काठमाडौँ । विद्युत् नियमन आयोगको विभिन्न १३ वटा पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सामेल मध्ये ३९ जना सिफारिस भएका छन् । लोक सेवाले मंसिर १३ र १४ गते प्रकाशित गरेको विज्ञापन अनुसार प्रत्येक दरबन्दीमा दुई जना वैकल्पिकसहित ३ जनाको नाम सिफारिस गरेको हो ।
सफारिसमा परेकाहरूको कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ताका लागि पुस ११ देखि २२ गतेसम्मको समय तोकिएको छ ।
आयोगले ९ तहको इलेक्ट्रिकल र हाइड्रोपावर इन्जिनियर गरी २ जना सहनिर्देशक, ७ तहका हाइड्रोलोजिष्ट २, जिओलोजिष्ट १, इलेक्ट्रिकल इन्जिनियर खुला १ र महिला १ जना, वित्त अधिकृत १, सूचना प्रविधि अधिकृत १, वातावरणविद् १, कानुन अधिकृत १, तह ६ को सहायक प्रशासकीय अधिकृत १ र तह ५ को वरिष्ठ सहायक १ गरी कुल पदमा पदपूर्ति गर्न लागेको हो ।
अन्तर्वाताका लागि सिफारिसमा परिसकेका उम्मेद्वार उपस्थित हुने उम्मेदवारले अन्तर्वार्ताअघि भर्नुपर्ने फारम भरी आयोगको कार्यालयमा पेस गर्न आग्रह गरिएको छ । अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षणमा सर्वोत्कृष्ट भएका एकएक जना गरी १३ जनाको पदपूर्ति गरिने छ ।