काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुउद्देश्यीय आयोजनाको बाँकी रहेका सिभिल, हाइड्रोमेकानिकल तथा अन्य सम्बद्ध संरचनाहरूको निर्माण कार्य अघि बढाउन अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको छ । साविकको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द भएपछि सुनकोसी–मरिण बहुउद्देश्यीय आयोजना कार्यालयले आज बाँकी काम पूरा गर्न सोमबार एक सूचना जारी गर्दै नयाँ खरिद प्रक्रिया सुरु गरेको हो ।
आयोजना कार्यालयका अनुसार सिन्धुलीको कमलामाईमा निर्माणाधीन उक्त आयोजनाका बाँकी कामहरू सम्पन्न गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत योग्य स्वदेशी तथा विदेशी निर्माण कम्पनीहरूबाट आवेदन माग गरिएको छ । यो प्रक्रिया ‘सिङ्गल स्टेज टू एन्भलप’ (एक चरण दुई खाम) विधि अनुरूप अघि बढाइने जनाइएको छ ।
यस खरिद प्रक्रियामा सहभागी हुन इच्छुक बोलपत्रदाताका लागि योग्यताको मापदण्डसमेत निर्धारण गरिएको छ । जसअन्तर्गत निर्माण व्यवसायीको विगत १० वर्षभित्रका उत्कृष्ट ३ वर्षको औसत वार्षिक निर्माण कारोबार न्यूनतम ४ करोड २१ लाख ८१ हजार अमेरिकी डलर (करिब ५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी) हुनुपर्ने प्रावधान राखिएको छ ।
तराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी गरी ५ जिल्लाका करिब १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने तथा ३१ मेगावाट विद्युत्समेत उत्पादन गर्ने उद्देश्यसहित उक्त आयोजना निर्माण गर्न लागिएको हो ।