काठमाडौँ । असोज १७ गतेदेखि १९ गतेसम्म भारी वर्षापछि आएको बाढी–पहिरोले १० जिल्लामा रहेका १७ जलविद्युत् केन्द्र र १५ वटा आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अनुसार सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ जलविद्युत् केन्द्र प्रभावित भएका हुन् । त्यस्तै निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
विगतका वर्षमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इपान र जल तथा मौसम विज्ञान विभागबिच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोही अनुसार पूर्वसूचना प्रेषित गरी मानवीय क्षति रोक्न सफल भएको इपानका अध्यक्ष गणेश कार्कीले बताए । ‘समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरूमा निकै कम मात्र भौतिक क्षति भएको छ,’ उनले भने ।
इलामका १५ जलविद्युत् केन्द्रमा क्षति
बाढीपहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाममा जलविद्युत् आयोजनाहरू पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत् आयोजनाहरूको उत्पादन बन्द भएको छ ।
उत्पादन बन्द भएका केन्द्रहरूमा इलाममा सञ्चालित ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा–२ र ३ मेगावाटको अपर पुवा–१ जलविद्युत् केन्द्र रहेका छन् ।
बाँकी दुई आयोजना मध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना छन् । हाल लिखुबाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ । लिखु–४ को भने १ घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको थियो ।
निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा
निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाले बनाएको १२ किलोमिटर पहुँच सडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक लालुपाते हाइड्रोपावर कम्पनीका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए ।
यही वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए ।
निर्माणाधीन अवस्थामा रहेका आयोजना मध्ये सिद्धि हाइड्रोपावरद्वारा इलाममा प्रवर्द्धित १० मेगावाटको सिद्धिखोला जलविद्युत् आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्याउँदा यसको विद्युत् उत्पादन मिति पर धकेलिएको छ ।
पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरू बगाएको छ ।
सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत् आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।
रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको रिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत् उत्पादन मिति पर सरेको छ ।
सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरूसम्म पुग्ने पहुँचमार्गहरू अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इपानले जनाएको छ ।