काठमाडौँ । आफ्ना माग पूरा नभएको भन्दै मेलम्ची बाढी पीडितलगायत सिन्धुपाल्चोक र काभ्रेका स्थानीयको विभिन्न समितिका प्रतिनिधिहरूको समूह काठमाडौँ ल्याइने मेलम्ची खानेपानीको मुहान बन्द गरेका छन् ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्र विहीबार काठमाडौँ पानी पठाउन बन्द गराएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले बताए ।
‘गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले मुहान बन्द गर्नुभएको छ,’ उनले भने, ‘मुहान बन्द गरिएपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्णरूपमा रोकिएको छ ।’
विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो ।
मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए ।
सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ताअघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।