काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भृकुटीमण्डपमा १२औँ संस्करणको ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी सुरु भएको छ । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित उक्त प्रदर्शनीको शुक्रबार एक समारोहका बीच अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरेका हुन् ।
प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले विद्युत् प्रसारण तथा वितरण पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको र प्रसारण तथा वितरण पूर्वाधारको विकासपछि विद्युतीय उपकरण तथा सामग्रीको बजारसमेत विकास हुने बताए । त्यस्तै, ५० युनिटमाथिको विद्युत् खपतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) को भार अन्तिम उपभोक्तामा नपर्ने उनले बताए ।
नेपालको विद्युतीय सामग्री तथा उपकरण, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको महासंघका अध्यक्ष एवं प्रदर्शनीको मूल आयोजक समितिका संयोजक दिलीपकुमार अग्रवालले जानकारी दिए ।
उनका अनुसार अनुसार सन् १९९६ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक र उपभोक्ताहरूलाई एउटै साझा मञ्चमा ल्याएर प्रविधि र व्यावसायिक अवसरहरूको आदान–प्रदान गर्ने वातावरण निर्माण गर्दै आएको छ ।
देशमा जलविद्युत् उत्पादन, प्रसारण एवं वितरण प्रणालीको विस्तार, विद्युत् खपत अभिवृद्धि तथा विद्युतीय सवारीसाधन (इभी) को प्रवर्द्धन तीव्र रूपमा भइरहेको वर्तमान अवस्थामा यो प्रदर्शनी सान्दर्भिक हुने अपेक्षा गरिएको छ । विशेष गरी सरकारले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा र विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिँदै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखेकाले उक्त लक्ष्य हासिल गर्न प्रदर्शनीले महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ ।
यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका देशका स्थापित ब्रान्डहरू ट्रान्सवेल्ड, हेभल्स, केइआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट, ब्रिलियन्ट एलइडी, इलेक्ट्रा इलेक्ट्रिक, बजाज, सिमेन्स जस्ता बहुराष्ट्रिय एवं स्वदेशी उद्योगहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।
प्रदर्शनीमा विद्युतीय उपकरण, ट्रान्सफर्मर, स्विचगियर, केबल, स्मार्ट होम सोलुसन्स, औद्योगिक स्वचालन (इन्डस्ट्रियल अटोमेसन), सौर्य ऊर्जा तथा चार्जिङ पूर्वाधारका क्षेत्रमा भएका नवीनतम प्राविधिक विकासको प्रत्यक्ष अवलोकन गर्न सकिने छ ।
उनका अनुसार व्यापारिक प्रवर्द्धनका अतिरिक्त यसले देशलाई क्षेत्रीय ऊर्जा व्यापारको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न र जनचेतना जगाउन समेत मद्दत पुऱ्याउने छ ।
प्रदर्शनीमा देश–विदेशका उद्योगी, व्यवसायी, नीति निर्माता, इन्जिनियर, प्राविधिक र आम उपभोक्ता गरी करिब २५ हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने महासंघको अनुमान छ । प्रदर्शनी अवधिभर औद्योगिक सम्बन्ध सुदृढ बनाउन व्यावसायिक भेटघाट, अन्तरक्रिया कार्यक्रम र प्रविधि प्रस्तुतीकरणका सत्रहरू समेत सञ्चालन गरिनेछन् ।
प्रदर्शनीमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ । जेठ २२ गते शुक्रबारदेखि सुरु भएको प्रदर्शनी २५ गते सोमबारसम्म (४ दिन) चल्ने छ ।