काठमाडौँ । निवर्तमान ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्काले जेनजी आन्दोलनका क्रममा भएको नेपाली नागरिकको निधनप्रति आफू मर्माहत तथा भावविह्वल भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले घटनामा मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । साथै उनले घटनामा दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग समेत राखेका छन् ।
घटनामा अपूरणीय मानवीय तथा खर्बौँको भौतिक संरचना नष्ट देशलाई ठूलो घाटा भएको भन्दै सबै पक्षले संयमित भई इतिहासले दिएको जिम्मेवारी पूरा गर्न आह्वान समेत गरेका छन् ।
नेता खड्काको आह्वान पत्र
आदरणीय सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
जय नेपाल ।
देशमा सोमबार Gen Z (जेनजी) ले गरेको कार्यक्रममा तथा मंगलबार ज्यान गुमाउने सबैप्रति म एकदमै दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
आज देशमा उत्पन्न विषम र असामान्य परिस्थितिप्रति संयमित र धैर्य रहन आग्रह गर्दछु । शान्तिपूर्ण आन्दोलन र माग नागरिकको नैसर्गिक अधिकार हो । यसको लागि म जीवनभर सङ्घर्षरत छु । तर दुर्भाग्य, गत सोमबार भएको घटनामा प्रहरीको गोली लागि १९ जनाको निधन तथा मंगलबार होनहार केही प्रहरी तथा नेपाली नागरिकको निधनप्रति म भावविह्वल एवं मर्माहत भएको छु । सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो समयमा सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै म जीवनभर लोकतन्त्रको लागि लडेको एक सिपाहीको नाताले घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्नसमेत माग गर्दछु ।
मंगलबार संसद भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवास, राष्ट्र बैक, संवैधानिक निकाय, सरकारी भवन, प्रहरी कार्यालय लगायत देशैभरि भएका आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले हामी सबैलाई दुःखी बनाएको छ । निजी आवास, होटेल, बैंक, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम लगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी हुनु देशको लागि ठुलो क्षति हो । यसमा सबै देशभक्त नागरिकले एक पटक गम्भीर समीक्षा गर्न आवश्यक छ ।
यो विषम र कठिन परिस्थितिमा पार्टीको सिंगो पङ्क्ति, सचेत नागरिक समाज र आम जनसमुदायले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार देशको माटो सम्झेर अगाडि बढ्न आग्रह गर्दछु । देश र ऐतिहासिक सम्पदा र धरोहर रहे इतिहास जोगिने भएकोले सबैले संयमपूर्वक अगाडि बढ्न र इतिहासले दिएको जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु ।
जीवनभर लोकतन्त्रको लागि योगदान गरेका आदरणीय कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूमाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको गम्भीर समीक्षा गर्नु जरुरी छ । अझ जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित भएका हजारौँ कैदीबन्दीहरू बाहिरिनु कानुनी राज्यको उपहास समेत भएकोले सुरक्षाकर्मीले विशेष ध्यान दिन जरुरी छ । यस्तो विषम परिस्थितिमा सिङ्गो नागरिक समाज, पार्टी पङ्क्तिलाई अविचलित, दायित्वबोधका साथ एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न सबैमा आग्रह गर्दछु ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले अहिले चालेको कदमको स्वागत गर्दै अहिलेको परिस्थितिमा संविधानको परिधिभित्रै रहेर निकास निस्कनेमा म विश्वस्त छु । इतिहासका विभिन्न कठिन परिस्थितिको सामना गर्दै अगाडि बढेको नेपाली कांग्रेसले यो प्रतिकूल अवस्थाको सहज पार लगाउनेमा आशावादी रहन सबै नेता कार्यकर्तामा आग्रह गर्दछु । यो समयमा आवेगको सट्टा विवेक, उत्तेजनाको सट्टा चेतनाका साथ सम्हालिन, संयमित र एकताबद्ध भएर अगाडी बढ्न आग्रह गर्दछु ।
जय नेपाल !
दीपक खड्का
निवर्तमान मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ,
एवं आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस ।
२५ भदौ २०८२