ललितपुर । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले पूर्व-जलस्रोत मन्त्री दीपक ज्ञवालीलाई विशेष सम्मान गरेको छ । संस्थाको रजत महोत्सवको समारोहमा सामुदायिक विद्युतीकरणको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै 'सम्मानपत्र' प्रदान गरिएको हो ।
चैत्र २६ गते बिहीबार आयोजित यो कार्यक्रमले संस्थाको २५ वर्षे यात्रालाई सफलतापूर्वक समापन गरेको छ । सहकारीले ज्ञवाली जलस्रोत मन्त्री रहँदा दक्षिण ललितपुरबाट सुरु भएको सामुदायिक ग्रामीण विद्युतीकरणको अवधारणालाई सार्थक बनाउन नीतिगत व्यवस्थापन गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।
ज्ञवाली २०५८ सालमा तत्कालीन श्री ५ सरकारको पालामा मन्त्री हुँदा सामुदायिक विद्युतीकरणका कार्यक्रमलाई राष्ट्रियस्तरमा स्थापित गराउन कुशलतापूर्वक भूमिका निर्वाह गरेका थिए । साथै, त्यसयता पनि उनले विद्युतीकरण अभियानको पक्षमा निरन्तर वकालत र पैरवी गर्दै आएका छन् ।
सहकारी संस्थाले उनको योगदानलाई उच्च मूल्याङ्कन गर्दै रजत वर्ष २०८२ को समापन समारोहमा यो सम्मान अर्पण गरेको जनाएको छ । ललितपुरको महाङ्काल गाउँपालिका-१, उनिउँचौरमा मुख्य कार्यालय रहेको यस सहकारीले चापागाउँमा आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बुद्धरत्न महर्जन प्रमुख अतिथिको रूपमा सहभागी थिए । समारोहमा संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईं र सचिव लोकबहादुर पुलामी लगायत स्थानीय जनप्रतिनिधि र सहकारी अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
"सहकारितामार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रूपान्तरण" भन्ने मूल नाराका साथ २०५७ सालमा स्थापना भएको यस सहकारीले दक्षिण ललितपुरका दुर्गम क्षेत्रमा विद्युत् पहुँच पुर्याउन नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।