विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणालीको गुणस्तर सुधारका लागि निर्माणाधीन संरचनाहरू एक वर्षभित्र सम्पन्न गर्न नसके आगामी वर्षको हिउँदमा ‘फोर्स लोडसेडिङ’ हुने अवस्था आउने देखिएको छ । विद्युत माग बढ्दै जाने तथा आपूर्ति हुने संरचनाहरू ओभर लोड हुने समस्याका कारण अर्को हिउँदमा विद्युतीय संरचना अभावमा ‘फोर्स लोडसेडिङ’ हुने खतरा बढेको हो ।

नेपाल विद्युत प्राधिकरणले उपत्यकाको माग र आपूर्ति व्यवस्थापनमा समस्या बढ्दै गएपछि अहिले निर्माणमा रहेका विद्युतीय संरचना चाँडै सम्पन्न गर्न पहल सुरु गरेको हो । उपत्यकामा चिसो बढेसँगै विद्युत खपत बढ्दा वितरण प्रणालीमा समस्या आउँदा ट्रान्सफर्मर पड्किने, जथाभावी बत्ती काटिने र आपूर्ति सुचारु हुन घन्टौं लाग्ने गरेको छ । हरेक वर्ष आउने यस्ता समस्याका कारण ग्राहकले सधैं सास्ती खेप्नु परिरहेको छ ।

अगामी वर्षको हिउँद सुरु हुनुभन्दा पहिले नै निर्माणाधीन प्रसारण र वितरण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङले आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु र परामर्शदाता समक्ष आग्रह गरेका छन् । 

‘निर्माणाधीन सबै सबस्टेसन अर्को वर्षको हिउँद अगाडि सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी काम गर्नुपर्यो,’ उनले भने, ‘यो अवधिमा संरचना तयार भएनन् भने पूर्वाधार अभावमा माग अनुसार विद्युत आपूर्ति गर्न नसकिने हुँदा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्छ । यस्ता संवेदनशील आयोजनाहरू निर्माणमा सबै गम्भीर बनेर सम्पन्न गरौं ’

उनले निर्माणाधीन सबै आयोजनाको स्थलगत निरीक्षण गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्या तथा एक वर्षभित्र सम्पन्न गर्नु पर्ने कामको विवरण लिएका छन् । उनले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२०/१३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन र विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगम गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिए ।  

विद्युत आपूर्ति अनियमित भई सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि निर्माणाधीन सबस्टेसन, प्रसारण तथा वितरण प्रणालीका लाइनको निर्माणलाई तीव्र पार्न प्राधिकरण तम्सिएको छ । उपत्यकाको विद्युत आपूर्ति भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण एवं, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने र सुदृढीकरण गर्ने लगायतका आयोजनामा अहिले काम भइरहेको छ । 

प्राधिकरणले उपत्यकामा २ हजार मेगावाट विद्युत खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको छ । सरकार तथा प्राधिकरणको लगानी,  एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत योजना अगाडि बढाइएको हो । 

उनले मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिंदा, स्थानीयले रुट परिवर्तनको माग राख्ने अवरोध गर्दा, केही स्थानमा स्थानीयले आफ्नो घर नजिक ट्रान्सफर्मर राख्न नदिंदा काम प्रभावित हुने गरेको बताए । आयोजनाको निर्माणमा आएका समस्याको समाधान गरी अब तोकिएको समयभित्र सम्पन्न गर्न सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय गरिरहेको पनि उनले बताए ।

मर्स्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छ । आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत आपूर्तिका लागि ठूलो हब बन्दैछ ।  

सबस्टेसनबाट थानकोट, सतुंगल, गुर्जुधारालगायतका क्षेत्रमा विद्युत आपूर्ति गर्न पाँच वटा ११ केभीका फिडर भूमिगत गरी मुख्य सडकसम्म निकाल्ने प्रारम्भिक काम सुरु गरिएको छ । फिडर सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने स्यूचाटार र टेकु सबस्टेसनको लोड काम हुने छ । 

उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका २ वटा पावर ट्रान्सफर्मर रहने छन् । 

सुख्खाबन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । 

‘थानकोट–चापागाउँ–भक्तपुर लाइन सम्पन्न गर्न सकिएको भए काठमाडौं, ललितपुर र भक्तपुरमा १३२ केभी प्रसारण लाइनको रिङ बन्ने थियो । यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने थियो । तर, लाइन बन्न नसक्ने अवस्था देखिएपछि चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत प्रसारण लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याउने योजना बनाएका छौं’ घिसिङले भने ।

भूमिगत प्रसारण लाइन बनाउन डिजाइन तयार भइसकेको उनले जानकारी दिए । अहिले सञ्चालनमा रहेको लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभीको बनाउन प्राधिकरणले काम गरिरहेको छ । सबस्टेसनको क्षमता विस्तार भएपछि आगामी दिनमा त्यहाँबाट भूमिगतरूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लैजाने योजना रहेको उनले बताए ।

अहिले ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । प्राधिकरणले काठमाडौंको टेकुस्थिति ६६/११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन बनाउँदैछ । 
दुवै सबस्टेसनमा ४५/४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु राखिने छ । बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिने छ । 

फुटुङ सबस्टेसनको मुख्य सिभिल संरचनाहरुको निर्माण भइरहेको छ भने उपकरणहरु आइसकेका छन् । सबस्टेसन सञ्चालनमा आएपछि बालाजु क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ भने बालाजु सबस्टेसनको लोड कम हुने छ । 

यसैगरी भक्तपुरको चाँगुनारायणमा १३२/११ केभी सबस्टेसन निर्माणाधीन छ भने स्थानीयको अवरोधका कारण लप्सीफेदी २२०/१३२/११ केभी सबस्टेसन निर्माण सुरु हुन सकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो । 

सबस्टेसनमा १६० र २२.५ एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ । 

लप्सीफेदीबाट चाँगुनारयण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध गरिरहेको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले बताउनुभयो । चपली–भक्तपुर १३२ केभी प्रसारण लाइनलाई ट्यापिङ गरी चाँगुनारायण सबस्टेसनमा लगिने छ । सबस्टेसनको निर्माण अर्को वर्षको पुसभित्र सक्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit