काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको ४५ प्रतिशत लगानी रहेको तल्लो इर्खुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुरमा निर्माण गरेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको संरचना परीक्षण कार्य सुरु भएको छ । जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा निर्माण गरिएका आयोजनाका संरचनाको परीक्षण सुरु गरिएको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले ऊर्जा खबरलाई जानकारी दिए ।
‘झन्डै २ साताअघि नै विद्युत् गृहको सफल परीक्षण गरिएको थियो,’ उनले भने, ‘आज (सोमबार) बाँध संरचाना, बालुवा थिगार्ने पोखरी र पेनस्टक पाइपको परीक्षण सफल भएको छ ।’
उनका अनुसार मंगलबार आयोजनाको २ हजार ४०० मिटर लामो सुरुङमा पानी हालेर परीक्षण कार्य सुरु गर्ने तालिका रहेको छ । यसका लागि झन्डै एक साता लाग्ने उनले बताए ।
‘क्रमिक रूपमा सुरुङमा पानी हालेर परीक्षण गरी बिस्तारै पानी खाली गर्नुपर्ने हुनाले आगामी शुक्रबारसम्म लाग्न सक्छ,’ उनले भने, ‘त्यसपछि भने विद्युत्को परीक्षण उत्पादन सुरु हुने छ ।’ सुरुङको परीक्षण सकिएपछि आयोजनाका मेसिनको परीक्षण सुरु हुने छ । सबै परीक्षण सफल भएपछि आयोजनाले परीक्षणका रूपमा १५ दिन विद्युत् उत्पादन गरेर प्राधिकरणलाई दिएपछि बल्ल व्यावसायिक विद्युत् उत्पादन सुरु हुने छ ।
आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिगार्ने पोखरी, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युत्गृह, स्वीचयार्ड आदीको काम अनिल मल्ट्बिगाले थापबिएनटी जेभीले गरेको हो । यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको काम अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वर्क्स (सिडब्लुटीडब्लु) ले गरेको हो ।
आयोजनाबाट वार्षिक ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुने र यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभी शितलपाटी सबस्टेसनमा जोड्ने योजना भए पनि शीतलपाटी सबस्टेसन निर्माण नभइसकेकोले १६ किलोमिटर दूरीमा रहेको तुम्लिङटार सबस्टेसनमा जोडिने छ ।
२ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजनाको मुख्य प्रवर्द्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति पाएको छ । कम्पनीले यो आयोजनाको पनि निर्माण सुरु गरेको छ ।