्याङ्कन गर्न र विभिन्न उपाय अवलम्बन गर्न प्रयोग गरिने संयन्त्रलाई सुरक्षण भनिन्छ ।

सामाजिक सुरक्षणका पनि विविध आयाम छन् । जग्गा प्राप्तिदेखि सम्बन्धित क्षेत्रका आदिवासी तथा धार्मिक र सामाजिक अवस्था जस्ता क्षेत्रमा पर्न सक्ने प्रभावलाई पनि सुरक्षणअन्तर्गत नै  हेरिन्छ । समाजमा भइरहेका र हुन सक्ने क्रियाकलापहरूलाई आयोजना निर्माण र सञ्चालनका क्रममा महत्वका साथ हेरिनुपर्छ । सबैखाले प्रभावको उचित व्यवस्थापन गर्न नसक्ने हो भने आयोजना निर्माण तथा सञ्चालनमा अकल्पनीय क्षति हुन सक्छ ।

सुरक्षणले विकासको महत्वपूर्ण आयामलाई प्रतिनिधित्व गर्दछ । नेपालमा दिगो विकास र गरिबी न्यूनीकरणका लागि वातावरणीय व्यवस्थापन महत्वपूर्ण छ । वातावरण संरक्षणको लागि प्रतिबद्ध प्रयासबिना राष्ट्रको भूमि, वन, जलप्रणाली, सिमसार क्षेत्र, पारिस्थितिक प्रणाली र अन्य प्राकृतिक स्रोत तथा  गरिब जनताको जीविकोपार्जनको लागि निर्भर रहने प्राकृतिक स्रोतहरूमा धेरै दबाब जारी रहनेछ ।

वातावरणीय र सामाजिक सुरक्षाको उद्देश्य परियोजनाहरूको पर्यावरणीय सुदृढता र दिगोपन सुनिश्चित गर्ने, सामाजिकरूपमा स्वीकार्य र परियोजना निर्णय प्रक्रियामा वातावरणीय विचारहरूको एकीकरणलाई समर्थन गर्ने लक्ष्य राखिएको छ । सुरक्षण नीतिले सरकारलाई परियोजना प्रभावहरू पहिचान गर्न र त्यसको महत्वको मूल्याङ्कन गर्न निर्देशन दिन्छ । वातावरण प्रभावको हैसियतमा आयोजनाको विकल्प जाँच र वातावरणीय व्यवस्थापन योजनाहरू तयार गर्ने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने कार्य अनिवार्य तत्व हुन् । सुरक्षणको नियमनले विकास साझेदार र सरकारलाई परियोजनाबाट प्रभावित हुने सम्भावित व्यक्तिहरूसँग परामर्श गर्न तथा सहज भाषामा आयोजनाबारे आवश्यक जानकारी दिन मद्दत गर्छ ।

सुरक्षण प्रक्रियाले  सामाजिक र वातावरणीय अवसरका साथै लाभहरूलाई अधिकतम बनाउँछ । यसले प्रतिकूल सामाजिक र वातावरणीय जोखिम तथा प्रभाव न्यूनीकरण सुनिश्चित गर्छ । नेपालमा सुरक्षणका सबै प्रक्रियालाई एउटै ढोकाबाट हेर्ने नियामक कानुनी प्रावधानको अभाव छ र यसो गर्ने कुनै निकाय पनि छैन ।

नेपालमा विश्व बैङ्क, एसियाली विकास बैङ्क, अमेरिकी सहयोग नियोग, एसियाली पूर्वाधार विकास बैङ्क तथा संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमलगायत विकास साझेदारको वातावरण र सामाजिक सुरक्षा नीतिको प्रयोग भइरहेको देखिन्छ ।

–यी र यस्ता सुरक्षण नीतिमार्फत विकास साझेदारले आफ्नो निर्णय र कार्यको स्थिरता, पारदर्शिता र जवाफदेहितालाई बढाउँछ, कार्यसम्पादनमा सुधार गर्छ र दिगो विकास परिणामहरूको उपलब्धिलाई बलियो बनाउँछ ।

– सुरक्षण नीति–नियम र प्रक्रियाहरूले सैद्धान्तिक दृष्टिकोण सुनिश्चित गरी कार्यक्रमको गुणस्तरलाई बलियो बनाउँछ ।

– अधिकतम सामाजिक र वातावरणीय अवसर तथा लाभ बढाउँछ । 

– मानिस र वातावरणलाई सम्भावित प्रतिकूल प्रभावहरूबाट बचाउँछ । 

– कतिपय अवस्थामा प्रतिकूल प्रभावहरूलाई न्यूनीकरण र व्यवस्थापन गर्ने कार्य गर्दछ । 

– सामाजिक र वातावरणीय जोखिमहरू व्यवस्थापन गर्न  साझेदार निकायहरूको क्षमतालाई बलियो बनाउँछ ।

– परियोजना प्रभावित व्यक्तिहरूको गुनासोको जवाफ दिने संयन्त्रमार्फत पूर्ण र प्रभावकारी सरोकारवाला संलग्नता सुनिश्चित गर्छ ।

वातावरण र सामाजिक सुरक्षण नीतिहरूले आयोजनाको  प्रारम्भिक मूल्याङ्कनका क्रममै शुरूदेखि सञ्चालनको अवस्थासम्मका प्रभावहरू पहिचान गर्छ । र, त्यसको न्यूनीकरण गर्ने, क्षतिपूर्ति दिने उपाय अवलम्बन गर्छ । आयोजनाको तयारी र कार्यान्वयन गर्दा प्रभावित व्यक्तिसँग उचित परामर्श वा छलफल गर्नुपर्ने हुन्छ । विदेशी सहयोग वा निजी क्षेत्रबाट सञ्चालित परियोजनामा सबै पक्षलाई सहभागी गराउनुपर्छ । परियोजना सञ्चालन निर्देशिकामै विस्तृत रूपमा यो काम गरिनुपर्छ ।

र, कार्यान्वयन प्रक्रिया निम्नानुसार गर्नुपर्छ 

(क) परियोजना पहिचान भएपछि परियोजना चक्रभरि नै मुख्य मुद्दाहरू शुरू हुन्छन् ।

(ख) प्रभाव मूल्याङ्कन गरेर त्यसको न्यूनीकरणका निम्ति सुरक्षा योजनाका उपाय अपनाउनुपर्छ ।

(ग) अनुगमन कार्यक्रम तथा त्यसमा लागि संस्थागत व्यवस्था गरिएको हुनुपर्छ ।

(घ) परियोजना डिजाइन र कार्यान्वयनमा सुरक्षा उपायहरूलाई एकीकृत गरी बनाइएको हुनुपर्छ । 

(ङ) प्रभावित मानिसहरूसँग परियोजनाको तयारी र कार्यान्वयनको क्रममा परामर्श लिइन्छ र सबै जानकारी स्थानीयले बुझ्ने भाषमा सार्वजनिक गरिन्छ । 

(च) परियोजना चक्रका विभिन्न चरणमा सुरक्षा योजनाहरू खुलासा गरिएको हुनुपर्छ र त्यसलाई अद्यावधिकसमेत गरिनुपर्छ । 

र, नीतिहरूमा केही अस्पष्टता वा दोहोरोपन र असङ्गत भएमा स्पष्ट पार्नुपर्छ । उदाहरणका लागि, 

– वातावरणीय मूल्याङ्कनमा सामाजिक तत्वहरू स्पष्ट खुल्नुपर्छ ।

– पुनर्वास नीतिमा आदिवासी जनजाति सम्बन्धी कुरा पनि समेटिनुपर्छ । 

– ऋण उपकरणलगायत समग्र नीतिलाई खुलासा गर्नु र त्यसका लागि परामर्शसमेत गर्नुपर्छ ।

सामाजिक र वातावरणीय तहमा प्रस्तावित आयोजनाले पार्न सक्ने तमाम प्रभावलाई स्पष्टरूपमा खुलाउँदै बजेट, जिम्मेवारी तथा अनुगमन गर्ने निकायबारे जानकारीका अतिरिक्त प्रभाव व्यवस्थापन योजनासहितको प्रतिवेदनलाई सुरक्षण प्रतिवेदन भनिन्छ ।

याे आलेख २०८० असार १ गते प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाबाट साभार गरिएकाे हाे ।

(पोखरेल, वातावरणविद् हुन् )

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३