विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युरोपेली युनियन (इयु) को उच्चस्तरीय टोलीले निर्माणाधीन २२० केभी चिलिमे-त्रिशूली प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेकाे छ । युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार (माघ २३ गते) नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हब र त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिशुली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर  २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

३ करोड ९० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू) को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी) को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

युनियनको उच्चस्तरीय टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेका थिए । टोलीले नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरूसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफल गरेका थिए ।

आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषकजनक देखिएको टोली पिटरिस अस्टसले उल्लेख गरेको टोलीसँगै स्थलगत निरीक्षणमा गएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । अहिले निर्माणले गति लिएको छ ।

‘निर्माणमा केही ढिलाइ भएकोमा उहाँहरूले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनु भएको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरे’ उनले भने, ‘युरोपेली युनियनले इआइबीमार्फत नेपालको जलविद्युतको उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ, ६३५ मेगावाटको  दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेका छन् ।’ युनियनका अधिकारीहरू चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य थप आयोजनाहरूमा लगानीका लागि सकारात्मक देखिएको घिसिङले थपे । 

इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरूमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका चिलिमे–त्रिशूली लाइन निर्माण गरिएको हो । आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत रहेको छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमश : ७१ र ७० प्रतिशत रहेको छ । प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण आगामी चैत भित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको छ ।

प्रसारण लाइन निर्माणमा करिब ३००, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशूली थ्रि बी हवमा  १६० जना श्रमिक परिचालित छन् । कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरू जडान गर्ने लगायतका सबै कामहरू समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरू आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेको छ । अहिले सबस्टेसनहरूमा उपकरणहरू जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ ।

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरूमध्ये ४४ वटाको जग हालिएको छ । १३ वटा टावरहरूको आंशिक जग हालिएको छ । १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलानको काम भइरहेको छ । २९ वटा टावर खडा गरिएको छ । खडा गरिएका टावरमा तार तान्न मुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तत्काल १० किलोमिटर तार तान्न सकिन्छ ।

आयोजनाको ठेकेदार पिङगाओ ग्रुप अफ कम्पनीले निर्माणमा तिब्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit