काठमाडौँ । एलिभेट इनर्जी प्रालिले ३०६ मेगावाटको ‘माथिल्लो मुगु कर्णाली आंशिक–जलाशय जलविद्युत् आयोजना’ निर्माण अघि बढाउने भएको छ । यसका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।
वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन अनुसार मुगुको मुगुम कर्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिका भई बग्ने मुगु कर्णाली नदीको पानी सदुपयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको हो । यसका मुख्य भौतिक संरचनाहरू मुगु कर्णाली नदीको बायाँ किनारमा रहने छन् ।
आयोजनामा ६२ मिटर लम्बाइ र २७ मिटर उचाइको ब्यारेज निर्माण गरिनेछ, जसको अधिकतम सञ्चालन स्तर समुद्री सतहबाट २२८१.६ मिटर उचाइमा रहनेछ । आयोजनाको डिजाइन बहाव ९०.२ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ४२०.३५ मिटर रहने छ । ब्यारेजबाट लिइएको पानीलाई सुरुङ मार्ग हुँदै फर्काएर आयोजनाको सतही विद्युत्गृहमा रहेका ४ वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिनेछ ।
आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक औसत १६२९.२५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने देखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेसनमा जोड्ने योजना छ । कम्पनीले सन् २०३३ को अगस्टसम्ममा आयोजनाबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
आयोजना निर्माण तथा सञ्चालन गर्दा स्थानीय वातावरण र जनजीवनमा पर्न सक्ने सम्भावित प्रतिकूल असरहरूका बारेमा सरोकारवालाहरूबाट ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिन आह्वान गर्दै विभागले मंगलबार सूचना जारी गरेको छ ।